सैनामैना, कञ्चन र गैडहवा गाउँपालिका क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरूको सक्रिय उपस्थितिमा गौतम बुद्ध प्रेस क्लब गठन गरिएको छ। बिहीबार सैनामैना–२ स्थित बाबरी पार्टी प्यालेसमा वरिष्ठ पत्रकार छवि पाण्डेको अध्यक्षतामा सम्पन्न भेलाले ९ सदस्यीय तदर्थ समिति सर्वसम्मतिले चयन गरेको छ। नवगठित क्लबको नेतृत्व साझा टेलिभिजन एच डी का स्टेशन म्यानेजर थानेश्वर घिमिरे (नविन) ले सम्हालेका छन्। समितिको उपाध्यक्षमा रेडियो आवाजका म्यानेजिङ्ग डायरेक्टर कृष्ण भण्डारी, महासचिवमा रेडियो सैनामैनाका स्टेशन म्यानेजर अनिल पहाडी, सचिवमा खबर परिवेशका सम्पादक अनिता चौधरी, कोषाध्यक्षमा रेडियो टाइम्सका म्यानेजिङ्ग डायरेक्टर नरेश चौधरी सर्वसम्मत चयर भएका छन् ।
यस्तै सदस्यहरूमा हाम्रो लुम्बिनी खबरका प्रधानसम्पादक दिनेश घिमिरे, रेडियो कञ्चनका स्टेशन म्यानेजर गोबिन्द आचार्य, उज्यालो पोष्टका सम्पादक रमेश गैरे र रेडियो मलमलाका रितु वौडेल रहेका छन् ।
क्लबको सल्लाहकारहरुमा वरिष्ठ पत्रकार छवि पाण्डे, वरिष्ठ पत्रकार डिआर पन्थी र पत्रकार भुवन जी.सी.लाई सल्लाहकारमा चयन गरिएको छ।
स्थानीयस्तरमा सञ्चार क्षेत्रको विकास, पत्रकारहरूको हकहित र समुदायमुखी पत्रकारिताको प्रवर्द्धन गर्ने उद्देश्यले क्लब गठन गरिएको हो। विभिन्न सञ्चार माध्यमसँग आवद्ध पत्रकारहरूले क्षेत्रीय स्तरमा सहकार्य र एकताबद्ध भएर सूचना संप्रेषणको प्रभावकारिता बढाउने प्रतिवद्धता जनाएका थिए। सहभागी सञ्चारकर्मीहरूले स्थानीय समस्या, विकास, सुशासन र जनताको आवाजलाई निष्पक्ष रूपमा उठाउने र पत्रकारिताको मर्यादा कायम राख्ने प्रतिज्ञा गरेका छन्।
गठनमा वक्ताहरूले पत्रकारहरूबीचको सहकार्य र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन गौतम बुद्ध प्रेस क्लबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनीहरूले क्लबको नाममा समावेश “गौतम बुद्ध” शब्दले शान्ति, सद्भाव र सत्य पत्रकारिताको सन्देश दिने बताएका थिए।
कार्यक्रममा विभिन्न स्थानीय सञ्चार संस्थाका प्रतिनिधिहरू उपस्थिति रहेको थियो। नवनिर्वाचित पदाधिकारीहरूले क्लबलाई सशक्त संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
नवगठित क्लबले आगामी दिनमा स्थानीय तहका समाचारमा पारदर्शिता, सत्यता र जिम्मेवार पत्रकारिता प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।






