सैनामैनामा विपद् जोखिम न्यूनीकरण तथा पूर्व सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण सम्पन्न

Picture of अनिता चाैधरी

अनिता चाैधरी

सैनामैना नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा पूर्व सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी, शहरी पूर्व तयारी तथा आपतकालीन प्रतिकार्य प्रवद्र्धन (सुपर) परियोजनाको सहयोगमा नगरपालिकाका वडा सचिव, पत्रकार तथा नगर प्रहरीका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले विपद् जुनसुकै बेला आउन सक्ने भएकाले यसको पूर्व तयारीमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो–“सैनामैनालाई विपद् उत्थानशील नगर बनाउन हामीले नीतिगत र व्यवहारिक दुवै पक्षमा काम गरिरहेका छौँ । सूचना प्रणालीलाई व्यवस्थित गर्दै जनशक्तिलाई दक्ष बनाउन यस्ता अभिमुखीकरणले महत्वपूर्ण भूमिका खेल्छन् । नगरले विपद् प्रतिकार्यका लागि आवश्यक योजना र बजेटलाई प्राथमिकतामा राखेको छ ।“
सुपर परियोजनाका कार्यक्रम अधिकृत तथा प्रशिक्षक डिल्लीराज जोशीले विपद् प्रभावित समुदायहरूको लागि ’उद्धार तथा राहत मापदण्ड २०८१’ को पहिलो मस्यौदाबारे जानकारी गराउनुभयो । उहाँले विकास र विपद् जोखिमलाई सँगसँगै बुझ्नुपर्ने भन्दै मूलप्रवाहीकरणको माध्यमबाट मात्र अपेक्षित परिवर्तन सम्भव हुने बताउनुभयो । जोशीले सैनामैनामा काम गर्दा आवश्यक पर्ने नीतिगत संरचना र विपद्का विविध आयामबारे समेत प्रकाश पार्नुभयो ।

कार्यक्रमका सहजकर्ता कृष्ण मल्लले जलवायु परिवर्तनको परिचय दिँदै हरितगृह ग्यास उत्सर्जन कटौती गरेर यसको न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानवीय क्रियाकलापबाट उत्सर्जन हुने कार्बनको मात्रालाई ’कार्बन पदचाप’ भनिने स्पष्ट पार्दै बहुप्रकोपीय जोखिमका बेला पूर्व सूचना प्रणालीको महत्त्वबारे जानकारी दिनुभयो । सैनामैना नगर अस्पतालमा जडान गरिएको विपत पूर्वमान साइरन र यसको प्रभावकारिताबारे पनि कार्यक्रममा छलफल भएको थियो ।

सशस्त्र प्रहरी बल बुटवलका सन्तोष खरेलले विपद् व्यवस्थापनको चक्र र यसमा सशस्त्र प्रहरी बलको भुमिकाबारे प्रस्तुति दिनुभयो। उहाँले नेपालमा विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरीको  क्षमता र उद्धारका क्रममा अपनाइने प्राविधिक पक्षहरूका बारेमा सहभागीहरूलाई प्रष्ट पार्नुभयो ।


अभिमुखीकरणमा सहभागीहरूले विपद्का बेला सूचनाको सही प्रवाह र तत्काल उद्धारका लागि वडा तहदेखि नै संयन्त्र बलियो बनाउनुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.