सैनामैना सांस्कृतिक समूहले देउसी भैलो कार्यक्रमबाट सङ्कलन भएको रकमबाट विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।
समूहले सैनामैना-१ बनकट्टा स्थित दुर्गा भवानी माध्यमिक विद्यालयमा अध्ययनरत २० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेको हो।
समूहका अध्यक्ष प्रकाश चौधरीले सहयोग हस्तान्तरण गर्दै यो हाम्रो सानो प्रयास विपन्नताका कारण पढाइमा बाधा खेपिरहेका बालबालिकालाई केही हदसम्म राहत हुने विश्वास व्यक्त गरे ।
शैक्षिक सामग्रीले विद्यार्थीहरूमा थप उत्साह र ऊर्जा मिल्दै मिहिनेतका साथ अध्ययन गर्न प्रेरणा मिलोस् भनेर विद्यार्थीलाई उज्ज्वल शैक्षिक भविष्यका शुभकामना दिए।
विद्यालयका प्राचार्य तुलसीप्रसाद शर्माले समुहले गरेको सहयोगको प्रसंसा गर्दै भने हाम्रो विद्यालयमा अध्ययन गर्ने अधिकांश नानी-बाबुहरू विपन्न परिवारका हुनुहुन्छ। गरिबीका कारण दैनिक शिक्षण सिकाइमा समेत समस्या पुगिरहेको बेला सैनामैना सांस्कृतिक समूहको यो सहयोगले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्नेछ।
उनले यस्तो परोपकारी कार्यलाई आगामी दिनहरूमा पनि निरन्तरता दिन समूहलाई आग्रह गर्दै धन्यवाद ज्ञापन गरे।
सैनामैना सांस्कृतिक समूहका महासचिव हेविन्द्र छन्त्याल, सचिव बिनोद विष्ट र कोषाध्यक्ष विनय लम्साल सहित अन्य सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन कमल खड्काले गरेका थिए।






