सैनामैना सेवा समाज यूएईको सामाजिक कार्य: विद्यालयमा अक्षयकोष र ३ बिरामीलाई सहयोग

Picture of खबर परिबेश

खबर परिबेश

सैनामैना सेवा समाज यूएईले आफ्नो सामाजिक अभियानलाई निरन्तरता दिँदै सैनामैना नगरपालिका-२ मा रहेको कालिका आधारभूत विद्यालयमा रु. १ लाख बराबरको अक्षयकोष स्थापना गरेको छ। विपन्न एवं असहाय विद्यार्थीहरूको शैक्षिक विकासमा राहत पुगोस् भन्ने उद्देश्यले समाजले शुक्रबार एक कार्यक्रमका बीच उक्त कोष स्थापना गरी नगद हस्तान्तरण गरेको हो।

समाजका अध्यक्ष बिष्णु प्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं= २ का वडा अध्यक्ष अम्बर कडेल प्रमुख अतिथि र सैनामैना सेवा समाज यूएईका प्रमुख संरक्षक केशव ढकाल विशेष अतिथि रहनुभएको थियो।
प्रमुख अतिथि वडा अध्यक्ष कडेलले समाजले शिक्षाको सहज पहुँचबाट टाढा रहेका विद्यार्थीहरूको शैक्षिक विकासका लागि अत्यन्त महत्त्वपूर्ण काम गरेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले समाजबाट प्राप्त सहयोगलाई सम्बन्धित विद्यार्थीहरूलाई उचित रूपमा लगानी गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समाजका अध्यक्ष पन्थीले सैनामैना नगरपालिकाभित्रका विद्यालयहरूमा अक्षयकोष स्थापना अभियान अन्तर्गत यो कार्यक्रम गरिएको बताउनुभयो। उहाँले यसअघि नै ५ वटा विद्यालयमा अक्षयकोष स्थापना गरिसकिएको जानकारी दिँदै समाजले नगरका सबै वडामा अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको बताउनुभयो।

संस्थाका प्रमुख संरक्षक केशव ढकालले शिक्षाको पहुँचबाट वञ्चित विद्यार्थीहरूको शैक्षिक विकासमा समाजले काम गरेको बताउँदै यस सहयोगी अभियानले विपन्न विद्यार्थीहरूको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको अवसरमा संस्थाका पदाधिकारीहरूको संयुक्त उपस्थितिमा विद्यालयलाई रु. १ लाख नगद हस्तान्तरण गरिनुका साथै विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरूलाई शैक्षिक सामग्री समेत प्रदान गरिएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सिता घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा केसी, वरिष्ठ पत्रकार डिआर पन्थी लगायतले पनि बोल्नुभएको थियो। कार्यक्रम संस्थाकी प्रथम उपाध्यक्ष सीता भण्डारीको स्वागत मन्तव्य र महासचिव सुरेन्द्र परियारको सञ्चालनमा सम्पन्न भएको थियो।


बीरामीहरूलाई आर्थिक सहयोग 
सैनामैना सेवा समाज यूएईले शैक्षिक अभियानका साथै मानवीय सेवामा पनि जोड दिएको छ। समाजले शुक्रबार नै घरमै पुगेर सैनामैनाको सालझन्डी क्षेत्रका ३ जना बिरामीहरूलाई जनही रु। १० हजारका दरले सहयोग रकम हस्तान्तरण गरेको छ। सहयोग पाउनेहरूमा सैनामैना ११ उत्तरबरौली ओखडा निवासी प्यारालाइसिस पीडित ८३ वर्षीय सेर बहादुर रेग्मि, भवन बनाउने क्रममा छतबाट खसी दुर्घटनामा परि खुट्टा नचल्ने सोहि वडाको भाटाटोल निवासी ५३ बर्षिय वसन्त बहादुर पाण्डे र सैनामैना १० पानबारी निवासी क्यान्सर पिडित ३७ बर्षिय पबित्रा परियारलाइ जनहि नगद १० हजार सहयोग गरिएको हो ।
समाजले आफ्नो अक्षयकोष स्थापना अभियानलाई निरन्तरता दिँदै शनिबार एक कार्यक्रमका बीच सैनामैना ७ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा समेत अक्षयकोष स्थापना गर्ने तयारी गरेको छ। सैनामैना सेवा समाज यूएईले यसअघि पनि नगरपालिकाभित्र विभिन्न सामाजिक काम गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.