रुपन्देहीको सैनामैना नगरपालिकामा नगरपालिका स्तरीय कृत्रिम विपद् अभ्यास कार्यक्रम बिहीबार सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी अन्तर्गत सैनामैना नगरपालिकामा सञ्चालित ९सुपर परियोजना शहरी पूर्व तयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्द्धन परियोजना अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो ।
सैनामैना स्थित मुर्गियाको पर्रोहा माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न अभ्यासमा भूकम्प र आगलागी जस्ता सम्भावित विपद् अवस्थाका बेला कसरी सुरक्षित रहने, उद्धार तथा राहत कार्य कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने भन्ने विषयमा व्यवहारिक अभ्यास गराइएको थियो ।
कार्यक्रमका क्रममा विद्यार्थीहरूले भूकम्प तथा आगलागी हुँदा अपनाउनुपर्ने सावधानी, घाइतेको उद्धार विधि, प्राथमिक उपचार, सुरक्षित स्थानमा सार्ने प्रक्रिया तथा सम्बन्धित सरोकारवाला निकायहरूलाई सूचना दिने तरिकाबारे नमुना प्रदर्शन प्रस्तुत गरेका थिए। अभ्यासले विपद्का बेला देखिन सक्ने वास्तविक परिस्थितिको झल्को दिएको थियो ।
कृत्रिम विपद् अभ्यासमा सैनामैना नगरपालिकाको दमकल, एम्बुलेन्स तथा उद्धार टोलीको सक्रिय सहभागिता रहेको थियो । दमकलद्वारा आगलागी नियन्त्रण र एम्बुलेन्समार्फत घाइतेको उद्धार अभ्यास गरी विपद् अवस्थामा नगरपालिकाको तयारी क्षमता प्रदर्शन गरिएको थियो ।


अभ्यास पश्चात् आयोजित समीक्षा सत्रमा नगर विपद् व्यवस्थापन समितिले अभ्यासका क्रममा देखिएका कमजोरीहरू सुधार गर्दै आगामी दिनमा अझ अनुशासित, जिम्मेवार र समन्वयात्मक ढंगले विपद् व्यवस्थापनमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा सुपर परियोजनाका अधिकृत कृष्ण मल्ल तथा योजना मूल्यांकन तथा प्रतिवेदन अधिकृत डिल्लीराज जोशीलगायतले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सैनामैना नगरपालिकाका नगर प्रमुख फणीन्द्र शर्मा, उपप्रमुख विना राना, नेपाल रेडक्रस सोसाइटीमा आबद्ध विभिन्न पदाधिकारी, नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सैनामैनामा रहेका विभिन्न विद्यालयका विद्यार्थी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।





