रामनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले दिपेश्वर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सैनामैना–४ रामनगरस्थित सहकारीको प्रांगणमा सम्पन्न सभाले आगामी कार्यकालका लागि पौडेलको नेतृत्वमा नयाँ नेतृत्व चुनेको हो ।
निर्वाचन समितिका संयोजक मीन प्रसाद पौडेलका अनुसार समितिको उपाध्यक्षमा हरि प्रसाद शर्मा, सचिवमा भेषराज शर्मा, र कोषाध्यक्षमा गिरा थापा सर्वसम्मत चयन भएका छन् । सदस्यहरूमा कमल ज्ञवाली, पिताम्बर ज्ञवाली, रचना देवकोटा, र कल्पना घिमिरे रहेका छन् । लेखा समिति संयोजकमा लाल बहादुर रावल र सदस्यहरूमा पारिश्वर श्रेष्ठ र मुकुन्दराज बेल्बासे रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिले शनिबार नै पद तथा गोपनियताको शपथ लिएको छ । शपथपश्चात् अध्यक्ष दिपेश्वर पौडेलले संस्थाले अगाडि सारेका योजनाहरूलाई पूरा गर्दै उच्च र रचनात्मक कार्यहरू मार्फत संस्थालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
साधारणसभालाई सम्बोधन गर्दै संस्थाका पूर्व अध्यक्ष प्रेम बहादुर खड्काले “एकका लागि सबै र सबैका लागि एक” अनुसार २०३३ सालमा स्थापित संस्थाले समाजमा छरिएको पूँजीलाई एकीकृत गरी आर्थिक, कृषि र सामाजिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताए । हाल सहकारीमा ८ सय ९ शेयर सदस्य रहेका छन् । उनले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडबाट मल (युरिया, डि.ए.पि.) र बिउ बिजन खरिद गरी सुपथ मूल्यमा किसानलाई बिक्री वितरण गर्दै आएको जानकारी दिए ।


कार्यक्रमका प्रमुख अतिथि तथा सहकारीका सल्लाहकार फणेन्द्र प्रसाद शर्माले रामनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भूमिकाको प्रशंसा गर्दै नेपालको तीन खम्बे अर्थनीतिमा सहकारीको स्थान अत्यन्तै महत्वपूर्ण रहेको बताए । शर्माले यस क्षेत्रकै पुरानो सहकारी संस्था रामनगरले शेयर सदस्यहरूलाई विश्वसिलो वित्तीय कारोबार प्रदान गरी उनीहरूको आर्थिक सबलतामा निर्णायक भूमिका खेलेको उल्लेख गरे । उनले थपे–“सहकारी संस्था र स्थानीय नगरपालिका मिलेर गरिने रचनात्मक कार्यले सैनामैनाको समृद्धि र विकासका लागि कोशेढुंगा साबित हुनेछन् । बचत तथा पूँजी संकलन र लगानीका अतिरिक्त किसानलाई मल, बीउ, र खाद्यन्न उपभोग्य वस्तुहरू प्रदान गरेर संस्थाले महत्वपूर्ण सेवा प्रवाह गरिरहेको छ ।“
यद्यपि, उनले पछिल्लो समय मलखादको अभाव देखिएकोमा चिन्ता व्यक्त गरे । सहकारीले खरिद गरेको मल अन्य पालिकाका किसानलाई समेत बिक्रि वितरण गर्दा यस क्षेत्रका किसानहरूलाई समस्या परेको औंल्याउँदै उनले संस्थाले वितरण प्रणालीमाथि विशेष ध्यान दिनुपर्ने र स्थानीय किसानको आवश्यकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
अर्का सल्लाहकार चित्र बहादुर कार्कीले स्थापनाकालदेखि नै सहकारीले यस क्षेत्रका कृषकहरूको लागि मलखाद, बीउ वितरण र आवश्यक खाद्यान्न प्रदान गरी सेवा प्रवाह गरेको स्मरण गरे। उनले भने, “दैनिक उपभोग्य सामग्रीहरू आफ्नै सहकारीबाट सुपथ मूल्यमा खरिद–बिक्री गर्ने वातावरण बन्न सक्यो भने यसले सदस्यहरूलाई ठूलो राहत दिनेछ।“ तीनै तहका सरकारका नीतिहरू अनुसार सहकार्य गरेर सहकारीलाई अगाडि बढाउन सके मात्र सहकारीको उद्देश्य अर्थपूर्ण, सार्थक र सेवामूलक हुने बताए। कार्कीले सहकारीले केवल बचत र ऋणको कारोबार मात्र नभएर सदस्यहरूको उद्यमशीलता र आत्मनिर्भरता बढाउनका लागि किसान लक्षित विशिष्ट सेवाहरू प्रदान गर्न केन्द्रित हुनुपर्नेमा विशेष जोड दिए।
सल्लाहकार चित्र बहादुर के.सी.ले सहकारीले सानो पूँजीलाई एकीकृत गरी उत्पादनशील क्षेत्रमा लगानी गरेर बचतसँगै स्वरोजगार सिर्जनामा भूमिका खेलेको बताए ।
शेयर सदस्य शोभाखर भण्डारी र मन्जु ज्ञवालीले संस्थाले हालसम्म प्रदान गर्दै आएको सेवा उन्मुख कार्यहरूको प्रशंसा गरे। उनीहरूले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै आगामी दिनमा रामनगर सहकारी संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र सदस्य(मैत्री बनाउँदै लैजान आग्रह गरे।
साधारणसभामा कोषाध्यक्ष विष्णु प्रसाद पाण्डेले कोषाध्यक्षको प्रतिवेदन र लेखा समिति संयोजक कमलराज वेल्वासेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव शिव भुषालले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका सदस्य गुरु प्रसाद पराजुलीले दिएका थिए ।
प्रस्तुत प्रतिवेदनमा आर्थिक वर्ष २०८१÷८२ को कुल आम्दानी १ करोड ५६ लाख ६३ हजार १ सय ४ र खर्च १ करोड १५ लाख १ हजार ७ सय ४६ रुपैँया रहेको छ ।
विद्यार्थी सम्मान
साधारण सभाको अवसरमा विभिन्न विधामा उत्कृष्टहरूलाई सम्मान गरिएको थियो । एमबिबिएसमा पूर्ण छात्रवृत्ति ल्याउन सफल खुसी शर्मा गौतम, कक्षा १२ मा उत्कृष्ट अंकका साथ उर्तिण सुरज पन्थ, कृष्ण लक्ष्मी शर्मा, सिर्जना पौडेललाई सम्मान–पत्र प्रदान गरिएको थियो ।
कर्मचारी सम्मान
सहकारीका व्यवस्थापक प्रमुख प्रकाश भण्डारी, कार्यालय सहायक रविन गौतम, बजार प्रतिनिधि सिता थापा घिमिरे, कार्यलय सहयोगी दिल चन्द्र पाण्डेलाई सम्मान–पत्रले सम्मान गरिएको थियो ।
जेष्ठ शेयर सदस्य सम्मान
साधारण सभाको अवसरमा जेष्ठ शेयर सदस्य सम्मानबाट कलावती खत्री र खगराज उपाध्यायलाई सम्मान–पत्रले सम्मान गरिएको हो ।






