पश्चिमी तराईको थारु समुदायका महिलाहरूले आफ्नो अटल आस्था र सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै दशैंको पूर्णिमापछिको चतुर्थीका दिन बिहिबार ‘भितिया पर्व गौर’ धुमधामका साथ मनाएका छन् । यस पर्वमा विवाहित महिलाहरूले श्रीमान्को दीर्घायु र सु–स्वास्थ्यको कामना गर्दै निराजल (पानी समेत नखाई) ब्रत बसेका छन् भने अविवाहित युवतीहरूले योग्य तथा असल वर प्राप्तिको लागि ब्रत बसेर चन्द्रमाको पूजा गरेका छन् ।
सैनामैना–२ उचडिहवा गाउँकी जानकार महारानी थारुका अनुसार यस ब्रतको मुख्य उद्देश्य परिवारमा सूर्य जस्तै चम्किलोपना, चन्द्रमा जस्तै उज्यालोपना र गौ माता जस्तै शुद्धता सदैव कायम रहोस् भन्ने कामना गर्नु हो । उनले भनिन् “यो ब्रतले श्रीमान्को लामो आयु, परिवारमा सुख र शान्ति ल्याउँछ भन्ने अटल विश्वास रहेको छ ।“
ब्रतको विधि र थारु परिकार :
ब्रत बस्नुअघि महिलाहरूले राति नै ’सरघही’ खाने चलन छ । सरघहीमा थारु परिकार विशेष खानेकुरा बनाएर खाने गरिन्छ । त्यसपछि बिहानबाट निराजल ब्रत सुरु हुन्छ ।
दिनभर ब्रत बसी, साँझपख ब्रतालुहरू पूजाका सामग्री तयार गर्दछन् । यस दिन थारुको विशेष परिकार ’ढिकरी’ (पिठोबाट बनेको रोटी) ले चन्द्रमाको पूजा गर्ने चलन छ ।
आगनीमा गौ देउता र विशेष पुजाः
पूजाको लागि घर–आगन सजाउने र आगनीमा ’चौक’ (जगिया) बनाइन्छ । गाईको गोबरबाट ’गौ देउता’ बनाएर पूजा गर्ने स्थान बनाइन्छ । चौकको बिचमा कलश र गौ देउतालाई ’पिर्का’ (पिढा) को तल राखिन्छ भने चामलको पिठोबाट बनाइएको चन्द्र र सूर्यलाई पिर्काको माथि राखिन्छ । साँझ चन्द्रमा र गौ देउताको पूजा ढिकरी र फूलपातीले पुजा गरिसकेपछि ब्रतालुहरूले ’अर्घ’ दिने चलन छ । अर्घ दिँदा ब्रतालुहरूले चाँदीको सामग्री र चामलको पिठोले बनाइएको चन्द्रमा हातमा लिन्छन् । यस क्रममा सूर्यलाई पिर्का माथि राखिन्छ र खुट्टाको बुढी औँलाले तल दबाइन्छ ।
अर्घ दिने विधिसँगै ब्रत समापनको महत्वपूर्ण प्रक्रिया सुरु हुन्छ । यस समयमा एकै श्वासमा मन्त्र पढ्दै ब्रतालुको कपालको लटामा जल हाल्ने चलन छ । पुजारी महिलाले मन्त्र पढिरहँदा ब्रतालुहरूले चन्द्रमालाई कपालमा मिलाउने र सूर्यलाई बुढी औंलाले मुछ्ने गर्दछन् । मन्त्र पढेर सकिएपछि अर्घ दिने विधि सम्पन्न हुन्छ र ब्रत सकुशल सफल भएको मानिन्छ । ब्रत सफल भएपछि ब्रतालुहरूले आफ्ना अग्रजहरूको आशीर्वाद लिने र अन्त्यमा ’पारन’ (ब्रत तोड्ने) गरी ब्रत सम्पन्न गर्दछन् । थारु संस्कृतिमा यो पर्व विशेषगरी परिवारको सुख, शान्ति र शुद्धता सँग जोडिएको छ, जहाँ महिलाहरूको त्याग र समर्पणलाई उच्च महत्व दिइन्छ ।
विवाहित महिलाको अटल विश्वासः
विवाह भएपछि लगातार श्रीमानको लामो आयु र परिवारको समृद्धिका लागि ब्रत बस्दै आएकी सैनामैनाकी कौशिला थारुका लागि यो पर्व केवल एक धार्मिक कर्म नभएर वैवाहिक जीवनको आधारस्तम्भ नै हो ।
उनी भन्छिन्, “श्रीमान् र सम्पूर्ण परिवारको कल्याणको लागि ब्रत बस्दै आएकी छु । श्रीमान् र परिवारमा कुनै किसिमका कष्ट नहोस् भन्ने मनोकामनाले ब्रत बस्ने गर्छु । ब्रतले अहिलेसम्म राम्रो भएको छ, एउटा श्रीमतीका लागि ब्रत बस्न पाउनु सौभाग्य हो र मलाई मनमा सन्तुष्टि र मनोकामना पुरा भएको महसुस हुन्छ ।”
कौशिलाले यस पर्वमा महिलाहरूले गर्ने विशेष तयारीबारे थप प्रकाश पार्दै भनिन्, “यो पर्व केवल श्रीमानको लागि र परिवारको समृद्धिका लागि हो । दिनभर ब्रत बस्ने र साँझ दुलहीको सबै श्रृङ्गारले सजिएर पूजा गरेर श्रीमानको आशीर्वाद लिन पाउँदा खुशी र मनमा आनन्द मिल्ने गर्छ ।”
उनका अनुसार ब्रतको समापनको क्षण सबैभन्दा आनन्ददायक हुन्छ । उनी भन्छिन्, “साँझ चन्द्रमाको पूजा गर्दा जब मन्त्र पढेर जल हाल्ने विधि सकिन्छ, तब मनमा आनन्द र सन्तोष मिल्छ, लाग्छ अब हाम्रो परिवारमा सुख, शान्ति र समृद्धि छाउनेछ ।”
पर्वको यो आस्था नयाँ पुस्तामा पनि उत्तिकै बलियो देखिन्छ । २५ वर्षिया अविवाहित युवती निरुता थारुले विगत १० वर्षदेखि यो ब्रत बस्दै आएको सुनाइन् । उनको ब्रतको कामना वैवाहिक सुखको प्रारम्भसँग जोडिएको छ ।
निरुता भन्छिन्, “जो कोहीलाई पनि आफूले राम्रो श्रीमान् पाऊँ भन्ने इच्छा हुन्छ । सोही कारण योग्य पति पाउँ भनेर यो ब्रत बस्ने गरेकी छु ।”






