सैनामैनाकी पेमा खनाल फूलखेतीमा रमाउँदै

Picture of अनिता चाैधरी

अनिता चाैधरी

रुपन्देहीको सैनामैना नगरपालिका–१ पर्रोहाकी पेमा खनालले विगत ७ वर्षदेखि व्यावसायिक फूलखेती गरेर राम्रो आम्दानी गर्दै आएकी छन् । सामान्य गृहिणीबाट कृषि तालिम लिएर फूलखेतीमा लागेकी खनालले अहिले ३ कठ्ठा जग्गामा लगाइएको फूलबाट धान खेतीको तुलनामा राम्रो फाइदा लिइरहेकी छिन् ।
सुरुवातमा सैनामैना नगरपालिका र सेतो गुराँसको सहयोगमा २०७६ सालदेखि २ कठ्ठा जग्गा भाडामा लिएर दुई जना मिलेर खेती सुरु गरेकी खनालले अहिले एक्लै निरन्तरता दिँदै आएकी छन् । उनले तालिमबाट सुरुवाती चरणमा फूल रोप्ने, गोडमेल गर्ने तरिका सिकेर खेतीको सुरुवात गरेकी थिइन् । फूलका बिरुवा, मल र किटनाशक औषधी नगरपालिकाबाट अनुदानस्वरूप पाएको उनी बताउँछिन् ।
खनालले असार र साउन महिनाबाहेक सदाबहार सयपत्री फूल फुलाउने गरेकी छन् । तिहार नजिकिएसँगै उनको खेतमा फूलहरू तयारी अवस्थामा छन् । पहिला धान खेती गरिने खेतमा फूल खेती गर्न थालेपछि आम्दानी राम्रो भएको उनले बताइन् ।
उनका अनुसार फूल रोपेको ७० देखि ७२ दिनमा बिक्रीका लागि तयार हुन्छ । उनले फूलको एउटा माला थोक (होलसेल) मा रु. ८० र खुद्रा (फुटकर) मा रु. १ सय मा बेच्ने गरेकी छन् । त्यसैगरी, एक किलो फूल थोकमा रु. ३ सय र खुद्रामा रु. ५ सय सम्ममा बिक्री हुने गरेको छ ।
गत वर्ष दशैं–तिहारको सिजनमा मात्र रु. १ लाखको व्यापार गरेकी खनालले यस वर्ष उत्पादनमा केही कमी आएकाले अनुमानित रु. ७० देखि रु. ८० हजारसम्म आम्दानी हुने अपेक्षा गरेकी छिन् । उनले टेनिसबल, कर्मा र कलकत्ते लोकल जात गरि तीन किसिमका सयपत्री फूल लगाउँदै आएकी छन् ।
खनालको फूल स्थानीय क्षेत्रमा धेरै खपत हुने गरेको छ । यसका साथै, छिमेकी जिल्ला कपिलवस्तु, अर्घाखाँची, पाल्पा लगायतका ठाउँबाट माग आएमा पठाउने गरेकी छन् भने नेपालगञ्ज र काठमाडौंमा समेत फूलहरू ’अर्डर’ भएर जाने गरेको उनले सुनाइन् ।
उनले बाहिरबाट आयात गरिएका मालाहरूमा विषादी प्रयोग हुने भएकाले छोटो समयमै उत्पादन दिने र त्यसले स्वास्थ्यमा असर गर्नसक्ने भन्दै स्थानीय क्षेत्रमै उत्पादित अर्गानिक फूलको प्रयोग गर्न सबैलाई आग्रह गरेकी छन् ।
पेमा खनालका लागि फूल खेती धान खेतीभन्दा बढी लाभदायक बनेको छ । “धान खेतीले वर्षमा रु. २ लाख बराबरको आम्दानी दिँदैन, तर फूल खेतीबाट जग्गा र लगानी अनुसार आम्दानी राम्रो भएकाले निरन्तरता दिएकी छु,“ उनले भनिन् । वर्षभरिमा उनले रु. २ लाख सम्म आम्दानी गर्ने गरेको बताइन् ।
यद्यपि, गर्मी याममा विवाहको सिजनमा खपत भए पनि कुनै महिना कम माग हुँदा उत्पादित फूल कुहिएर जाने र त्यसले घाटा हुने गरेको समस्या उनीसँग छ । उत्पादित फूललाई चिसो बनाएर राख्ने ’कोल्ड स्टोर’ नहुँदा घाटा हुने गरेको उनको भनाइ छ । “नगरपालिकाले निर्माण गरेको कोल्ड स्टोर सञ्चालनमा आउन सके उत्पादन बढाएर खेती गर्ने इच्छा छ,“ उनले भनिन् ।
फूल खेतीमा उनलाई जाडो मौसममा ढुसी र झुसिले किराको समस्या हुने गर्दछ भने गर्मी याममा सिँचाइको समस्याले सताउने गरेको छ । उत्पादनलाई अझ राम्रो र बढाउनका लागि उनलाई प्राविधिक सीपको खाँचो महसुस भएको छ । “कुन समयमा, कसरी, कति मात्रामा उपयुक्त कीटनाशक औषधी राख्ने भन्ने बारेमा थप तालिम पाए उत्पादन राम्रो हुने थियो,“ उनले भनिन् ।
७ वर्षअघि सिटिइभिटीबाट ३ महिने कृषि तालिम लिएर कृषि पेशामा लाग्ने ऊर्जा पाएकी खनालले ’बोलबम कृषि फर्म’ दर्ता गरेर तरकारीको बिरुवा उत्पादन र बिक्रीवितरण गर्दै आएकी छन् । “फुर्सदको समयमा दिनभरि व्यस्त पनि हुने र पैसा पनि हुने गरेको छ, त्यसैले खुशी छु,“ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.