सैनामैनाको विकास र समृद्धिका लागि जनप्रतिनिधि, सरोकारवाला र नागरिक समाजले ऐक्यबद्धता जनाएका छन् । गौतमबुद्ध प्रेस क्लबको आयोजनामा मङ्गलवार सैनामैनाको बाबरी पार्टी प्यालेसमा सम्पन्न ’सैनामैनाको समृद्धिका लागि सम्भावनाको खोजी’ विषयक विचार गोष्ठीमा सहभागीहरूले नगरको विकासका लागि साझा धारणा व्यक्त गरेका हुन् ।
गोष्ठीको उद्घाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैना गौरब गर्न लायक नगर रहेको बताए । उनले भने–“हामीले तीन–चार सय वर्ष पुराना थारु गाउँहरूलाई आधुनिक पूर्वाधारसँग जोड्दै उज्यालो अभियान पूरा गरेका छौँ ।“ ती गाउँहरूमा ढल निकास, बिजुली र बाटोमा टायल बिछ्याउने कार्य सम्पन्न भएको छ ।
अब सैनामैनाका विपन्न, दलित र सीमान्तकृत समुदायको जीवनस्तर सुधार्न अब थारु मोडेलकै गुणस्तरीय घरहरू निर्माण गर्ने योजना नगरपालिकाले अघि सारेको छ । यसले नगरको ’उज्यालो अभियान’ लाई पूर्णता दिने उनको विश्वास छ ।
नगरको शैक्षिक र स्वास्थ्य अवस्था सुदृढ हुँदै गएको बताउँदै प्रमुख शर्माले भने–“गत वर्षको एसईई परीक्षामा सैनामैनाका १० जना विद्यार्थीले ४.० जीपीए हासिल गर्नुले हाम्रो शैक्षिक गुणस्तर कुन स्तरमा छ भन्ने पुष्टि गरेको छ ।“ “नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पु¥याउन हामी सफल भएका छौँ । अहिले नगरपालिकामा आफ्नै नगर अस्पताल सञ्चालनमा छ भने प्रत्येक वडामा रहेका आधारभूत स्वास्थ्य चौकीमार्फत प्रभावकारी सेवा प्रवाह भइरहेको छ ।“
नगर प्रमुख शर्माले विकासका सम्भावना हुँदाहुँदै पनि नीतिगत जटिलताका कारण केही समस्या झेलिरहनुपरेको गुनासो गरे । “सामुदायिक वनबाट प्राप्त हुने २५ प्रतिशत रोयल्टीमध्ये स्थानीय तहले पाउने पर्ने १० प्रतिशत रोयल्टी प्रदेश सरकारले नदिँदा धेरै कामहरू प्रभावित भएका छन्,“ उनले भने ।
त्यस्तै, फोहोरमैला व्यवस्थापनका लागि साढे ३ हेक्टर जग्गाको भोगाधिकार प्राप्त भएको र पर्यटन विकासका लागि बौराहा खोलादेखि कञ्चन खोलासम्म सेनाको २६ सय बिगाहा क्षेत्रको उपयोगका विषयमा पनि सम्भावनाहरू खोजी भइरहेको बताउँदै समाजमा भएका सकारात्मक परिवर्तन र विकासका कामहरू बाहिर आउन नसकेको भन्दै उनले सञ्चारकर्मीहरूलाई राम्रा कामको प्राथमिकताका साथ उजागर गर्न आग्रह गरे ।
सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले सुशासन र गुणस्तरीय सेवा प्रवाह बिना समृद्ध सैनामैनाको परिकल्पना सम्भव नरहेको बताए । “जबसम्म हामीले कार्य प्रक्रियामा सुधार गर्दैनौँ र सेवा प्रवाह गर्ने व्यक्तिको आचरणमा परिवर्तन ल्याउँदैनौँ, तबसम्म समृद्धिको लक्ष्य पूरा हुन सक्दैन,“ उनले भने ।
सैनामैनाको विकासको परिकल्पनालाई मूर्त रूप दिन राजनीतिक दलहरूले दीर्घकालीन विकासको खाका तयार पार्न ध्यान दिनुपर्ने अधिकृत मरासिनीले सुझाव दिए ।
सैनामैनाको आर्थिक विकासको मुटु सडक सञ्जाल रहेको चर्चा गर्दै उनले नगरमा उपलब्ध प्रचुर प्राकृतिक स्रोतको भरपूर उपयोग गर्नुपर्ने बताउँदै सैनामैना पर्यटन, व्यवस्थित आवास, कृषि, घरेलु उद्योग, शिक्षा र स्वास्थ्यका लागि अत्यन्तै उपयुक्त क्षेत्र भएकोले यसको योजनाबद्ध विकासमा जुट्नुपर्ने धारणा राखे ।


मानव अधिकारकर्मी रवि ठाकुरले सैनामैनाको समृद्धिको मार्ग सामुदायिक वनले प्रशस्त गरेको उल्लेख गरे । उनले भने–“वनलाई केवल संरक्षणमा मात्र सीमित नराखी आयआर्जनमा आधारित व्यवसायसँग जोड्नुपर्छ ।“ सैनामैनाका सामुदायिक वनहरूबाट उत्पादित वस्तुहरूलाई धार्मिक पर्यटनसँग जोड्न सके स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उनको तर्क थियो ।
पूर्व नगर प्रमुख चित्रबहादुर कार्कीले सैनामैनाको समृद्धि ’पर्या–पर्यटन’ बाट मात्र सम्भव रहेको उल्लेख गरे । उनले पर्रोहा बोलबम धाम, महेरवादेवी र मलमला मन्दिर जस्ता धार्मिक स्थलको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । साथै रोकिएका गौरवका आयोजनालाई पुनः गति दिन आवश्यक रहेको बताए ।
वरिष्ठ पत्रकार एवं संस्थाका सल्लाहकार छवि पाण्डेले सैनामैनाको पहिचान देशभर पु¥याउन सञ्चार क्षेत्रले खेलेको भूमिकाको चर्चा गर्दै राज्यले मिडियालाई प्रोत्साहन गर्नुपर्ने बताए ।
झिमझिमिया सामुदायिक वनका सल्लाहकार कृष्णप्रसाद घिमिरेले सैनामैनाको ६५ प्रतिशत भू–भाग वन क्षेत्र रहेको तथ्य प्रस्तुत गर्दै जडीबुटी प्रशोधन, मौरीपालन र काष्ठकला (विजयसालका गिलास र आचानो उत्पादन) मार्फत आर्थिक उपार्जन गर्न सकिने सम्भावना देखाए ।
महिला अधिकारकर्मी दिपिका शर्माले महिलाहरूलाई सीपमूलक तालिम दिएर उद्यमी बनाउन र विशिष्ट पदमा उनीहरूको सहभागिता बढाउन पालिकाले सहजीकरण गर्नुपर्ने सुझाव दिए ।
एन प्याब्सन रुपन्देहीका अध्यक्ष तिलब केसीले व्यवसायिक समस्या, कर प्रणालीको झन्झट र श्रमिकको सामाजिक सुरक्षाका विषयमा ध्यानाकर्षण गराए । उनले करको दर भन्दा पनि दायरा बढाउन र व्यवसायीसँग समन्वय गर्न नगरपालिकासँग आग्रह गरे ।
भर्गो नेपाल संस्थाका अध्यक्ष कृष्ण प्रसाद शर्माले सामाजिक विकासमा गैरसरकारी र क्लबहरूको भूमिका महत्वपूर्ण हुने बताए । नगरपालिकाले स्थानीय आवश्यकता र सम्भावनालाई पहिचान गरी यहाँका संघसंस्थासँग सहकार्य गरेमा विकासका गतिविधि थप प्रभावकारी हुने उनको भनाई थियो ।
“नगरपालिकाले स्रोत र साधनको पहिचान गर्दा सामाजिक क्षेत्रमा कार्यरत संस्थाहरूलाई पनि सँगसँगै लैजानुपर्छ,“ शर्माले भने– “यसरी गरिने संयुक्त प्रयासले सैनामैनाको समृद्धिलाई नयाँ उचाइमा पु¥याउनेछ ।“
इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रल्हाद केसीले नगरमा बढ्दो लागुऔषधको समस्या समृद्धिको बाधक रहेको भन्दै यसको नियन्त्रणका लागि समुदायको सूचना संयन्त्र बलियो हुनुपर्नेमा जोड दिए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक श्री भट्टराईले सैनामैनाको विकासका लागि कृत्रिमता (आर्टिफिसियल) भन्दा प्राकृतिक र मौलिक स्वरूपमा जोड दिनुपर्ने धारणा राखे । उनले सैनामैनाको इतिहास बौद्धकालीन र हिन्दुत्वसँग जोडिएकोले यसैलाई नगरको विशेष चिनारी बनाउनुपर्ने सुझाव दिए । “सैनामैनालाई चिनाउन नवीनतम र मौलिक चिजको परिकल्पना आवश्यक छ,“ भट्टराईले भने–, “हामीसँग भएका पर्यटकीय सम्भावनालाई आफ्नै मौलिकपनमा ढालेर अगाडि बढ्नुपर्छ ।“
शान्ति समाजका पूर्व अध्यक्ष गोविन्द खनालले सैनामैनालाई ’भर्जिन ल्याण्ड’ का रूपमा परिभाषित गर्दै यसलाई ’ग्रेटर सिटी’ बनाउनुपर्ने धारणा राखे । उनका अनुसार नगरले ’शून्य मातृ मृत्युदर’ कायम गर्नु र प्रविधिमैत्री स्वास्थ्य सेवा पु¥याउनु ठूलो उपलब्धि हो ।
शहिद नारायण पोख्रेल रामापुर क्याम्पसका प्राध्यापक दिनेश पन्थीले नगरमा करिब २७ हजार विद्यार्थी अध्ययनरत रहेको तथ्याङ्क प्रस्तुत गर्दै उच्च शिक्षामा सुधारको खाँचो औंल्याए । उनले रामापुर र पर्रोहा क्याम्पसमा एउटै विषय चलाउनु भन्दा ती संस्थालाई मर्ज गरेर प्राविधिक तथा स्वरोजगारमूलक शिक्षामा जोड दिनुपर्ने सुझाव दिए ।
गौतमबुद्ध प्रेस क्लवका अध्यक्ष थानेश्वर घिमिरे (नवीन) को अध्यक्षतामा भएको कार्यक्रममा रामचन्द्र श्रेष्ठले सैनामैनाको समृद्धिका सम्भावना सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
क्लवका उपाध्यक्ष एवं कार्यक्रम संयोजक कृष्ण भण्डारीको स्वागत र महासचिव अनिल पहाडीको सञ्चालनमा गोष्ठी सम्पन्न भएको थियो ।







