२०८२ असोज २६
विद्यार्थीहरूमा बढ्दो मानसिक स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै लायन्स क्लब अफ सैनामैना मलमलाको आयोजना तथा रामापुर माध्यमिक विद्यालयको सहकार्यमा शनिबार ‘मानसिक स्वास्थ्य सचेतना कार्यक्रम– आत्मसम्मान तथा सामाजिक भावनात्मक सन्तुलन’ विषयक कार्यक्रम सम्पन्न भएको छ l
क्लबका अध्यक्ष लायन जीवन घिमिरेले विद्यार्थीहरूमा मानसिक स्वास्थ्यप्रतिको चेतना अभिवृद्धि अहिलेको आवश्यकता अनुसार कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेसनल ३२५ पि नेपालका डिष्ट्रिक्ट गभर्नर पि एम जे एफ लायन बालाराम भट्टराईले विद्यार्थीको आत्मविश्वास र सकारात्मक सोच मानसिक सन्तुलनको मुख्य आधार हुने उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले विद्यालयमा सकारात्मक वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।


त्यसैगरी, विशिष्ट अतिथि लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ पि नेपालका सेकेन्ड भ्वाइस डिष्ट्रिक्ट गभर्नर पि एम जे एफ लायन मीना पन्थीले समाजमा मानसिक समस्या बढ्दो क्रममा रहेकोले यसलाई सामूहिक रूपमा बुझ्न र विद्यार्थीहरूलाई सशक्त बनाउन शिक्षालय नै पहिलो थलो हुनुपर्नेमा जोड दिनुभयो।
रामापुर माविका प्रधानाध्यापक कृष्णप्रसाद पौडेल र सहिद नारायण रामापुर क्याम्पसका प्रमुख हेमबहादुर थापाले बोल्दै विद्यार्थीहरूको भावनात्मक विकास र आत्मसम्मान वृद्धिका लागि निरन्तर यस्ता सृजनात्मक गतिविधिहरू आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका न्युरो साइकाट्रिस्ट डा. अशिम रेग्मीले प्रशिक्षण दिनुभएको थियो। उहाँले विद्यार्थीहरूलाई मानसिक स्वास्थ्यको महत्त्व, आत्मसम्मान कसरी बढाउने, सामाजिक सन्तुलन कायम गर्ने तरिका र तनाव व्यवस्थापनसम्बन्धी महत्त्वपूर्ण सीप र उपायबारे जानकारी गराउनु भएको थियोे ।
सहभागी विद्यार्थीहरूले यस प्रशिक्षणबाट आफ्नो भावनात्मक अवस्था बुझ्ने र स्वस्थ जीवनशैली अपनाउने व्यावहारिक सीपहरू सिकेको बताएका छन्।
कार्यक्रममा विद्यार्थी र अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम संयोजक एवं क्लबका पूर्व अध्यक्ष लायन सरोज पन्थले स्वागत मन्तव्य तथा सचीव लायन्स ज्ञानप्रसाद पान्डेले कार्यक्रमको संचालन गर्नुभएको थियोे ।
सकारात्मक सोच, आत्मस्वीकार र सहयोगी भावनाको सन्देशसहित सम्पन्न उक्त कार्यक्रमले विद्यालय समुदायमा नयाँ ऊर्जा र चेतना जगाएको सहभागीहरूले बताएका थिए । क्लबका सल्लाहकार लेखनाथ गैरे, पूर्व अध्यक्षहरू विजय काफ्ले, शिवप्रसाद पोख्रेल, प्रथम उपाध्यक्ष चन्द्रप्रकाश वन लगायत पदाधिकारीहरूले कार्यक्रमको सहजीकरण गर्नुभएको थियोे ।






