डिजि स्कुल युकेबाट सम्बन्धन प्राप्त सुनगाभा पब्लिक सेकेन्डरी स्कुलमा डिजिटल सप्ताह (विक) कार्यक्रम अन्तर्गत रोबो कार रेस कम्पिटिसन कार्यक्रम सम्पन्न भएको छ।
आधुनिक प्रविधि र विद्यार्थीहरूको सिर्जनशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा आर सि रेबल्स टिम प्रथम भएको छ। यस्तै, फेलकन समुह दोस्रो स्थान हासिल गर्न सफल भयो भने टाइगर वारियर्स तेस्रो भयो। तेस्रो स्थान हासिल गरेको टाइगर वारियर्सले नै कम्पिटिसनमा ‘बेस्ट डिजाइनर’को अवार्ड पनि जितेको छ।
प्रतियोगितामा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ कक्षासम्मका विद्यार्थीहरूले भाग लिएका थिए। विद्यार्थीहरूले आधुनिक प्रविधिको प्रयोग गरेर सेन्सर जडित कारहरू आफै बनाएर रेस प्रतियोगितामा सहभागी भएका थिए।
प्रतियोगितामा जम्मा सात समूहले प्रविधिको प्रयोगबाट इलेक्ट्रोनिक कार बनाएर रेसमा सहभागी विजेताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।


प्राचार्य तिलब केसीले यस किसिमका प्रतियोगिताले विद्यार्थीहरूलाई पढाइसँगै प्रविधिको ज्ञान र सीपमा अगाडि बढाउन मद्दत गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “आजको युग प्रविधिको युग हो। हाम्रा विद्यार्थीहरूले आफै सेन्सर र कारहरू बनाएर रेस प्रतियोगितामा सहभागी हुनुले उनीहरूको सिर्जनशीलता र प्रविधिको ज्ञानलाई उजागर गरेको छ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज गौतमले प्रविधिको जमानामा विद्यार्थीहरूको ज्ञान र सीपलाई उजागर गर्न प्रतियोगिता सहयोगी बन्ने बताउनुभयो। उहाँका अनुसार, “पढाइको साथसाथै विद्यार्थीहरूमा प्रविधिको ज्ञान र सीप पनि हुनुपर्छ। यस्ता गतिविधिहरूले विद्यार्थीको बहुआयामिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्छन्।”
कार्यक्रममा विद्यालयका प्रमुख शैक्षिक सल्लाहकार लालप्रसाद पंगेनी, पूर्व अध्यक्ष लक्ष्मी जोशी र विमला पौडेलले शैक्षिक भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो। प्रतियोगिता शिक्षक विवेक विश्वकर्माको संयोजकत्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सह-प्राचार्य कमल पौडेलले गर्नुभएको थियो।






