जनकल्याण माविको ४३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

Picture of अनिता चाैधरी

अनिता चाैधरी

सैनामैना–६ मा अवस्थित जनकल्याण माध्यमिक विद्यालयको ४३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको छ । ग्रामीण क्षेत्रमा रहेर पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयले आफ्नो ४३ वर्षको यात्रा पूरा गरेको अवसरमा विविध कार्यक्रमको आयोजना गरि बुधबार वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले जनकल्याणले सैनामैनाको शैक्षिक विकासमा पु¥याएको योगदानको प्रशंसा गरे । विद्यालयले बालबालिकालाई केवल पाठ्यपुस्तकको ज्ञान मात्र नभई संस्कार, परम्परा, कृषिकर्म र प्राविधिक सीपमा आधारित शिक्षा दिएको बताए । उनले भने–, “ग्रामीण क्षेत्रमा रहेर पनि उत्कृष्ट नतिजा ल्याई सामुदायिक विद्यालयहरूमध्ये अब्बल बन्नु र विद्यार्थीलाई नैतिकवान बनाउनु यो विद्यालयको विशेषता हो, जुन अन्यत्र विरलै पाइन्छ ।“
विद्यालयको भौतिक अवस्था र सुधारका सम्बन्धमा बोल्दै शर्माले अबका दिनमा फर्निचर, साना बालबालिकाका लागि ’किड्स जोन’ र अन्य आवश्यक पूर्वाधारका लागि विद्यालय व्यवस्थापन र प्रधानाध्यापकले चिन्ता लिनु नपर्ने आश्वासन दिए । नगरपालिकाले दुरदराजका गरिब, दलित, विपन्न र सीमान्तकृत वर्गका बालबालिकाको शिक्षामा विशेष ध्यान दिइरहेको उनको भनाइ थियो ।
शिक्षा क्षेत्रमा समाजवादी अर्थनीतिको चर्चा गर्दै उनले भने–“पैसा नभएकै कारण कुनै पनि बच्चा शिक्षाबाट वञ्चित हुनुपर्दैन । हुनेले शुल्क तिर्ने र नहुनेले निःशुल्क शिक्षा पाउने वातावरण नगरपालिकाले मिलाउनेछ । पैँसाकै कारण अभिभावकहरूलाई आफ्ना नानीबाबुहरू घरमा नराखी विद्यालय पठाउन आग्रह गर्दछु, उनीहरूको पढाइको जिम्मेवारी नगरपालिकाले लिनेछ ।“
मेयर शर्माले सैनामैनाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले नैतिक संस्कार सिकेको दाबी गरे । उनले सैनामैना बाहिरका विद्यालयमा पढ्ने र यहाँ पढ्ने विद्यार्थीको अनुशासन तुलना गर्न लायक रहेको बताए । “मिलेर खाने, ठुलालाई सम्मान गर्ने र कमजोर वर्गलाई साथ दिने संस्कार नै यहाँको पुँजी हो,“ उनले भने ।
सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम शर्माले सैनामैनाको सामुदायिक विद्यालयहरूको नतिजा र शैक्षिक गतिविधि निजी भन्दा पनि अब्बल रहेको बताए । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरूको शैक्षिक उपलब्धिको प्रशंसा गर्दै प्रमुख शर्माले विद्यालयमा राम्रो शिक्षाको गुणस्तरता बढाउन अभिभावक, शिक्षक सरोकारवाला निकायहरु महत्वपूर्ण भुमिका हुने बताए ।
सैनामैना वडा नं.–८ का वडा अध्यक्ष एवं विद्यालयका सल्लाहकार बुद्धिराम चौधरीले वडाको तर्फबाट विद्यालयको विकासका लागि सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, विद्यालयका सल्लाहकार गोविन्द खनाल र पूर्व प्रधानाध्यापक कृष्ण पंगेनी लगायतले बोल्दै बालबालिकालाई गुणस्तरीय शिक्षा सँगै व्यवहारिक ज्ञान समेत दिन उत्तिकै आवश्यक रहेको बताए । शिक्षक, अभिभावक र विद्यार्थी तीनै पक्ष मिलेर मात्रै विद्यालयको शिक्षामा गुणस्तर वृद्धि गर्न सकिनेमा जोड दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद पोख्रेलले विद्यालयको चौतर्फी विकासका लागि आफूहरू निरन्तर लागि परेको बताए ।
विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद पोख्रेलले विद्यालयको शैक्षिक, आर्थिक तथा भौतिक प्रगति समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए भने उत्कृष्ट विद्यार्थी र सहयोगीहरूलाई पुरस्कृत समेत गरिएको थियो भने कार्यक्रमको संचालन शिक्षक दुर्गा भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.