थारु कल्याणकारिणी सभा सैनामैना नगर समितिको आयोजनामा आठौँ सैनामैना माघी खिचडी महोत्सव २०८२ भव्य समारोहका बिच उद्घाटन गरिएको छ। थारु समुदायको महान पर्व माघीको अवसरमा आयोजित तीन दिने महोत्सवको सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले एक विशेष समारोहका बिच समुद्घाटन गर्नुभयो।
महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले थारु समुदाय प्राकृतिक पुजारी र संस्कृतिमा अत्यन्त धनी रहेको चर्चा गर्नुभयो। “थारु समुदायले आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्दै अब राज्यका हरेक निकायमा पहुँच पुर्याउन अग्रसर हुनुपर्छ प्रमुख शर्माले भन्नुभयो।” उहाँले नगरपालिका थारु समुदायको विकास र उत्थानका लागि सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै पिछडिएका बस्तीहरूको विकासका लागि उज्यालो थारु गाउँ कार्यक्रममार्फत काम भइरहेको जानकारी दिनुभयो।
त्यसैगरी, थारु कल्याणकारिणी सभा रुपन्देहीका उपसभापति बुद्धिराम थारुले थारु जाति, भेषभुषा र परम्परा आफैँमा अमूल्य रहेको बताउनुभयो। उहाँले अब संस्कृति संरक्षणमा मात्र सीमित नभई राजनीतिक र प्रशासनिक क्षेत्रमा पनि अब्बलता देखाउँदै नेतृत्व गर्न समुदायलाई आह्वान गर्नुभयो।
नगर सभापति दुल बहादुर थारुले थारु समुदायलाई एकताबद्ध बनाउन, खुसी साटासाट गर्न र नयाँ योजना बुन्न महोत्सव आयोजना गरिएको बताउनुभयो। उहाँले विगत झैँ यस वर्ष पनि प्रतियोगिता, सम्मान र सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख गर्नुभयो।


हाजिरीजवाफ र खेलकुद प्रतियोगिताका नतिजा
महोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयीहरूलाई सोही अवसरमा सम्मान गरिएको थियो । नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालय प्रथम भएको छ । जनकल्याण माध्यमिक विद्यालय द्धितिय, पश्चिम पर्रोहा माध्यमिक विद्यालय तृतीय र पर्रोहा माध्यमिक विद्यालय चौथो स्थना हासिल गरेको छ ।
यस्तै महिला दौड १००० मिटरतर्फ भएको प्रतियोगितामा आयुषा भण्डारी प्रथम, उमा दवल द्वितिय र सुनिता थारु तृतीय भएका छन् । पुरुष दौड १५०० मिटरतर्फ उमेश बरै प्रथम, अर्जुन प्रसाद केवट द्वितिय र सुनिल मल्लाह तृतीय भएका छन् ।
महिला टिकुली रेसमा सन्जु थारु प्रथम, निलम थारु द्वितिय र विनिता थारु र आरती थारु तृतीय भएका छन् ।







