रुपन्देहीका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लुकेको गायन प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ सुनगाभा भूपू विद्यार्थी मञ्चले जिल्लास्तरीय ’सुनगाभा सिंगिङ आइडल भ्वाइस अफ रुपन्देही’ को दोस्रो संस्करण आयोजना गर्ने भएको छ । युवा प्रतिभाहरूलाई मञ्च प्रदान गरी उनीहरूको आत्मविश्वास, कला र पहिचानसँग जोड्ने अभियान अन्तर्गत प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
आयोजकका अनुसार रुपन्देहीका विभिन्न विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले यस प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । सुनगाभा भूपू विद्यार्थी मञ्चका अध्यक्ष प्रेम न्यौपानेले युवा प्रतिभालाई उकास्नका लागि प्रतियोगिता महत्वपूर्ण हुने बताए ।
प्रतियोगितामा सहभागी हुनका लागि मंसिर १ गतेदेखि ४ गतेसम्म डिजिटल अडिसन हुनेछ । अडिसनमा सहभागी विद्यार्थीले नेपाली गीत गाउनुपर्ने, गीतको अवधि ८० सेकेण्ड लामो हुनुपर्ने र बिना ट्रयाक आफ्नै आवाजमा गाउनुपर्नेछ ।
डिजिटल अडिसनबाट छनोट हुने प्रतियोगीहरूले अर्को चरणमा प्रवेश पाउनेछन् । प्रतियोगिताको फाइनल पुस ९ गते भव्य साँस्कृतिक कार्यक्रमका साथ समापन हुने मञ्चका सचिव मनीष गौतमले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा विजयी हुने प्रतिभाहरूलाई आकर्षक नगद राशीसहित ट्रफी व्यवस्था गरिएको छ । प्रतियोगिताको विजेतालाई नगद २५ हजार र ट्रफी, फस्र्ट रनरअप नगद १५ हजार र ट्रफी, सेकेण्ड रनरअप नगद १० हजार र ट्रफी र थर्ड रनरअपलाई नगद ५ हजार र ट्रफी प्रदान गरिने छ ।
प्रतियोगिताले रुपन्देही जिल्लामा सांगीतिक वातावरण सिर्जना गर्न र नयाँ कलाकारहरूलाई प्रोत्साहन दिन ठूलो भूमिका खेल्ने आयोजकले अपेक्षा गरेको छ ।





