सैनामैना–१ स्थित सैनामैना मेमोरियल स्कुलमा शुक्रबार अंग्रेजी भाषामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको वार्षिक कार्ययोजना अनुसार आयोजित उक्त प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा आत्मविश्वास, वक्तृत्व क्षमता र अंग्रेजी भाषामा दक्षता विकास गर्नु रहेको विद्यालय प्रशासनले जनाएको छ ।
तीन चरणमा सम्पन्न प्रतियोगिताको पहिलो चरणमा कक्षा १ देखि ३ सम्म, दोस्रो चरणमा कक्षा ४ देखि ८ सम्म र तेस्रो चरणमा कक्षा ९ देखि १० का विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए ।
कुल ७४ जना विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा विद्यार्थीहरूले विभिन्न समसामयिक विषयमा प्रभावकारी विचार प्रस्तुत गरेका थिए ।
निर्णायक मण्डलले भाषा, आत्मविश्वास, उच्चारण र विषयवस्तुको प्रभावकारिताका आधारमा मूल्याङ्कन गरेको प्रमुख निर्णायक सह–प्राचार्य पदम अर्यालले जानकारी दिए ।
प्रतियोगितामा कक्षा १–५ समूहमा प्राप्ती घिमिरे (कक्षा ५–ग्रीन) प्रथम, सुप्रिम खत्री (कक्षा ४–ग्रीन) द्वितीय र आकृती मरासिनी (कक्षा २–ब्लु) तृतीय स्थानमा रहे ।
त्यस्तै, कक्षा ६–८ समूहमा तेन्सु शर्मा (कक्षा ८) प्रथम, सदिक्षा भुसाल (कक्षा ६–ग्रीन) द्वितीय र आरोसी अर्याल (कक्षा ८) तृतीय स्थानमा रहे । कक्षा ९–१० समूहमा भने पार्शा खत्रीले प्रथम, देवा पोख्रेलले द्वितीय र धीरज भुसालले तृतीय स्थान हासिल गरेका छन् ।
विद्यालयका प्राचार्य डी.बी. खत्री (प्रदिप) ले प्रतियोगिताले विद्यार्थीहरूमा अंग्रेजी भाषामा स्पष्ट र आत्मविश्वासपूर्वक बोल्ने क्षमता विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए । यस किसिमको गतिविधिहरूले विद्यार्थीहरूको व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने भएकाले भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी गराए ।
विद्यालयका अतिरिक्त विभागका प्रमुख प्रकाश चौधरीको सहजीकरणमा प्रतियोगिता सम्पन्न भएको हो ।





