बस सह–चालकदेखि सफल पशुपालकको यात्रासम्म सैनामैनाका विष्णु

Picture of अनिता चाैधरी

अनिता चाैधरी

एक समय थियो विष्णु पौडेलका दिनहरु धुलो, गाडीको चर्को आवज, मानिसहरुको भीडभाड र ट्राफिकको कोलाहलमा बित्थे । बुटवलदेखि काठमाण्डौका सडकमा उनी बसको सह–चालकका रुपमा यात्रु खोज्ने झोला बोक्ने, भाडा उठाउने र गाडी बिग्रिएमा टायर फेर्नेदेखि पाटपुर्जा कस्नेसम्मका काम गर्थे । तर अहिले सैनामैना–४ का विष्णु ति सडकका शहरहरुलाई छाडेर अहिले आफ्नै गाईगोठामा रमाएका छन् ।
दुई दशक अघि बुटवल–काठमाण्डौ चल्ने मिनिबसमा सह–चालकको काम गरेका विष्णु हिजोका दिन सम्झदै भन्छन्–“त्यतिबेला बुटवल–काठमाण्डौ चल्ने गाडीहरु कम थिए । प्रतिस्पर्धा थिएन र कमाई पनि राम्रै हुन्थ्यो । तर पछि धेरै गाडी र सुविधासम्पन्न लक्जरी बसहरु आए, जसले गर्दा प्रतिस्पर्धा बढ्यो र आम्दानी घट्न थाल्यो । त्यसपछि मैले बुबा–बाजेले अँगालेको पशुपालन पेशा गने सोच बनाए” ।
करिब आठ वर्षअघि विष्णुले करिब १ करोडको लगानीमा सैनामैना–४ मा गंगाभैँसी फर्मा दर्ता गरे । १० धुर जग्गा लिजमा लिएर उनले गाई, भैँसी र बाख्रा पाल्न सुरु गरे । हाल उनको फर्मामा १० वटा भैँसी, ८ वटा गाई, १३ वटा बाच्छाबाच्छी र १० वटा बाख्रा तथा पाठापाठी छन् । तीमध्ये अहिले ३ वटाले मात्र दुध दिइरहेका छन् भने १० वटा ब्याउने तयारीमा छन् ।
विष्णु आफ्नो कार्यबारे सुनउँछन्–“म बिहान ४ बजे नै उठ्छु । गाईभैँसीलाई दाना–पानी दिन्छु अनि दुध दुहुने गर्छु ।” अहिले फर्माबाट दैनिक १ सय लिटर दुध उत्पादन हुन्छ । जुन सिजनमा २ सय ५० लिटरसम्म पुग्छ । गाईभैँसीको दाना र घाँसमा मासिक १ लाख २५ हजार रुपैयाँ खर्च हुने बताउँदै वार्षिक खर्च १५ लाख रुपैयाँ पुग्ने गरेको उनले जानकारी गराउँछन् । यति हुँदाहुँदै पनि विष्णुले दुध बेचेरै मासिक २ लाख आम्दानी गर्ने गरेका छन् । साथै उनले फर्मामा दुई जना कामदारलाई मासिक १५ हजार रुपैयाँका दरले रोजगारी पनि दिएका छन् ।
उत्पादित दुधमध्ये ५० लिटर घर–घरमा ठेक्कामा बिक्री हुन्छ भने बाँकी २ सय लिटर साना किसान सहकारी पर्रोहालाई बेचिन्छ । उनि भन्छन्–“घरमा पु¥याउने दुध १ सय रुपैयाँमा प्रतिलिटर बिक्री हुन्छ, तर त्यसको पैँसा उठ्न ५–६ महिना लाग्छ । सहकारीमार्फत ८० रुपैँया प्रतिलिटरमा बेच्दा १५ दिनमै पैँसा आउँछ ।”
विष्णुले मेहनत र परिश्रम गरेअनुसार किसानले प्रतिफल पाउन नसकेकोमा दुखेसो पोख्छन् । “किसाले घाँस कट्ने, गोबर सोर्ने, दिनरात मेहनत गर्ने, तर पैसा कमाउने बिचौलियाले” उनि भन्छन् । यसको समाधानका लागि स्थानीय सरकारले उत्पादित वस्तुको सहज बजार व्यवस्थापना लागि एकै ठाउँबाट बिक्री गर्ने सुविधा ल्याउनुपर्ने उनको सुझाव छ । त्यसो भए मात्र वास्तविक किसानले आफ्नो मेहनतको प्रतिफल पाउनेछन् ।
पालिकाले वर्षैपिच्छे ७५ प्रतिशत अनुदानमा घाँसको बीउ र संरचना व्यवस्थापनका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । तर यी अनुदान अपर्याप्त रहेको विष्णुको भनाई छ । “पालिकाले उपलब्ध गराउने अनुदानलाई व्यवसायीमुखी बनाउन वास्तविक किसानको गोठमा पुगेर अनुदान वितरण गर्नुपर्छ” उनी जोड दिन्छन् ।
पशुपालक कृषकका लागि नगरपालिकाले निःशुल्क पशु बिरामी उपचारको व्यवस्था गर्नुपर्ने माग पनि विष्णुको छ । गाईभैँसीमा थुनिलोको समस्या बढी हुने र यसको उपचार खर्चिलो हुने उनले बताए । गुणस्तरीय पशुपालकलाई गर्भ परीक्षण र गोबर परीक्षण जस्ता तालिक दिन सके घरमै परीक्षण गरेर सोही अनुसार स्यारसुसार गर्न सहज हुने उनको धारणा छ ।
बुबा–बाजेले गर्दै आएको पेशालाई व्यावसायिक रुपमा अँगालेर आफू कृषि पेशामा लागेकोमा विष्णुलाई आत्मसन्तुष्टि मिलेको छ । “अन्य पेशाभन्दा यो पेशाले आत्मसन्तुष्टि मिलेको छ । घरपरिवार मिलेर घर आँगनमै श्रम गर्न पाएको छौँ” उनि भन्छन् सफल हुनका लागि मेहनत र धैर्यता आवश्यक रहेको उनको भनाई छ । पशुपालन व्यवसायले राम्र्रै आम्दानी पनि दिएको छ ।
पशुपालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न पालिकाले अनुदान वितरणको नीतिअनुसार केही राम्रो काम गरे पनि अझै सुधारको खाँचो रहेको विष्णु बताउँछन् । उनी जस्ता वास्तविक किसानका लागि थप सहयोग र योजनाहरु आवश्यक रहेकोमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.