सैनामैना नगरपालिकाका सामुदायिक विद्यालयहरूमा सञ्चालित विपद् जोखिम न्यूनिकरण र जलवायु परिवर्तन अनुकूलन सम्बन्धी गतिविधिहरुको समिक्षा तथा (Gallery Walk Show) (ग्यालरी वाक शो) फोटो प्रदर्शनी कार्यक्रम बुधबार सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग, स्वीस रेडक्रसको आर्थिक सहयोग र सैनामैना नगरपालिकाको साझेदारीमा शहरी पूर्वतयारी तथा आपतकालिन प्रतिकार्य प्रबर्धन परियोजना अन्तर्गत नगरका १४ सामुदायिक विद्यालयमा सञ्चालित सन् २०२३ जुलाईदेखिका गतिविधिहरुको समीक्षा गरिएको हो।
जनकल्याण मावि उत्कृष्ट
नगरभरिका १४ सामुदायिक विद्यालयलाई पछि पार्दै जनकल्याण माध्यमिक विद्यालय विपद् जोखिम न्यूनिकरण उत्कृष्ट गतिविधि र प्रस्तुतिसहित प्रथम भएको छ। जनकल्याणले नगद रु.७ हजार, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेको छ।


यसैगरी, रामापुर माध्यमिक विद्यालय द्वितीय र जनचेतना माध्यमिक विद्यालय तृतीय स्थान हासिल गर्न सफल भएका छन्। द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः नगद रु.६ हजार र रु.५ हजारका साथै ट्रफी र प्रमाण–पत्र प्राप्त गरेका छन्। सहभागी सबै विद्यालयलाई प्रमाण(पत्र प्रदान गरिएको परियोजनाका योजना मुल्याकंन तथा प्रतिवेदन अधिकृत डिल्लीराज जोशीले जानकारी दिए।

कार्यक्रममा विद्यालयहरूले गरेका विपद जोखिम न्यूनिकरण सम्बन्धी गतिविधिको संख्या, विद्यालय सुरक्षा योजनाबाट गरिएका कार्यमा विद्यालयको योगदान, सरोकारवाला निकायसँगको सहकार्य तथा संलग्नताको अवस्था, उत्कृष्ट फोटो प्रदर्शनी, माईन्युटिङ्ग रिपोर्ट तथा सफलताका कथाहरूको प्रस्तुतिको आधारमा मूल्याङ्कन गरिएको थियो।
निर्णायकको भूमिकामा सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम शर्मा, शिक्षा शाखा अधिकृत राधा बेल्वासे, नगर विपद् व्यवस्थापन विभागका प्रमुख सुरज न्यौपाने र नेपाल रेडक्रस रुपन्देहीका उपमन्त्री दिनेश पन्थी रहेका थिए ।
उत्कृष्ट विद्यालयहरूलाई पुरस्कृत गर्दै नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले विद्यालयहरूमा विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलन गतिविधि निरन्तर विस्तार गर्नु अत्यावश्यक रहेको बताए । उनले परियोजनाले प्रदान गरेको ज्ञान र सीपले ठूलो क्षतीबाट जोगाउनुका साथै विद्यार्थीमार्फत घर–घरमा विपद् सचेतना फैलिनु नगरकै दिगो विकासमा सकारात्मक संकेत दिएको उल्लेख गरे ।
उपप्रमुख विना रानाले बालबालिकाले विद्यालयमा सिकेका व्यवहारिक सीप समुदायमा प्रत्यक्ष रूपमा फलदायी हुने विश्वास व्यक्त गरिन्। उनले परियोजनाको सिकाईले युवापुस्तालाई सक्षम नेतृत्वकर्ता बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै सिकेको सिपलाई विद्यालय, परिवार र समाजमा सिकाउन सुझाव दिइन् ।
नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनी (कृष्ण) ले विपद् जोखिम न्यूनीकरण अभ्यास कक्षाभित्र मात्र सीमित नभई जीवन उपयोगी सीप रहेको बताए। विद्यालयबाटै सुरु भएको सिकाइले परिवार र समुदायलाई सुरक्षित र व्यवस्थित बनाउँदै लैजाने उनको विश्वास थियो । उनले नगरपालिका र गाउँपालिकाले यी सिकाई र ज्ञानलाई स्थानीय पाठ्यक्रममा समावेश गरेर सिकाई अभ्यास गनुपर्ने सुझाव पनि दिए।
कार्यक्रम नगरप्रमुख फणेन्द्र प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख विना राना, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनी ९कृष्ण०, शिक्षा शाखा प्रमुख टिकाराम शर्मा, नेपाल रेडक्रस रुपन्देही सभापति रामचन्द्र उपाध्याय, मन्त्री टेक बहादुर थापा, कोषध्यक्ष अर्जुन उपाध्याय, उपमन्त्री दिनेश पन्थी लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रमको सञ्चालन रेडक्रस रुपन्देहीका परियोजना अधिकृत कृष्ण मल्ल र शिक्षा शाखाका गणेश खनालले गरेका थिए ।
कार्यक्रममा विद्यालय शिक्षक नायक, यवा रेडक्रस सर्कलका विद्यार्थी स्वयंसेवक, परियोजनाका कर्मचारीको सक्रिय सहभागीता रहेको थियो।







