आदर्श युवा क्लबको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन शुक्रबार भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले प्रेम न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नयाँ समितिको उपाध्यक्ष विकास बस्नेत, महिला उपाध्यक्ष प्रतिमा पौडेल, सचिव दिनेश न्यौपाने, कोषाध्यक्ष पारस गैरे, सह–सचिव सुस्मिता न्यौपाने चयन हुनुभएको छ
समितिको सदस्यहरूमा अनन्त गौतम, प्रभात खत्री, प्रविन कार्की र अनिश आचार्य रहनुभएको छ। विधान अनुसार बाँकी सदस्यहरू नवनिर्वाचित अध्यक्षले मनोनित गर्ने क्लबले जनाएको छ।
अध्यक्ष पदमा निर्वाचित भएपछि बोल्दै प्रेम न्यौपानेले क्लबले हालसम्म बनाएको साख र गरिमालाई निरन्तरता दिने बताउनुभयो। उहाँले आदर्श क्लबले समाजमा आफ्नो छुट्टै पहिचान बनाएको भन्दै क्लबले युवाहरूलाई संगठित गर्दै सामाजिक रूपान्तरण र शैक्षिक तथा खेलकुदका रचनात्मक कार्यक्रमहरूलाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
क्लबका निवर्तमान अध्यक्ष कोषराज बस्नेतले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो। उहाँले भन्नुभयो— “शून्यबाट सुरु भएको क्लबले आज ४ वर्षको यात्रामा नगरस्तरीय पहिचान बनाउन सफल भएको छ। नयाँ जोश र जाँगरका नयाँ समितिले क्लबको उद्देश्य प्राप्तिका लागि अझ सक्रिय भएर काम गर्नेमा विश्वस्त छु।” उहाँले आफू पदमा नरहे पनि क्लबको साथमा सधैं रहने बताउनुभयो।








