बृहस्पति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सैनामैना–४, मुर्गियाको १४ औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदभार तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। संस्थाको आफ्नै कार्यालय हलमा आयोजित विशेष समारोहका बीच नवनिर्वाचित टोलीले जिम्मेवारी सम्हालेको हो।
अधिवेशनले तेजनारायण सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको छ। संस्थाको उपाध्यक्षमा विष्णुकुमारी भारी सचिवमा नारायण प्रसाद पाण्डे, कोषाध्यक्षमा वावुराम आचार्य चयन हुनुभएको छ ।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा विष्णुकान्त भट्टराई, गंगा खत्री क्षेत्री, बाबुराम अधिकारी, नेत्र कुमारी कँडेल र सुरेन्द्रराज बास्तोला चयन हुनुभएको छ ।
संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा टोपलाल भट्टराई चयन हुनुभएको छ भने सदस्यहरूमा शुशिला गौतम र लालमणि उपाध्याय रहनुभएको छ।
कार्यक्रमका सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र प्रसाद शर्माले सहकारी क्षेत्रले स्थानीय आर्थिक विकासमा महत्त्वपूर्ण इँटा थपेको बताउनुभयो। सम्बोधनका क्रममा उहाँले भन्नुभयो,-“सहकारीहरूले पारदर्शिता, सुशासन र सदस्यको हितलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ, तब मात्र समुदायको वास्तविक विकास सम्भव छ।
सैनामैना वडा नं. ४ का अध्यक्ष रामप्रसाद अधिकारीले समुदायको आर्थिक सबलीकरणमा सहकारीको योगदानको प्रशंसा गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो।
निर्वाचन समितिका संयोजक यज्ञलाल सुवेदी तथा सदस्यहरू बिमल ज्ञवाली र अशोक खड्काले निर्वाचन प्रक्रिया पूर्ण रूपमा निष्पक्ष र सर्वसम्मत रूपमा सम्पन्न भएको जानकारी दिनुभयो ।


पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष तेजनारायण सुवेदीले संस्थालाई पूर्ण पारदर्शी, सदस्यकेन्द्रित र दिगो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा सबै सदस्य, कर्मचारी र सरोकारवालाहरूको साथ लिएर सहकारीलाई अझ सशक्त उचाइमा पुर्याउने बताउनुभयो।






