सैनामैनाका लोदर कोहारको चिन्ताः माटोको भाँडा बनाउने पुख्र्यौली पेशा संकटमा

Picture of अनिता चाैधरी

अनिता चाैधरी

कारिगढ लोदर कोहार

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा, लक्ष्मीमाताको स्वागतका लागि दियो (पाला) बनाउन सैनामैना–४ रन्यौराका लोदर कोहार यतिबेला निकै व्यस्त छन् । उमेरले ७२ वर्ष कटिसकेका कोहार करिब साढे ५ दशकदेखि आफ्नो पुख्र्यौली माटोको भाँडा बनाउने पेशालाई निरन्तरता दिँदै आएका छन् ।
लुम्बिनीमा जन्मेका र ४८ वर्षअघि सैनामैना बसाई सरेका लोदर कोहारले माटोको भाँडा बनाउने सीप आफ्ना बुबा–बाजेबाट सिकेका हुन् । कोहार जातिको पहिचान बनेको यो पेशाबाटै उनले आफ्नो परिवारको लालनपालन गरेर जीवनयापन गरे ।
लोदर कोहारलाई त्यो जमाना राम्ररी याद छ, जब माटोका भाँडाहरूको बोलबाला थियो । ’उ जमानामा माटाका भाँडा नै धेरै प्रयोग हुन्थे,’ उनी भन्छन्, ’चामल, दाल जस्ता खाद्यान्न हाडीमा राखिन्थ्यो, पानीका लागि घैटो प्रयोग हुन्थ्यो । बिहे, पूजापाठ र विशेषगरी दशैँ–तिहारमा दियो र पालाको ठूलो खपत हुन्थयो ।’
त्यतिबेला माटोका भाँडा बेचेर होइन, धानसँग साटेर वर्षभरिलाई पुग्ने गरी आम्दानी हुन्थ्यो। तर, समय बदलियो । आधुनिकतासँगै बजारमा प्लास्टिक, टिन र अन्य धातुका भाँडाहरूले कब्जा जमाए । ’अहिले त्यो अवस्था छैन, माटोको भाँडा कसले खोज्छ,’ ७ दशक उमेरले नेटो काटेका कोहार भन्छन् ।
आफ्नो पुख्र्यौली पेशा छाडेर अरू काम गर्ने सीप र शारीरिक शक्ति नभएकाले अहिले पनि उनी हाडी, घैटो, मट्का, भुड्को र दियो बनाउने काममा जुटिरहेका छन्।
सालभरि संघर्ष गरे पनि तिहारको सिजनले लोदर कोहारलाई केही राहत दिने गरेको छ । उज्यालो पर्व तिहारमा लक्ष्मी पूजाका लागि पाला र दियोको माग ह्वात्तै बढ्छ । उनी ५ रुपैयाँदेखि ४० रुपैयाँसम्ममा दियो र पाला, ३० रुपैयाँमा भुड्को तथा १ सयदेखि २ सय रुपैयाँसम्ममा मट्का बेच्ने गरेका छन् ।
’तिहारको सिजनमा राम्रो आम्दानी हुने गरेको छ भने अन्य समय बिहे, काजक्रिया र पूजापाठमा सामान बिक्री हुने गरेको छ,’ उनी भन्छन् । यद्यपि, काँचो माटो र सामान पोल्न दाउरा किन्नुपर्दा मेहेनत अनुसार आम्दानी सोचेजस्तो छैन, ’धरायसी दैनिक चलाउन पुगेको छ,’ उनी भन्छन् ।
लोदर कोहारका तीन जना छोरा छन्, तर कसैले पनि पुख्र्यौली पेशालाई निरन्तरता दिन चाहेनन् । उनीहरू चिया पसल चलाउने र लेबरको काम गर्छन् । माटो र हिलोमा काम गर्ने इच्छा नयाँ पुस्तामा नदेखिएकोमा कोहार चिन्तित छन् ।
’माटोको भाँडा बनाउने काम हाम्रो समुदायको पहिचान र पुख्र्यौली पेशा हो,’ उनी भन्छन्, ’तर अहिलेका युवा पुस्ताले यो काम गर्न चाहेनन् । यो पेशा पुस्तान्तरण नहुँदा समुदायको पहिचान र पेशा नै संकटमा छ ।’
उनले माटोलाई आकार दिने मेसिन महँगो भएकोले नगरपालिकाले यस्तो संकटमा परेको समुदायको पेशा जोगाउन सहयोग गर्नुपर्ने अपेक्षा राखेका छन् । उनी भन्छन्, “यो पेशा हाम्रो समुदायको पहिचान हो, यसलाई जोगाउन स्थानीय सरकारको साथ आवश्यक छ ।“

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.