वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यका साथ सैनामैना नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम चौथो चरणको कार्यान्वयन मोडालिटी सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
“स्वदेशमा नै रोजगारी गरौँ वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा स्थानीय पालिकामा कार्यक्रम सञ्चालन गर्ने विषयमा जानकारी गराइएको थियो ।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले वैदेशिक रोजगारमा जानेका लागि थुप्रै सेवा सुविधा भए पनि सही सूचना र सल्लाहको अभावमा व्यक्तिहरूले पेशेवर कहाँ धाउनुपर्ने अवस्थाले समस्या भोगिरहेको बताए । उनले हरेक स्थानीय तहमा सेवा सहजीकरण गर्न स्रोत व्यक्ति खटाइएको भए पनि समाजमा जान्ने बुझ्ने भनिएका व्यक्तिको भर पर्दा नागरिकले सहयोग पाउनुको सट्टा प्रताडना भोगिरहेको उल्लेख गरे ।
नगर प्रमुख शर्माले सैनामैनामा लागु भएको सामी परियोजना हेर्दा सानो देखिए पनि समाजमा धेरै ठुलो प्रभाव पार्ने खालको रहेको बताए । परियोजनाले वैदेशिक रोजगारबाट फर्किएका र समस्या भोगेकाहरूका समस्या कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ । कार्यक्रममार्फत घरपरिवार, समाजमा सचेतना जगाउने, अदक्ष कामदारलाई सीप लिन प्रेरित गर्ने, सीपमूलक तालीम प्रदान गर्ने, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता प्रदान गर्ने लगायतका काम गरिने जानकारी दिए ।
नगरपालिकाका उप–प्रमुख विना रानाले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित एवं शोषणरहित बनाउने उद्देश्यले पालिकामा कार्यक्रम सञ्चालन गरिएको बताइन् ।


सुरक्षित आप्रवासन (सामी) रुपन्देहीका कार्यक्रम अधिकृत जियाउल हकले जिल्ला प्रशासन कार्यालयसँगै रहेको आप्रवासी सूचना तथा स्रोत केन्द्रबाट भइरहेका सेवाहरूको जानकारी दिए । उनका अनुसार केन्द्रबाट वैदेशिक रोजगारी सम्बन्धी सूचना र परामर्श, ठगिएकाहरूलाई निःशुल्क कानुनी सेवाको लागि सहजीकरण, अङ्गभङ्ग भएका वा मृत्यु भएकालाई क्षतिपूर्तिको लागि पहल गरिदिने, शव नेपाल ल्याउन सहजीकरण गर्ने र वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन लगायतको काम भइरहेको छ ।
सुरक्षित आप्रवासन (सामी) रुपन्देहीका कार्यक्रम संयोजक सिता पन्थ भण्डारीले रुपन्देहीका स्थानीय पालिकामा सञ्चालन गरिएको कार्यक्रमले सेवा लिनेको संख्या बढ्दै गएको जानकारी गराइन् । सामी कार्यक्रम अन्तर्गत सैनामैना नगरपालिकाबाट आप्रवासी स्रोत केन्द्रबाट सेवा तथा परामर्श लिनेको संख्या ३ हजार २ सय ४१ रहेको छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा पुरुष १ हजार ५ सय ४५, महिला ९ सय ३५ गरि कुल २ हजार ४ सय ८० र आर्थिक वर्ष २०८२÷०८३ मा पुरुष ४ सय ८२, महिला २ सय ७९ गरि कुल ७ सय ६१ जनाले परामर्श सेवा लिएका छन् ।
केन्द्रबाट निःशुल्क कानुनी सहजीकरण (न्याय पहँुच)मा सैनामैनाबाट आर्थिक वर्ष २०८१÷०८२ मा आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका समस्या १९, समाधान भएका समस्या १२, प्रक्रियामा रहेका समस्या ७ र ७६ लाख ८२ हजार २ सय ८१ जनाले आर्थिक सहयता तथा क्षतिपुर्ति सहजीकरण लिएका छन् भने, आर्थिक वर्ष २०८२÷०८३ मा आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका समस्या ३, समाधान भएका समस्या १, प्रक्रियामा रहेका समस्या २ र ४ लाख ३५ हजार ६ सय ६६ जनाले आर्थिक सहयता तथा क्षतिपुर्ति सहजीकरण लिएका छन् ।
सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र पत्रकारहरूको उपस्थिति रहेको कार्यक्रमको संचालन सैनामैना रोजगार शाखा प्रमुख माया सुवेदीको रहेको थियो ।






