सैनामैना व्यापार संघको नवौं साधारण सभा बुधबार सैनामैना–२ बाबरी पार्टी प्यालेसमा सम्पन्न भएको छ । संघका अध्यक्ष सुरेन्द्र शर्मा पौडेल उपाध्यायको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको प्रमुख आतिथ्यथामा सम्पन्न साधारण सभामा व्यापार व्यवसायलाई गतिशिल बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको औल्याइएको छ ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले सैनामैनालाई नयाँ सहरको रूपमा स्थापित नगरको संज्ञा दिँदै राष्ट्रिय राजनीतिका प्रभावले गर्दा अहिले बजारका धेरै सटरहरू खाली हुनु दुःखद भएको बताए । उनले राजनीतिक अस्थिरता, सरकार बन्ने र विघटन हुने परिस्थितिले गर्दा मुलुकले सही दिशा लिन नसकेको महसुस गरे ।
उनले भने– “आज सबै सटरहरू खाली छन्, यसको कारण राष्ट्रिय राजनीतिका प्रभाव हो । हामीले चाहेर पनि व्यापार व्यवसायको विस्तार गर्न सम्भव छैन ।“
मन्त्री ढकालले अब सैनामैनामा उत्पादित वस्तु, कृषि, पशुपक्षी र पर्यटनसँग सम्बन्धित सम्भावना पहिचानतर्फ केन्द्रित हुन निजी क्षेत्र र राज्य संयन्त्रलाई आग्रह गरे । उनले आर्थिक विकासमा सार्वजनिक, निजी र सरकारी क्षेत्रको सशक्त सहकार्यबाट सहज बन्ने स्पष्ट पारे ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले व्यापार व्यवसायलाई अगाडि बढाउन परम्परागत तरिकाले मात्र नहुने भन्दै आधुनिक तरिकाले व्यवसाय परिमार्जन गर्नुपर्नेमा जोड दिए । संघले स्थानीय वस्तुको उत्पादन, सम्भावना र बजार वितरणको खोज गरी नयाँ व्यवसायीलाई सैनामैनामा लगानी गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले चेम्बर अफ कमर्सको ठूलो नेटवर्कलाई प्रयोग गरी व्यावसायिक क्षमता बढाउन र स्थानीय सरकारसँग समन्वय गर्न पनि सुझाव दिए ।
संघका संरक्षक चित्र बहादुर कार्कीले राजनीतिक अस्थिरता, कानुनी जटिलता, भौगोलिक विकटता, ऊर्जा संकट र इन्धनको महँगीले गर्दा उत्पादन लागत बढ्ने र स्वदेशी उत्पादनले विदेशी बजारमा प्रतिस्पर्धा गर्न नसक्ने औँल्याए । उनले उद्योगीहरूका लागि जग्गा खण्डीकरणको समस्याले गर्दा सरकारले जग्गा उपलब्ध गराउने कुरा दुर्लभ जस्तो भएकोमा चिन्ता व्यक्त गरे । यद्यपि उनले आगामी दिनमा राजनीतिक स्थिरता प्राप्त हुने र समस्याहरू समाधान भएर नेपाल समृद्धिको यात्रामा प्रगति गर्ने आशावादी रहेको बताए ।
सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद पोख्रेलले मेला सञ्चालनमा सहकार्य गर्ने र संस्था आफैँ सक्षम भएर आफ्नो भवन तथा मेला स्थल निर्माणतर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
व्यापार संघका संस्थापक अध्यक्ष रामेश्वर शर्मा, देवदह व्यापार संघका अध्यक्ष माधव ढकाल, संघका वरिष्ठ उपाध्यक्ष देवीदत्त सुवेदी र महासचिव भीम सुवेदी लगायतले व्यापारीबीचको एकता र संस्थागत सहकार्यलाई मजबुत बनाउँदै सरकारसँग नजिकको समन्वय गर्नुपर्नेमा जोड दिए ।


अध्यक्ष पौडेलले नवौं साधारण सभामा व्यवसायीहरुको हकहित, संघको संगठनात्मक सुदृढीकरण, आर्थिक पारदर्शिता र भविष्यका ठोस कार्ययोजनाहरू समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । वि.सं. २०७१ साल भदौमा पर्रोहा शाखा स्थापना गरि सुरुवात भएको संस्थाले आज सैनामैना नगरका सबै वडामा सक्रिय व्यापारिक सञ्जाल विस्तार गरेको छ जसमा १ हजार २ सय २५ सदस्य संख्या संघमा दर्ता भएका छन् भने १ सय २३ जना आजिवन सदस्य संघमा आवद्ध छन् । संघले सदस्यता नवीकरण, सदस्यहरूको दुर्घटना बीमा योजनाको निरन्तरता, वार्षिक महोत्सव, शुभकामना आदान–प्रदान कार्यक्रम र लेखा अभिमुखीकरण गोष्ठीहरू नियमित रूपमा सञ्चालन गर्दै आएको अध्यक्ष पौडेलले जानकारी दिए ।
कार्यक्रममा लेखा समिति संयोजक शिवलाल भुषालले लेखा प्रतिवेदन र कोषाध्यक्ष पुष्पा पौडेल आचार्यले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका वरिष्ठ उपाध्यक्ष देवीदत्त सुवेदीको स्वागत तथा महासचीव भीमलाल सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
पुस २५ देखि माघ ६ गतेसम्म सैनामैना महोत्सव
सैनामैना व्यापार संघले आउँदो पुस २५ गतेदेखि सैनामैना महोत्सव सञ्चालन गर्ने तयारी गरेको छ । यो संघले यसअघि नै बनाएको कार्ययोजना हो । यसका लागि संघले विभिन्न समितिहरु समेत बनाएको छ । अहिले हुने महोत्सव सातौं हो । यहाँ आलोपालो महोत्सव सञ्चालन हुँदै आएको छ ।








