“खाने मुखलाई जुँगाले छेक्दैन“ भन्ने नेपाली उखानलाई सैनामैना नगरपालिकाका प्रौढ महिलाहरूले सार्थक तुल्याएका छन् । परम्परागत सामाजिक बन्धन, पारिवारिक जिम्मेवारी र आर्थिक अभावका कारण विगतमा पढाइबाट वञ्चित भएका धेरै आमाहरू अहिले सैनामैना–६ मा अवस्थित गोरखनाथ सामुदायिक सिकाइ केन्द्रमा उत्साहका साथ अध्ययन गरिरहेका छन् । लामो समयदेखिको शिक्षा हासिल गर्ने सपना उनीहरूले अहिले आएर पूरा गरिरहेका छन् ।
सैनामैना–६ की ६७ वर्षीया देवकी भट्टराई बुढेसकालमा शिक्षित हुने सपना पूरा गर्दै छिन् । झोलाभरि कपी, किताब र कलम बोकेर उनी दिनहुँ विद्यालय जान हतारिन्छिन् । बिहान–बेलुका घरको काम सकेर ठिक ११ बजे उनी विद्यालय पुग्छिन् र अहिले कक्षा २ मा अध्ययनरत छिन् ।
सात छोराछोरीकी आमा देवकीले खाली समयको सदुपयोग गर्दै दुई–चार अक्षर सिक्नका लागि विद्यालय जाने गरेको सुनाइन् । उनी भन्छिन्, “पढ्ने रहर त थियो, तर के गर्नु छोरी मान्छे पढ्नु हुँदैन भन्ने सोच र उ बेला छोरी पढाउने चलन पनि थिएन। त्यसमाथि घरकी जेठी छोरी । साना भाइबहिनीलाई हेरचाह गर्नुपर्ने र घरको काममा आमालाई सघाउनुपर्ने हुनाले पनि मैले पढ्न पाइनँ ।”
देवकीका अनुसार “कुनै सपना मनले बुने भने जसरी पनि पूरा हुँदो रहेछ, त्यसलाई उमेरले पनि छेक्दैन र रहर पनि बुढो हुँदैन ।“ घर नजिकै महिला विद्यालय सञ्चालनमा आएको थाहा पाएपछि श्रीमानको जोडबलले आफू सिकाइ केन्द्रमा पढ्न गएको उनले बताइन् । घरमा पढाइ गर्दा नजानेको कुरा उनी नाति र बुहारीसँग सोध्ने गर्छिन् । नातिलाई ट्युसन पढाउने शिक्षकसँग पनि थप कुरा सिक्ने गरेको कुरा उनले खुसी हुँदै सुनाइन् ।
सैनामैना–३ की यमकला दर्लामी अहिले ५४ वर्षकी छिन् र बुटवलको साधाना महिला विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । उमेरले पाको भए पनि शिक्षा सिकाइमा भने उनी सानै छिन् । गुल्मीको भार्सेमा जन्मिएकी यमकलाको कक्षा ७ मा पढ्दापढ्दै विवाह भयो । घरायसी कामकाज र ’बुहारी मान्छे धेरै पढ्न हुँदैन’ भन्ने सामाजिक मान्यताले उनको पढाइलाई अघि बढाउन दिएन ।
छोराछोरीको राम्रो शिक्षाका लागि सैनामैना झरेपछि उनको दैनिकी बालबालिका हुर्काउने र घरायसी काममै बित्यो । उनले भनिन्,–“सानै उमेरदेखि पढ्न एकदमै मन लाग्थ्यो, तर इच्छा हुँदाहुँदै पनि धेरै पढ्न पाइनँ । यद्यपि इच्छाशक्ति भयो भने अवसर पुनः प्राप्त गर्न सकिन्छ ।”
विभिन्न सामाजिक संस्थाका कार्यक्रममा सरिक हुँदा उनले पढाइको महत्व महसुस गरिन् । सैनामैनामा एउटा महिलासम्बन्धी कार्यक्रममा सरिक हुँदा पढ्न चाहेका र बीचमै पढाइ छाडेका महिलाहरूका लागि विद्यालय सञ्चालन भएको जानकारी पाइन् र सोही विद्यालयमा कक्षा ४ मा भर्ना भइन् । पढाइको पुरानो पृष्ठभूमिका कारण उनी दुई वर्षपछि नै कक्षा ८ मा पुगिन् । सो विद्यालयमा कक्षा ८ भन्दा माथि पढाइ नभएपछि उनले रामापुर माध्यमिक विद्यालयबाट कक्षा ८ मा राम्रो अंक ल्याएर पास गरिन् र अहिले बुटवलको साधाना महिला विद्यालयमा एसईईको तयारीमा छिन् ।
सैनामैना ९ पिपलडाँडाकी लक्ष्मी बस्यालले ३९ वर्षको उमेरमा आफ्नो पढ्ने रहर पूरा गर्दैछिन् । कक्षा २ पास गरेर ३ कक्षा पढ्दापढ्दै बुबाको निधन भएपछि उनको शैक्षिक यात्रा रोकियो । परिवार पाल्ने जिम्मेवारी आमाको काँधमा आएपछि आर्थिक अभाव र घरको कामले गर्दा उनले विद्यालय जान पाइनन् ।
लक्ष्मी भन्छिन्–“पढ्ने रहर त थियो तर पढ्न पाएको थिइनँ, अहिले त्यो सपना पूरा गर्दैछु ।“ सुरुमा धेरैले यो उमेरमा पनि पढेर के हुन्छ भनेर खिसी गरे पनि कुनै वास्ता नगरी ३ वर्षदेखि विद्यालयमा अध्ययन गर्दै आएकी उनी अहिले कक्षा ६ मा पढ्दैछिन् । उनले भनिन्, “पहिला नपढ्दा अन्धो जस्तो थिएँ, पढेपछि अहिले जान्ने, बुझ्ने भएकी छु।“ उनी कक्षामा पाँचौँ र छैठौँ स्तरमा उत्तीर्ण हुने गरेकी छिन् । घरको कामकाज, खेतीपातीको काम सकेर पढाइलाई समय व्यवस्थापन गर्दै अगाडि बढेको उनले बताइन् ।
देवकी, यमकला र लक्ष्मी जस्तै पढ्ने सपना पछ्याउँदै सिकाइ केन्द्रमा कक्षा ३ मा अध्ययनरत विद्यार्थी हुन् अशिया थारु । पढ्ने समयमा विवाह बन्धनमा बाँधिएर पढ्न नसकेकी थारुले अहिले ५४ वर्षको उमेरबाट ’क ख रा’ चिन्न सुरु गरेकी हुन् ।
सुरुमा विद्यालय जाँदा ’मर्ने बेला हरियो काँक्रो’ भन्दै थुप्रैले व्यङ्ग्य गरे पनि उनले त्यसलाई परवाह नगरी पढाइलाई निरन्तरता दिइन् । फलस्वरुप अहिले पढ्न, लेख्न र बोल्न सिक्दा निकै खुशी लागेको छ । उनी भन्छिन्–शिक्षित भएपछि आमा समूहको बैठक, नगरपालिका÷अस्पतालमा सेवा लिन सहज भएको अनुभव भएको छ ।


विद्यालयका प्रधानाध्यापक सिर्जना न्यौपानेका अनुसार केन्द्रमा भर्ना हुन आउने महिलाहरूमा शिक्षाप्रतिको मेहनत र लगनशीलता बढी देखिने गरेको छ । पढाइ छुटेको पीडा र अशिक्षित हुँदाको पीडाले नै उनीहरूमा पढाइप्रति अग्रसरता देखिएको छ । “महिला साक्षर हैन कि शिक्षित बन्नुपर्ने अभियानका साथ विद्यालय अगाडि बढिरहेको छ,“ उनी बताउँछिन् ।
वि.सं. २०७८ सालमा ३५ जना विद्यार्थीबाट सुरु गरिएको सिकाइ केन्द्रमा अहिले ११४ जना महिला अध्ययनरत छन् । अक्षर चिन्न नसक्ने र अक्षर चिनेका महिलाहरूलाई दुई समूहमा विभाजन गरी अध्यापन भइरहेको छ। विद्यालयमा हप्ताको ५ दिन पाठ्यक्रमअनुसार बिहान ११ देखि दिउँसो ३ बजेसम्म पढाइ हुन्छ भने शुक्रबार सीप विकास, नेतृत्व विकास लगायतका अतिरिक्त क्रियाकलाप सिकाई हुन्छ ।
शिक्षिका नमिता भण्डारीका अनुसार बालबालिका भन्दा पाका महिलाहरूलाई पढाउन गाह्रो छ किनकि उनीहरूलाई बारम्बार अभ्यास गराउनुपर्छ । यद्यपि उनीहरू आफैं पढ्न अग्रसर हुने भएकाले पढाइप्रति जागरुकता भने बढी देखिन्छ । कक्षामा भर्ना भएका सबै महिलाहरू नियमित विद्यालय आउन सक्दैनन् । तर, नियमित विद्यालय आउने आमाहरूको पढाइप्रतिको लगाव भने उच्च छ । शिक्षकहरूलाई एकछिन ढिला गरे बोलाउन गइहाल्छन् । ‘हामीले कति काम छोडेर सिक्न आएका छौँ, छिटो आउनु’ भन्दै बोलाउनुहुन्छ उनले भनिन् ।
विद्यालय शिक्षाबाट टाढा रहेका महिलाहरूलाई औपचारिक शिक्षा दिनुपर्छ भन्ने उद्देश्यले गोरखनाथ सामुदायिक सिकाइ केन्द्र स्थापना गरिएको विद्यालयका अध्यक्ष लता खड्काले जानकारी दिइन् । उनी भन्छिन्,–“आर्थिक, सामाजिक र पारिवारिक कारणले पढ्न नपाएका आमाहरूको इच्छा र सपनालाई साकार बनाउन तथा एउटा शिक्षित समाज निर्माण गर्न सिकाइ केन्द्रले सहयोगी भूमिका खेलेको छ ।“
केन्द्रमा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क किताब–कपी पनि उपलब्ध गराइएको छ । सिकाइ केन्द्र स्थापना गर्न विभिन्न सहयोगीदाता र नगरपालिकाको आर्थिक सहयोगले सफल भए पनि त्यसलाई निरन्तरता दिन व्यवस्थापनको पाटो निकै चुनौतीपूर्ण रहेको अध्यक्ष खड्काले बताइन् । विद्यालय सञ्चालनको मुख्य चुनौती नै आर्थिक पक्ष रहेकाले स्रोत जुटाउन तीनै तहको सरकारको पहल आवश्यक रहेको उनको भनाइ छ ।
सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले उमेर पुगेका र सामान्य लेखपढ गर्न नसक्ने महिलाहरूलाई शिक्षित बनाउने लक्ष्यले सिकाइ केन्द्र सञ्चालन गरिएको बताए । आधारभूत तहको अध्यापन सिकाइ केन्द्रमा हुने र त्योभन्दा माथिको शिक्षाका लागि अन्य सामुदायिक विद्यालयमा पनि महिलाहरू पढिरहेको अवस्थाले पढाइप्रति उत्साह सिर्जना भएको उनको भनाइ छ ।
आधारभूत तहको पढाइका साथै पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलाप, सिलाई कटाई र क्षमता विकासका तालिम प्रदान गरी सक्षमताको विकास गराउने प्रयास गरिएको छ । कक्षा व्यवस्थापन र शिक्षक व्यवस्थापनका लागि पालिकाले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको मेयर शर्माले बताउँदै शिक्षित समाज निर्माणका लागि सिकाइले भविष्यमा प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।







