पछिल्लो समय रुपन्देहीमा केही हप्तादेखि देखिएको रगत अभाव न्यूनीकरण गर्ने उद्देश्यका साथ सैनामैना–६, कलौनी चोकमा बुधबार ‘मानवताको पक्षमा’ भन्ने नारासहित आकस्मिक रक्तदान कार्यक्रम सप्पन्न भएको छ ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोग सम्पन्न कार्यक्रममा ६० युनिट रगत संकलन गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद (कृष्ण) पगेंनीले रगतको अभाव भइरहेको विषम परिस्थितिमा आयोजित आकस्मिक कार्यक्रमले रक्तसङ्कट न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले रक्तदाताहरूलाई आभार समेत व्यक्त गर्दै रक्तदान जिवनदान जस्तो पबित्र सेवामा सहभागी हुन सबैमा आग्रह गर्नुभयो।
सैनामैना नगरपालिका वडा नं ६ का वडा अध्यक्ष गोपाल पोख्रेलले मानवताको पक्षमा रगतदान जस्तो पुण्य कार्यले सामाजिक उत्तरदायित्वको भावनालाई प्रगाढ बनाएको बताउनुभयो।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपमन्त्री दिनेश पन्थी लगायत रेडक्रसका पदाधिकारी, स्वयम्सेवक, स्थानीय संघसंस्थाका प्रतिनिधि र सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको आयोजना, नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोग, सहरी पूर्वतयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्द्धन (SUPER) परियोजनाको समन्वय र दुधराक्ष युवा क्लबको विशेष सहयोगमा रहेको रक्तदान कार्यक्रम लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद (कृष्ण) पगेंनीको अध्यक्षता तथा रेडक्रसका सुपर परियोजना अधिकृत डिल्लीराज जोशीको सञ्चालनमा सम्पन्न भएको थियो।






