रुपन्देहीको सैनामैनामा आठौँ सैनामैना माघी खिचडी महोत्सव विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
थारु समुदायको महान पर्व माघीको अवसरमा थारु कल्याणकारिणी सभा सैनामैना नगर समितिको आयोजनामा भएको तीन दिने महोत्सवको थारु संस्कृति, भेषभूषा र खानपानको प्रदर्शन गर्दै एकता र उत्साहका साथ पर्व मनाइएको हो ।
महोत्सवमा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सी प्रसाद चौधरीले थारु संस्कार र संस्कृति बचाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए । नयाँ पुस्ताले आफ्नो मौलिक परम्परा र भेषभूषा छाड्दै आयातित संस्कृति अपनाउँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले भने–“थारु संस्कार र संस्कृति बचाउन सके मात्र थारु पहिचान स्थापित हुन्छ ।“
सांसद चौधरीले पुँजीवाद र समाजवादको चर्चा गर्दै भने–“पुँजीवादमा प्रतिस्पर्धा मात्र छ, तर समाजवादमा योग्यता अनुसारको काम र दामको सुनिश्चितता हुन्छ । हाम्रो समाज विकासको पूर्वाधार चरणमा छ, यसका लागि सबै समुदायको सहकार्य आवश्यक छ ।“ उनले नेता र पार्टी परिवर्तन भएर मात्र नहुने भन्दै जनता स्वयं र आफ्नो क्षमता परिवर्तन हुनुपर्ने धारणा राखे ।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले थारु समुदायलाई ’प्राकृतिक पुजारी’ र संस्कृतिमा धनी समुदायको रूपमा चित्रण गरे । नगरपालिकाले थारु बस्तीको विकासका लागि ’उज्यालो थारु गाउँ’ जस्ता कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उहाँले राज्यका हरेक निकायमा थारु समुदायको पहुँच हुनुपर्ने बताए ।
थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षद खुशीराम चौधरीले विगतमा थारु समुदायको खानपान र पहिरनलाई होच्याइने गरिए तापनि अहिले अवस्था फेरिएको बताए । “आज थारु समुदायको लेहेंगा–चोली लगाएर अन्य समुदायले टिकटक बनाउने र रुचि राख्ने गरेका छन् । घोघी जस्ता परम्परागत परिकारहरू लोकप्रिय बन्दै गएका छन्,“ उनले भने । चौधरीले मौलिक चिजलाई व्यवसायीकरण गरी आर्थिक उपार्जनसँग जोड्नुपर्नेमा जोड दिए ।


सैनामैना–३ का वडा अध्यक्ष तम बहादुर पुर्जाले पर्यटन र विविधतापूर्ण समाजले सैनामैनाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
थारु कल्याणकारिणी सभा रुपन्देहीका उपसभापति बुद्धिराम थारुले अब संस्कृतिको संरक्षणसँगै राजनीति र प्रशासनिक क्षेत्रमा पनि थारु समुदायले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति राज बहादुर क्षेत्रीले आदिमकालदेखि बसोबास गर्दै आएका थारु समुदायको रहनसहन जोगाउनु नै वास्तविक विकास भएको बताए ।
नेपाली कांग्रेसका उपसभापति लक्ष्मी आचार्य पौडेलले भाषा, संस्कृति र सम्पदाको संरक्षणमा जोड दिँदै थारु भाषालाई लिपिवद्ध गरी देशभर पहिचान दिलाउनुपर्ने बताइन् । उनले भाषा जोगाउन नसकिए अस्तित्व नै समाप्त हुने खतरा औँल्याइन् ।
नगर सभापति दुल बहादुर थारुले समुदायलाई एकताबद्ध बनाउन र नयाँ योजना बुन्न माघीको अवसरमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।







