रुपन्देहीको सैनामैनास्थित सुनगाभा पब्लिक स्कूलले आफ्नो स्थापनाको २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न गरेको छ । तीन दिनसम्म चलेको विविध कार्यक्रमको समापन लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेको प्रमुख आतिथ्यतामा भएको हो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री पाण्डेले सुनगाभा स्कूलले तीन दशकको अथक मेहनत र परिश्रमबाट आफ्नै गौरवमय इतिहास निर्माण गरेको बताउनुभयो। पछिल्लो समय बढ्दो विदेश मोहप्रति चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “पहिले सरकारी जागीरलाई प्रतिष्ठा मानिन्थ्यो, तर अहिले अभिभावकले सानैदेखि बच्चालाई युरोप, अमेरिका र अष्ट्रेलियाको सपना देखाउँछन् । राष्ट्रका लागि योगदान दिने कर्मचारीभन्दा अमेरिकाको ग्रिन कार्ड होल्डरको वाहवाही हुने संस्कृति दुखद छ ।“
मन्त्री पाण्डेले युवाको परिभाषा उमेरले मात्र नहुने तर्क गर्नुभयो। “कुनै ७०–८० वर्षको व्यक्तिले आगामी १ सय वर्षको योजना बनाउँछ भने ऊ विचारको युवा हो,“ उहाँले भन्नुभयो, “हामी बुद्धका सन्तान हौँ, हामीमा नकारात्मकता धेरै भयो। देश विकास भएन भनेर गुनासो गर्नुभन्दा नकारात्मक सोच त्यागेर ’लिन होइन, दिन सक्ने’ जिम्मेवार नागरिक बन्नुपर्छ।“ उहाँले खेल र पर्यटनका माध्यमबाट आर्थिक समृद्धि सम्भव रहेको र खेलकुद प्रेमीहरूलाई लुम्बिनी भ्रमण गराएर पर्यटन प्रवद्र्धन गर्न सकिनेमा जोड दिनुभयो ।
नेशनल प्याब्सनका केन्द्रीय महासचिव कृष्णप्रसाद पौडेलले सुनगाभा स्कूललाई पश्चिम क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा चित्रण गर्नुभयो । यद्यपि, सैनामैना नगरपालिकाले कक्षा ११ र १२ दिउँसो मात्र सञ्चालन गर्नुपर्ने नियमप्रति उहाँले कडा आपत्ति जनाउनुभयो । संविधानमा कतै पनि बिहान पढाउन नपाइने व्यवस्था नभएको उल्लेख गर्दै उहाँले यस्ता निर्णयहरू ’जनता विरोधी’ हुने बताउनुभयो ।


सैनामैना नगरपालिकाका पूर्व नगरप्रमुख चित्रबहादुर कार्कीले विद्यालयले आर्जन गरेको जनविश्वासको प्रशंसा गर्नुभयो । उहाँले हालको शिक्षा प्रणाली केवल प्रशासनतर्फ केन्द्रित भएकोले अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन भइरहेको बताउनुभयो । “अबको शिक्षा सीपमूलक र प्राविधिक हुनुपर्छ,“ प्रमुख कार्कीले भन्नुभयो,–“धनी र गरिबका छोराछोरीले पाउने शिक्षाको गुणस्तरमा विभेद हुनुहुँदैन । माध्यमिक तहसम्म सबैलाई समान र गुणस्तरीय शिक्षाको पहुँच पुर्याउनु आजको आवश्यकता हो ।“
विद्यालयको भावी योजना र उपलब्धि विद्यालयका प्राचार्य तिलब के.सी.ले विद्यालयको नतिजा स्थानीय देखि राष्ट्रिय स्तरसम्मै गर्व गर्न लायक रहेको बताउनुभयो । उहाँले विद्यालयलाई थप व्यवस्थित बनाउन छुट्टै प्रि–प्राइमरी ब्लक, खेलकुद मैदान र पार्किङ निर्माणको योजना अगाडि बढिसकेको जानकारी दिनुभयो ।
विद्यालयका प्रमुख शैक्षिक सल्लाहकार कृष्ण पंगेनीले सुनगाभा स्कूलले सैनामैना नगरमै संस्थागत विद्यालयतर्फ उत्कृष्ट पहिचान बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, “विद्यार्थी संख्या, गुणस्तरीय शिक्षा र रोजगारीका हिसाबले यो विद्यालय अब्बल छ। सैनामैनालाई चिनाउन, मानवता प्रवद्र्धन गर्न र सांस्कृतिक विकासमा विद्यालयले ईट्टा थप्ने काम गरेको छ ।“ उहाँले आर्जन गरेको यो ख्यातिलाई निरन्तरता दिन विद्यालयलाई आग्रह समेत गर्नुभयो ।
समारोहमा नेशनल प्याब्सनका केन्द्रीय सदस्य जे.वि. क्षेत्रीले सुनगाभालाई ’भविष्यको जग निर्माण गर्ने’ थलोको रूपमा चित्रण गर्नुभयो । उहाँले भन्नुभयो,–“पहरामा फुल्ने फूलको सुवास जस्तै सुनगाभाको परिचय फैलिएको छ । यसको सफल व्यवस्थापन अन्य विद्यालयका लागि पनि अनुकरणीय छ । विद्यालयले आफ्नै रेकर्ड तोड्दै अझ अगाडि बढोस् भन्ने मेरो शुभकामना छ ।“
सैनामैना नगर शिक्षा समिति सदस्य कमला न्यौपाने (पौडेल), पूर्व अध्यक्ष लक्ष्मी जोशी र पूर्व शेयर सदस्य यज्ञलाल सुवेदीले विद्यालयको शैक्षिक प्रगति प्रशंसनीय रहेको बताउनुभयो। विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवस्थापन र अभिभावकको बलियो सहकार्यकै कारण सुनगाभा ’नमुना स्कूल’ बन्न सफल भएको बताउनुभयो ।
वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ । सुनगाभा पत्रकारिता प्रोत्साहन पुरस्कार पत्रकार अनिता चौधरीलाई नगद रु. ५,५५५, दोसल्ला र सम्मान–पत्र, २८ वर्ष सेवा गरी सेवा निवृत्त कर्मचारी नैना अधिकारीलाई नगद रु. २५,५५५, दोसल्ला र सम्मान–पत्रले सम्मान गरिएको छ ।
यस्तै पूर्व अध्यक्ष प्रेम सापकोटा, एमबीबीएसमा नाम निकाल्न सफल शुलभ क्षेत्री, दीर्घ सेवा शिक्षक सम्मान विना घिमिरे र ’स्टुडेन्ट अफ द इयर’ रोजिन पोख्रेललाई दोसल्ला र सम्मान–पत्रले सम्मान गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रशासन सह–प्राचार्य केदार कार्कीको स्वागत र शिक्षा सह–प्राचार्य कमल पौडेलले सञ्चालन गर्नुभएको थियो । सो अवसरमा विद्यार्थीहरूले विज्ञान तथा प्रविधि प्रदर्शनी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सावको अवसरमा विद्यालयले सुनगाभा प्रतिविम्ब पनि विमोचन गरेको छ ।






