गुणात्मक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा केश बहादुर राना चयन भएका छन् । सैनामैना–४ मुर्गियामा अवस्थित गुणात्मक बचत तथा ऋण सहकारी संस्थाको शनिबार सप्पन्न पन्ध्रौं वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनले केश बहादुर रानाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
उपाध्यक्षमा आशा राना, सचिवमा गगन बहादुर पुन, कोषाध्यक्षमा लोकबहादुर थापा श्रीस चयन भएका छन् भने सदस्यहरुमा देवी थापा, ओमबहादुर श्रीस, शान्ति पुन, कमला श्रीस र ईन्द्रा कुमारी थापा रहेका छन् ।
यस्तै अधिवेशनले लेखा सुपरिवेक्षण समिति संयोजकमा धनकुमारी राना, सदस्यहरुमा निर्मल बलाल र रीता तामाङ पुनलाई चयन गरेको छ ।
सहकारी संस्थाका नवनिर्वाचित अध्यक्ष केशबहादुर रानाले कार्यसमितिका तर्फबाट बोल्दै सहकारीलाई पारदर्शी, उत्तरदायी र सदस्यमुखी बनाउँदै संस्थाको आर्थिक स्थायित्व थप मजबुत बनाउने बताए । उनले नयाँ नेतृत्वको पहिलो प्राथमिकता सहकारीको भरोसा, जवाफदेहिता र सेवा–सुविधामा सुधार रहने बताउँदै सदस्यहरूको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।
साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २०६८ सालमा स्थापना भएको सहकारीमा आर्थिक वर्ष २०८१÷०८२ मा कुल खर्च ९८ लाख १२ हजार र कुल आम्दानी १ करोड ३५ लाख ३१ हजार ५ सय ३८ रुपैयाँ रहेको जानकारी गराए । अध्यक्ष पुनले सहकारीमा शेयर सदस्यहरुको संख्या थप बृद्धि गरि पुँजी बढाउन आग्रह गदैै ऋण लगानीलाई समयानुकुल परिमार्जन गरि लगानी गर्न सुझाव दिए ।
सैनामैना नगरपालिकाका प्रशासकीय अधिकृत एवं सहकारी प्रमुख रामकुमार भट्टराईले सहकारी संस्थालाई अगाडि बढाउनका लागि आधारभूत सिद्धान्तहरूको पालना अनिवार्य रहेको बताए । उनले सहकारी संस्थाले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने र केवल बचत तथा ऋणमा मात्र केन्द्रित नभई सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्ने खालका कार्यक्रमहरू ल्याउनुपर्नेमा पनि जोड दिए ।


सहकारीका संस्थापक अध्यक्ष पुजेन्द्र श्रीसले सहकारीले पुँजी बचत गर्नुका साथै सदस्यहरूबीच सहकार्य र एकताबद्धता बढाएको बताए ।
संस्थाका कोषाध्यक्ष लोक बहादुर थापा श्रीस्ले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक इन्द्र कुमारी थापाले लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभा कार्यक्रम संस्थाका उपाध्यक्ष आशा रानाको स्वागत तथा निर्वतमान सचिव केशबहादुर रानाको सञ्चालनमा सप्पन्न भएको थियो ।







