सैनामैनाका १ सय ६२ अव्यवस्थित बसोबासीले पाए लालपुर्जा

Picture of suman poudel

suman poudel

सैनामैना–१ मा रहेका १ सय ६२ जना अव्यवस्थित बसोबासीहरूलाई नगरपालिकाद्वारा बुधबार वडा कार्यालय परिसरमा आयोजित एक समारोहका बिच लालपुर्जा वितरण गरिएको हो।

जग्गाधनी प्रमाणपुर्जा प्रदान गर्दै सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले प्राप्त गरेको जग्गा अधिकारले अब सैनामैनाका सबै नागरिकहरू जग्गाको मालिक हुने संकेत दिएको बताउनुभयो।

“हामी निर्वाचित भएपछि अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाएर जग्गाको मालिक बनाउनुपर्छ भन्ने अठोटका साथ जग्गा नापीको काममा लागेका थियौँ। आजको कार्यक्रम त्यसैको सफलता हो,“ नगर प्रमुख शर्माले भन्नुभयो। उहाँले पूर्व जनप्रतिनिधिहरूले पहिले नै सम्पन्न गरेको अभिलेखीकरणको कामलाई आधार बनाएर नापी प्रक्रिया अगाडि बढाएको र सीमा विवाद लगायतका धेरै कठिनाइ र समस्याहरू समाधान गरेर यो काम सम्पन्न गरेको जानकारी दिनुभयो। मेयर शर्माले सबै भूमिहीन नागरिकलाई जग्गाको मालिक बनाउने प्रतिबद्धता व्यक्त गर्दै बाँकी रहेका अव्यवस्थित बसोबासीलाई पनि छिट्टै लालपूर्जा दिने गरी काम भइरहेको जानकारी गराउनुभयो।

सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले आफ्नो अघिल्लो कार्यकालमा सुरु भएको भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र दिलाउने अभियानले अहिले आएर पूर्णता पाएकोमा खुसी व्यक्त गर्नुभयो। “अघिल्लो कार्यकालमा सुरु भएको एउटा महत्त्वपूर्ण काम अहिले आएर सफल अवतरण हुँदा मलाई निकै सन्तुष्टि मिलेको छ,“ उहाँले भन्नुभयो– “भूमिहीन दलित, सुकुम्बासी र अन्य व्यक्तिलाई उनीहरूको आफ्नो जग्गाको अधिकार दिलाउन पाउनु ठूलो उपलब्धि हो। यसले उनीहरूको जीवनमा सुरक्षा र स्थायित्व ल्याउनेछ।“


उहाँले बाँकी रहेका वडाहरूमा पनि काम तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिँदै सम्पूर्ण सैनामैना नगरवासीले चाँडै नै जग्गाधनी प्रमाणपत्र प्राप्त गर्ने विश्वास दिलाउनुभयो।

सैनामैना–१ का वडा अध्यक्ष भुवनबहादुर क्षेत्रीले लालपुर्जा वितरणको सफलतालाई सामूहिक प्रयासको जित भएको बताउनुभयो।  “जनप्रतिनिधिले रातदिन खटेर मेहनत गर्नु सामान्य कुरा हो, तर जब आम वडावासीले पूर्ण रूपमा सहजीकरण र सहयोग गर्नुहुन्छ, तब यस्तो ऐतिहासिक नतिजा सम्भव हुन्छ,“ उहाँले भन्नुभयो। उहाँले यो अभियानलाई सफल बनाउन भूमिका खेल्ने आम वडावासी, जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारीहरू र कर्मचारीप्रति आभार व्यक्त गर्दै बाँकी रहेका जग्गाधनी प्रमाणपत्रहरू पनि छिटै वितरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले जग्गाको स्वामित्व प्राप्त भएसँगै अब परिवारहरूले ढुक्काका साथ आफ्नो सम्पत्तिको प्रयोग गर्न आग्रह गर्नुभयो।

रुपन्देही जिल्ला नापी अधिकृत मणि प्रसाद रेग्मीले लालपुर्जा वितरणको महत्वपूर्ण कार्यमा देखिएको समन्वय र सामूहिक प्रयासको उच्च प्रशंसा गर्नुभयो। प्राविधिक रूपमा चुनौतीपूर्ण रहेको जग्गा नापजाँच र प्रमाणित गर्ने कार्य सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै, जग्गाधनीहरूलाई आफ्नो सम्पत्तिको सही सदुपयोगका लागि शुभकामना दिनुभयो।

सैनामैना नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी एवं अव्यवस्थित जग्गा व्यवस्थापन सहजकर्ता मिलन भुर्तेलले नगरपालिकाको ११ वटा वडामा नापी कार्य सम्पन्न भइसकेको र समग्रमा करिब ७५% काम पूरा भएको जानकारी दिनुभयो। जसअनुसार वडा नं १ मा १२ वटा ब्लकमा विभाजन गरी ४ हजार ७ सय ४० घरपरिवारको जग्गा नापजाँच गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.