सैनामैना–८ बाँसगढीमा अहिले एक अनौठो धुन गुञ्जिरहेको छ । यो धुन कुनै बाजाहरूको होइन, बरु त्यो धुन हो– काठलाई ’मदल’ मा बदल्ने’ अठोटको । यही धुनलाई पछ्याउँदैछन् ७१ वर्षीय छविलाल साम ।
जसको उमेर आराम गर्ने भन्छ, तर उनको हात भने थाक्दैन । चाडपर्व (तीज, दशैँ, तिहार) नजिकिएपछि उनलाई भ्याई नभ्याई हुन्छ । खुर्पासँगको उनको दोस्ती झनै गाढा हुन्छ, जसले काठलाई खुर्पेर, ताछे्रर मादलको सुन्दर आकार दिन्छ । यो उनको दैनिकि हो, मादल बनाउने चटारो ।
गुल्मीको फोक्सिङ्गामा जन्मिएका छविलाललाई मादलको धुनले बाल्यकालदेखि नै तानेको थियो । उनी केवल १२ वर्षका थिए जब उनलाई मादल बजाउन खुब रहर जाग्यो । एउटा मादलको लागि उनले गाउँका मादल बनाउनेलाई १० पाथी मकै र कोदो दिए, तर मादल बनेन ।
सायद यही असन्तुष्टि र रहरले उनलाई मादल बनाउने बाटो देखायो । उनले मादल बनाएको देखेरै सीप टिपे । १३ वर्षको कलिलो उमेरमै उनले सुरुमा केतकीको काठबाट आफैँ मादल बनाए । त्यो सुरुवात नै उनको जीवनको बाटो बन्यो । गाउँमा मादल बनाउने र अरूलाई सिकाउने काम उनले सुरु गरे ।
छविलालको जीवनमा एउटा ठूलो मोड आयो । १९ वर्षको उमेरमा उनी सिंगापुरमा लाहुरे बने । तालिम, सिप सिकेर पल्टनमा रमाएका उनलाई एक पटक महत्वपूर्ण छनोटको अवसर आयो । मिसनमा जाने कि रु. १५ हजार बोकेर घर फर्कने ? उनले घर फर्किने बाटो रोजे र १९ वर्षको युवा रु. १५ हजार लिएर घर फर्किए ।
त्यसपछि २०३० सालमा उनी रुपन्देहीको बाँसगढीमा बसाई सरे । लाहुरे जीवन छाडेर आएपछि उनले आफ्नो पुरानो रहर र सीपलाई निरन्तरता दिए ।
घर फर्किएर आउने बित्तिकै उनले आफूमा भएको मादल बनाउने सीपलाई निरन्तरता दिए । रहरै रहरले सिकेको मादल बनाउने सीपले नै उनको परिवारको दैनिकी धान्यो र यो नै उनको व्यवसाय बन्यो ।
छविलालले व्यावसायिक रूपमा मादल बनाउन थालेको अहिले ४० वर्ष पुग्यो । उनी भन्छन्, “एउटा मादल तयार गर्न कम्तीमा ६ दिन लाग्छ ।“ मादलको ’घार’ बनाउने र त्यसलाई तानेर कस्ने काम सबैभन्दा कठिन हुन्छ । “
उनको मादल बनाउने सामग्रीमा काठ, किट (मसाल) र छाला पर्छ । उनी मादलका लागि गोरु र बाख्राको छाला प्रयोग गर्छन् ।
उनी थप्छन्, “मादल पिपल, कुटमेरो लगायतका काठबाट पनि बन्छ, तर सबैभन्दा राम्रो बज्ने काठ ’फामारी’ हो । त्यसैले म यही काठ प्रयोग गर्छु ।“
छविलालले बनाएको मादलको माग रुपन्देही, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, गुल्मी मात्र होइन, विदेशबाट पनि ’अर्डर’ आउँछ । उनको दाबी छ कि उनका ग्राहकहरू एक पटक मादल किनेपछि फेरि फर्किएर आउँछन्, चाहे नयाँ किन्न होस् वा ’खारी’ लगाउन । ग्राहकहरू भन्छन्, “बजारका मादलहरू कमसल, छिट्टै टुट्ने हुन्छन् तर छविलालले बनाएका मादलहरू राम्रो बज्ने र लामो समय टिक्ने हुन्छ ।“ उनले बनाएका मादलहरूको मूल्य रु. ५ हजारदेखि रु. १९ हजार सम्म पर्छन् ।
बुढेसकाल, आँखाको कमजोरी र पछिल्लो समय मादल बनाउने तथा बजाउने दुवैको संख्या घट्दै जाँदा उनको काममा केही सुस्तता आएको छ ।
“कोरोनाभन्दा पहिले धेरै मादल बनाउँथें,“ उनी स्मरण गर्छन् । तर, सिजनमा (तीज, दशैँ, तिहार) मा उनी अहिले पनि डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्छन् । छोराछोरीले काम छोड्न भने पनि उनले छोड्न सकेका छैनन् । मादल बनाउन उनकी श्रीमतीले उनलाई सहयोग गर्छिन् । उनी भन्छन्, “म बाँचुन्जेल शरीरले साथ दिएसम्म काम गर्छु । म सकिएपछि यो पेशा पनि सकिन्छ । छोराहरू पढेलेखेको भएर यो काम गर्न मानेनन् ।“
छविलाल सामलाई अहिले पनि एउटा जीवन्त कलाको संरक्षक बनेर बाँची रहेका छन् । उनको खुर्पाको चालले काठलाई मात्र होइन, नेपाली लोक संस्कृतिलाई पनि ’जीवन्त’ बनाउँदैछ ।






