सैनामैना-३ स्थित जनज्योति आधारभूत विद्यालयमा बिहीबार विद्यालयस्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटीको शहरी पूर्व तयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्द्धन (SUPER) परियोजना अन्तर्गत अभ्यास कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रम विद्यालयका विद्यार्थीहरूलाई भूकम्प र आगलागी जस्ता सम्भावित विपद्को परिस्थितिमा कसरी सुरक्षित रहने र कसरी प्रतिकार्य गर्ने भन्ने विषयमा व्यवहारिक सिकाई प्रदान गरिएको हो ।
सहजकर्ता सोनु रेग्मीले विद्यालय समयमा विद्यार्थीहरूले भूकम्प तथा आगलागीजस्ता आपतकालीन अवस्थामा अपनाउनुपर्ने सावधानी, घाइतेको उद्धार प्रक्रिया र सरोकारवाला निकायहरूलाई तुरुन्तै सूचित गर्ने तरिकाबारे नमुना प्रदर्शन गरी सिकाई प्रदान गरिएको बताउनुभयो ।
नेपाल रेडक्रस लुम्बिनी प्रदेश सभापति लाल प्रसाद पंगेनीले ‘SUPER’ परियोजनाको उद्देश्यमाथि प्रकाश पार्दै सैनामैनामा प्राकृतिक विपद्सँग सम्बन्धित गतिविधि समुदायमा सुसूचित गर्ने अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो।


उहाँले रेडक्रस संस्थाले के गर्छ, यसको स्थापना र यसको सेवा समुदायस्तरमा कसरी पुर्याउन सकिन्छ भन्ने उद्देश्यले विद्यालयमा गठित जुनियर र युवा रेडक्रस सर्कलको माध्यमबाट सैनामैनाका सामुदायिक विधालयका विद्यार्थीहरूमा सेवाभाव जागृत गराउन खोजिएको बताउनुभयो।
सभापति पंगेनीका अनुसार यस कृत्रिम घटना अभ्यास कार्यक्रमबाट विपद्जन्य घटनामा कसरी सुरक्षित रहने र तत्काल उपचार तथा उद्धार गरेर सेवा गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ।
उहाँले यो अभ्यास कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यमा आउने आपतकालीन घटनामा सक्रिय भएर समाजसेवामा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक बुद्ध प्रसाद गौतमले यस किसिमको सिकाईको महत्त्वमाथि प्रकाश पार्दै भन्नुभयो, “घटना अप्रत्याशित हुन्छ, कतिबेला घटना घट्छ, त्यसको पूर्व तयारी स्वरूप तत्काल घटेको घटनालाई समाधान र उपचार गर्न सिकाई सहयोगी बन्नेछ।”
सिकाईले वास्तविक जीवनमा घट्ने घटनामा कसरी आपतकालीन कार्यमा विद्यार्थीहरू सक्रिय भएर अगाडि बढ्न सक्छन् भन्ने ज्ञान प्रदान गरेको बताउनुभयो।
विद्यालय व्यवस्थापन समितिकी सदस्य जमुना पुनले विधार्थीहरुले छोटो समयमा धेरै कुरा सिक्न पाएकोमा धन्यवाद व्यक्त गर्नुभयो। विपतबाट बाँच्न र भविष्यमा आउने जोखिमलाई न्यूनीकरण गर्न र तुरुन्त प्राथमिक उपचार कसरी गर्ने भन्ने सीप उपयोगी हुने बताउनुभयो ।
यसैगरी शिक्षक सन्जिब थापा मगरले छोटो समयमा उद्धार र क्षति कम गर्ने तरिका, प्रत्यक्ष अवलोकन गर्ने अवसर तथा यसबाट सिकेको सिकाईले सकारात्मक सन्देश दिएको बताउनुभयो। उहाँले सिकेको ज्ञानलाई जोखिमपूर्ण विपतको अवस्थामा प्रयोग गर्न घरपरिवार र समुदायमा पनि सिकाउन आग्रह गर्नुभयो।
कार्यक्रममा स्वयंसेवकको रूपमा मधु पौडेलले विधार्थीहरुले सिकेको सिपलाई विधालयले साप्ताहिक कार्यक्रम अन्तरगत अन्य विधार्थीहरुलाई अभ्यास कार्यक्रम निरन्तरता दिनुपर्ने जोड दिनुभयो ।
कार्यक्रमको अध्यक्षता गरिरहनुभएको शिक्षक नायक विष्णु प्रसाद पौडेलले तिहारपछि पनि यस्ता महत्त्वपूर्ण शुक्रबारीय क्रियाकलापलाई निरन्तरता दिइने जानकारी गराउनुभयो। यस किसिमको जीवनोपयोगी कार्यक्रमले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानका साथसाथै व्यवहारिक सीपमा पनि सक्षम बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।





