नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशको आयोजनामा सैनामैना नगरपालिकामा दुई दिने तेश्रो प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी हुने भएको छ । मानवीय सेवामा युवा पुस्तालाई समर्पित गर्ने र विपद् व्यवस्थापनमा स्थानीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ गोष्ठी आयोजना गरिएको हो ।
गोष्ठीको तयारीबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका सभापति लालप्रसाद पंगेनीले गोष्ठीको मुख्य लक्ष्य मानवीय सेवामा रेडक्रसको महत्व बुझाउनु र जुनियर तथा युवा रेडक्रसका विद्यार्थीहरूलाई सिकाई, ज्ञान र सामाजिक सेवामा समर्पित बनाउनु रहेको बताए ।
अध्यक्ष पंगेनीका अनुसार गोष्ठीमा रेडक्रसका हालसम्मका गतिविधिहरू, आगामी योजना र कार्यान्वयन तहबारे गहिरो छलफल हुनेछ र त्यसको निष्कर्षबाट कार्यक्रम तर्जुमा गरिनेछ ।
गोष्ठीमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट युवा रेडक्रस सर्कलका विद्यार्थी तथा शिक्षक नायकहरू गरी करिब १ सय जनाको सहभागिता रहनेछ । सुनगाभा पब्लिक इङलिश सेकेण्डरी स्कुलमा हुने गोष्ठी कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
गोष्ठीको पूर्वसन्ध्यामा बिहीबार साँझ साहित्यिक कार्यक्रम आयोजना गरिनेछ भने शुक्रबार बिहान उद्घाटनको अवसरमा प्रभातफेरी समेत गरिनेछ । २ दिन सम्म विभिन्न चरणमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुने गोष्ठीको समापन शनिबार सैनामैना घोषणापत्र’ जारी गर्दै गरिनेछ ।
पत्रकार सम्मेलनमा सुनगाभा पब्लिक इङलिश सेकेण्डरी स्कुलका प्रिन्सिपल तिलब केसीले गोष्ठीबाट युवा विद्यार्थीहरूले रेडक्रसको भूमिका र सामाजिक उत्तरदायित्वबारे ठूलो लाभ लिने बताए ।
शिक्षक महासंघ सैनामैना अध्यक्ष हरि थापाले शिक्षक महासंघको पूर्ण सहयोग रहने र युवाहरूको संलग्नताले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास विश्वास व्यक्त गरे ।
प्याब्सन जिल्ला उपसभापति भोजराज पौडेलल शैक्षिक संस्थामा रेडक्रसका सिद्धान्त र गतिविधिहरूलाई सशक्त बनाउन प्याब्सनले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गौतम बुद्ध प्रेस क्लबका अध्यक्ष नविन घिमिरेले सञ्चार माध्यममार्फत कार्यक्रमको व्यापक प्रचार–प्रसार गर्न प्रेस क्लब तत्पर रहने र गोष्ठीले सैनामैनाको पहिचान राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग पुर्याउने आशा व्यक्त गरे ।


पत्रकार सम्मेलन जिल्ला महामन्त्री दिनेश पन्थीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।






