ग्यालेक्सी ईङ्गलिस स्कुलको ३३ औं स्थापना दिवस सम्पन्न: शिक्षामा संस्कार र प्रविधि आवश्यक

Picture of अनिता चाैधरी

अनिता चाैधरी

रुपन्देहीको सैनामैना–४ मा अवस्थित ग्यालेक्सी ईङ्गलिस बोर्डिङ स्कुलले आफ्नो ३३ औँ स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम शुनिबार भव्य रूपमा सम्पन्न गरेको छ । विगत तीन दशकभन्दा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील ग्यालेक्सी स्कूलले विभिन्न आरोह–अवरोह पार गर्दै सैनामैनाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले विद्यालयको लामो यात्राको प्रशंसा गर्दै विगतमा नेपालीले अंग्रेजी माध्यममा विद्यालय चलाउन सक्दैनन् भन्ने भ्रमलाई ग्यालेक्सीले चिर्न सफल भएको बताउनुभयो । ३३ वर्षअघि सानो संरचनाबाट सुरु भएको विद्यालयले अहिले सैनामैनालाई राष्ट्रिय स्तरको ’शैक्षिक हब’ बनाउन ठूलो योगदान दिएको उहाँको भनाइ थियो ।
शिक्षाको बदलिँदो स्वरूपका बारेमा बोल्दै प्रमुख शर्माले अभिभावकहरूलाई समेत महत्वपूर्ण सुझाव दिनुभयो । उहाँले बालबालिकालाई घरमा स्वतन्त्र रूपमा सिक्न दिनुपर्ने र उनीहरूलाई मेसिन बनाउनु भन्दा पनि संस्कार सिकाउनु जरुरी रहेको बताउनुभयो । “मानव शरीर पञ्चतत्वले बनेको छ, त्यसैले बालबालिकालाई हिलो, माटो, हावा, पानी र घामसँग नजिक रहेर हुर्कने वातावरण दिनुपर्छ,“ उहाँले जोड दिनुभयो ।
पहिलेको सैद्धान्तिक शिक्षाबाट माथि उठेर अहिले नगरका विद्यालयहरूले व्यवहारिक पद्धतिबाट सिकाई प्रक्रिया अगाडि बढाएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

एन–प्याब्सन रूपन्देहीका अध्यक्ष तिलक के.सी.ले सैनामैनाको शिक्षाको जग बसाल्न यस विद्यालयले महत्वपूर्ण भूमिका खेलेको र यहाँबाट उत्पादित जनशक्ति डाक्टर, इन्जिनियर बनेर देश–विदेशमा कार्यरत रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवनबन्धु सेवानीले विद्यालयको भौतिक र शैक्षिक विकासका लागि व्यवस्थापन समिति सदैव प्रतिबद्ध रहेको र आगामी दिनमा विद्यालयलाई अझ व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


सञ्चालक समिति अध्यक्ष बाबुराम कँडेलले टिमवर्क र सामूहिक लगानीका माध्यमबाट विद्यालयलाई अघि बढाइएको बताउँदै अभिभावकहरूको विश्वास नै विद्यालयको मुख्य पुँजी भएको उल्लेख गर्नुभयो ।

विद्यालयका प्राचार्य प्रकाश भट्टराईले विद्यालयमा हाल ८ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो । उहाँले बदलिँदो युगअनुसार (एआई) को जमानामा शिक्षकहरूले पनि आफ्नो दक्षता बढाउनुपर्ने बताउनुभयो ।
“हामीले विद्यार्थीको मनोवैज्ञानिक भावना बुझेर शिक्षण गरिरहेका छौँ,“ प्राचार्य भट्टराईले भन्नुभयो, “एसईईमा ४ जीपिए ल्याउनु मात्र ठुलो कुरा होइन, विद्यार्थी कुन विधामा अब्बल छ भन्ने कुरा पहिचान गरी उनीहरूको प्रतिभा प्रस्फुटन गराउनु हाम्रो प्राथमिकता हो ।“ विद्यालयले विद्यार्थी केन्द्रित प्रविधिमैत्री शिक्षा दिइरहेको उहाँको दाबी छ ।

कार्यक्रममा सहरीकरण, ऊर्जा, जलविद्युत् र विज्ञान प्रविधिको विकास झल्कने गरी विद्यार्थीहरूले तयार पारेका सामग्रीहरूको प्रदर्शनी गरिएको थियो, भने विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान वितरण गरिएको थियो भने विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत देखाएका थिए ।

शिक्षक होमनाथ ढुङ्गानाको स्वागत तथा शिक्षक बाबुराम खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.