सुनगाभा सिङ्गिङ आइडलको उपाधि सकार शाहीलाई

Picture of अनिता चाैधरी

अनिता चाैधरी

सुनगाभा सिङ्गिङ आइडल द भ्वाइस अफ रुपन्देहीको उपाधि न्यू होराइजन स्कूलका सकार शाहीले जित्न सफल भएका छन् । रुपन्देहीको शैक्षिक क्षेत्रमा सक्रिय सुनगाभा पब्लिक सेकेन्डरी स्कूलको २९ औं वार्षिकोत्सवको अवसरमा सुनगाभा भूपू विद्यार्थी मञ्चको आयोजनामा सम्पन्न  सिङ्गिङ आइडलमा जिल्लाभरका विद्यालय स्तरीय प्रतिभाहरूबीच भएको कडा प्रतिस्पर्धामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै शाहीले उपाधि चुमेका हुन् । उनले नगद २५ हजार, ट्रफी, प्रमाण–पत्र र आकर्षक पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा ग्रीन प्लान्ट स्कूलका प्रवेश सुनार फस्ट रनरअप, ड्रिम भिजन स्कूलकी कलश न्यौपाने सेकेन्ड रनरअप र न्यू लुम्बिनी स्कूलकी जानकी पौडेल थर्ड रनरअप घोषित भए। त्यसैगरी, कालिका मानवज्ञान माध्यमिक विद्यालयकी सुजना भट्टराईले भ्युअर च्वाइस अवार्ड प्राप्त गरिन् ।

विजेताहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै चर्चित लेजेन्डरी गायिका देविका बन्दनाले विद्यार्थीहरूलाई आफ्नो मौलिकता (ओरिजिनलिटी) कायम राख्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो-“पहिले यस्ता मञ्चहरू सहज उपलब्ध थिएनन्, अहिलेका विद्यार्थीहरू भाग्यमानी छन्। अरूको कपी गर्नुभन्दा आफ्नै ‘भ्वाइस’ मा गीत गाएर छुट्टै पहिचान बनाउनुहोस् ।”


कार्यक्रमका अध्यक्ष प्रेम न्यौपानेले प्रतियोगिताको उद्देश्यमाथि प्रकाश पार्दै भन्नुभयो,– हामीले युवा प्रतिभाहरूलाई उचित मञ्च प्रदान गरी उनीहरूको आत्मविश्वास, कला र पहिचानलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ यो अभियान सुरु गरेका हौं। मञ्चले विद्यालयको शैक्षिक विकासमा निरन्तर सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो ।

विद्यालयका शैक्षिक सल्लाहकार कृष्ण पंगेनीले विद्यालयले राष्ट्रिय तथा प्रदेश स्तरमा शैक्षिक प्रतिस्पर्धामा अब्बलता कायम गर्दै आएको बताउनुभयो। शैक्षिक विकास   अगाडि बढाउन विद्यालयले  जिल्ला, प्रदेश स्तरका कार्यक्रमहरू गर्दै आएको छ। संगीतलाई विशेष चासोका आयोजित  कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरूको आगमनले विद्यार्थीको प्रतिभालाई थप प्रेरणा मिल्नेछ, पंगेनीले भन्नुभयो। उहाँले विद्यालयको विकासमा भूतपूर्व विद्यार्थी समाजको भूमिका महत्वपूर्ण रहनेमा पनि जोड दिनुभयो ।

विद्यालयका प्राचार्य तिलक के.सी.ले सिकाई कक्षाकोठाको चार पर्खालभित्र मात्र सीमित नहुने बताउँदै अतिरिक्त क्रियाकलाप सिकाईको अभिन्न पाटो भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार विद्यालयले पढाइसँगै गायन, नृत्य र खेलकुदलाई प्राथमिकता दिएर विद्यार्थीको रुचि अनुसारको शिक्षण पद्धति अपनाउँदै आएको छ।

कार्यक्रममा बोल्दै पूर्व शिक्षक दिपक काफ्लेले विद्यालयको नेतृत्व र व्यवस्थापनको खुलेर प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो,-“विद्यालय प्राचार्य र व्यवस्थापनले पाठनपाठन मात्र नभई विद्यार्थीलाई सबै विधामा अगाडि बढाउनुपर्छ । स्वर सरस्वती माताको वरदान हो। मानसिक रूपमा सबल हुन अतिरिक्त क्रियाकलाप अनिवार्य छ, जसले शारीरिक, मानसिक र शैक्षिक सिकाइमा पनि विद्यार्थीलाई उत्कृष्ट बनाउँछ। ”

डिजिटल माध्यमबाट सुरु भएको प्रतियोगितामा रुपन्देहीभरका ९० जना विद्यार्थीहरू सहभागी थिए । विभिन्न चरण पार गर्दै १० जना अन्तिम प्रतिस्पर्धा फाइनलका लागि छानिएका थिए। कार्यक्रममा प्रख्यात गायक तथा संगीतकार राजनराज सिवाकोटीको विशेष प्रस्तुतिले कार्यक्रमलाई थप गुञ्जायमान बनाएको थियो।

कार्यक्रमको मुख्य निर्णायकमा रंगश्री संगीतालयका प्रमुख सुरेश सेन्चुरी र निर्णायकमा विशाल आत्रेय रहनुभएको थियो। सेन्चुरीले उपाधि एउटा अंक मात्र भएको भन्दै सबै प्रतिस्पर्धीहरू कलामा अब्बल रहेको बताउनुभयो ।

सुनगाभा भूपू विद्यार्थी मञ्चका अध्यक्ष प्रेम न्यौपानेको अध्यक्षता मञ्चका सचिव मनिष गौतम र सञ्चारकर्मी सुमन श्रेष्ठको सञ्चालनमा सम्पन्न उक्त प्रतियोगिताको संयोजन सुशिल आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.