सैनामैना नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणलाई प्राथमिकता दिँदै बुधबार सरोकारवालाहरुसँग एक आवश्यकता पहिचान तथा सुझाव संकलन कार्यशाला सम्पन्न गरेको छ । कार्यक्रमका सहभागीहरूले पाठ्यक्रमलाई स्थानीय भूगोल, संस्कृति, परम्परा, सम्पदा, चाडपर्व, रहनसहन र भेषभूषा समेटेर समावेशी र विविधतामूलक बनाउन जोड दिएका छन् ।
स्थानीय विषयवस्तुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै सरोकारवालाहरूले नैतिक शिक्षालाई समेत पाठ्यक्रममा समावेश गर्न आग्रह गरेका छन् । अहिले नैतिक शिक्षा हराउँदै गएको भन्दै सहभागीहरूले बालबालिकालाई सकारात्मक सोच, सदाचारी र नैतिकवान बनाउने शिक्षा दिनुपर्नेमा जोड दिए ।
यसका साथै, स्थानीय ज्ञानलाई विज्ञान र प्रविधिको माध्यमले विश्व परिवेशसँग जोड्ने गरी पाठ्यक्रम तयार गर्न पनि सुझाव दिइएको छ । नेपाली कांग्रेस सैनामैनाका सभापति रणबहादुर खनाल, दुर्गा भवानी माविका प्रधानाध्यापक तुल्सी प्रसाद शर्मा वाग्ले, पशुपति माविका हरि थापा र पत्रकार रमेश गैरेलगायतले आफ्ना सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले २०७४ सालको निर्वाचनपछि स्थानीय पाठ्यक्रम निर्माण गर्नुपर्ने भए पनि धेरै कानुन र ऐन विनियम निर्माण गर्नुपर्दा ढिलाइ भएको स्वीकार गरे । उनले अब अन्य पालिकाहरूले बनाएको कमीकमजोरीहरूलाई हेरेर राम्रो पाठ्यक्रम निर्माण गर्ने बताए ।
नगर उपप्रमुख विना रानाले पनि विभिन्न ऐन कानुन र कोरोना महामारीका कारण तयारी हुँदाहुँदै पनि ढिलाइ भएको जानकारी दिँदै अब छिट्टै पाठ्यक्रम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले विशेष गरी ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वका विषयलाई पाठ्यक्रममा समेट्न जोड दिइन् । स्थानीय पाठ्यक्रम प्राविधिक निर्माण समितिले छोटो समयमै काम अघि बढाएको उनले बताइन् ।
नगरपालिकाका शिक्षा शाखाका प्रमुख टिकाराम शर्माका अनुसार हामी र हाम्रो वरिपरिको वातावरण, हाम्रो चालचलन, हाम्रो वरिपरिका सम्पदा र रमणीय स्थल, हाम्रो पेसा र आयआर्जन, नैतिक शिक्षा र व्यक्तित्व विकास, नागरिक शिक्षा र सामाजिक चेतना, हाम्रो सीप र प्रविधिको प्रयोग र वातावरण संरक्षण र विपद न्यूनीकरण शीर्षकमा पाठ्यक्रम तयार गरिने जानकारी गराए ।
शिक्षा शाखा प्रमुख टिकाराम शर्माको स्वागत तथा शिक्षा शाखाकै गणेश खनालको सञ्चालनमा उक्त कार्यशाला सम्पन्न भएको थियो ।






