पुरानो संस्कृति संरक्षणमा लियो क्लबको गुन्द्री सेसन कार्यक्रम

Picture of अनिता चाैधरी

अनिता चाैधरी

आधुनिकताको तीव्र लहरले ओझेलमा परेका नेपाली मौलिक संस्कृति, रहनसहन र परम्परागत खानपानलाई पुनर्जीवन दिने उद्देश्यका साथ लियो क्लब अफ सैनामैनाले शनिबार ‘गुन्द्री सेसन’ कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा सहभागीहरूका लागि पुरानो नेपाली घरको झल्को दिने वातावरण तयार गरिएको थियो । लालटिन, टुकी, मादल, मदानी लगायतका परम्परागत हातले बनेका सामग्री र पुरानो रेडियो, टेलिफोन प्रदर्शनमा राखिएको थियो ।
क्लब सम्पूर्ण टिमले परम्परागत नेपाली ढाकाको चोलो, सारी र दौरासुरुवाल पहिरनमा सजिएर कार्यक्रमको थप रौनक बढाएका थिए । कार्यक्रममा आएका सहभागीहरुले गुन्द्री र चकटीमा पलेटी मारेर बसेका थिए । जसले बाल्यकालको मिठो याद ताजा बनाएको थियो ।
कोदो, फापरको ढिँडो लगायतका पुरानो परिकारको व्यवस्था गरिएको थियो, जसको स्वाद लिँदै सहभागीहरूले आफूलाई गाउँघरको जीवनसँग जोडेका थिए । पुरानो गीत गाएर र नाँचगान गरेर संस्कृति संरक्षणको सन्देश दिइएको थियो ।
खुला आकाशमुनि गुन्द्रीमा बसेर, रेडियोका धुनमा पुराना गीत–सङ्गीत सुन्दा कार्यक्रममा सहभागी खम बहादुर खत्रीले बाल्यकालको रमाईलो याद ताजा भएको अनुभव सुनाए ।
उनले भने–“हामीले आफ्नो बालापनमा यिनै परम्परागत सामग्रीहरू र खानपान खाँदै हुर्केका थियौँ । तर अहिले आधुनिकताको दौडमा हामीले पुराना संस्कार–संस्कृतिलाई पछाडि छाडेर एउटा देखावटी संसारमा रमाइरहेका छौँ, जसमा आत्मीयता र संस्कारपन दुवै छैन, तर आज यसरी खुला आकाशमा, पुराना गीत–सङ्गीत र रेडियोका धुनले वास्तवमै आनन्द र सन्तुष्टि दिएको छ ।”
क्लबका अध्यक्ष मनिष खत्रीले पुरानो पुस्ताका सामग्री तथा जीवनशैलीको महत्व नयाँ पुस्तालाई बुझाउन र सांस्कृतिक र संस्कार जोगाउन कार्यक्रम गरिएको बताए ।
उनले भने–“कार्यक्रमको मुख्य उद्देश्य भनेकै संस्कृति संरक्षण गर्नु हो । नयाँ पुस्तालाई हाम्रो परम्परागत जीवनशैली, खानपान र सामग्रीहरू के थिए भन्ने जानकारी गराउनु हो ।”
लियो क्लब अफ सैनामैनाले समाजमा नयाँ र पृथक ढङ्गबाट सामाजिक परिवर्तन र युवाहरूमा नेतृत्व तथा व्यक्तित्व विकास गर्ने कार्य गर्दै आइरहेको बताउँदै यस कार्यक्रम मार्फत युवा पुस्तालाई नेपाली संस्कारसँग जोड्न र पुराना मूल्यमान्यताको महत्व बुझाउन मद्दत गरेको विश्वास व्यक्त गरे ।
उनले आगामी दिनमा पनि क्लबले यस खालका नवीन र प्रभावकारी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
लियो क्लबका पूर्व अध्यक्ष एंव सैनामैना–७ का वडा अध्यक्ष राजकुमार चौधरीले लियो क्लब केवल एउटा सामाजिक संस्था मात्र नभएर युवाहरूलाई नेतृत्व क्षमतामा अब्बल बनाउने एउटा पाठशाला रहेको बताए । क्लब स्थापनादेखि नै युवाहरूलाई सामाजिक सेवा, नेतृत्व विकास गर्दै समाज सकारात्मक दिशातर्फ अगाडी बढाउन भूमिका खेल्दै आएका छौ उनले भने ।
क्लबले आयोजना गरेको गुन्द्र सेसन जस्ता कार्यक्रमहरूले युवाहरूलाई आधुनिकता रमाउँदै भुल्न लागेका संस्कार र संस्कृति सँग जोड्ने काम गर्छ जसले मौलिक पहिचानको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा रोटरी क्लब अफ सैनामैनाका अध्यक्ष भोजराज पौडेल, क्लबका सल्लाहकार गोपाल पाण्डे, पूर्वअध्यक्षद्वाय मदन थापा र प्रेम थापा, पत्रकार कृष्ण भण्डारी लगायतले बोल्दै लियो क्लबका युवाहरूको सक्रियताको उच्च प्रशंसा गरे । उनिहरुले गुन्द्री सेसन कार्यक्रमले पुस्तान्तरणको दूरी घटाउन र नयाँ पुस्तालाई आफ्नो नेपाली मौलिकपनसँग जोड्न मद्दत गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.