सैनामैनामा रेडक्रस सुपर परियोजनाको वार्षिक समीक्षा : सानो बजेटबाट ठूला उपलब्धि हासिल गर्न सकिने निष्कर्ष

Picture of अनिता चाैधरी

अनिता चाैधरी

सैनामैना नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको संयुक्त सहकार्यमा सञ्चालित ’शहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धन (सुपर) परियोजना’को वार्षिक समीक्षा बैठक आइतबार सम्पन्न भएको छ।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा परियोजनाको एक वर्षको अवधिमा भएका गतिविधि, उपलब्धि र चुनौतीहरूका बारेमा विस्तृत छलफल गरिएको छ ।

समीक्षा बैठकलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले आधुनिकतासँगै मानिसहरू विपद्प्रति कम सचेत हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “२००–३०० वर्षअघिका मानिसहरू विपद्प्रति जति सचेत थिए, अहिले हामी त्यति छैनौँ । पहिलेका पोखरी र इनारहरू सिँचाइ र पानीका मुख्य स्रोत थिए, जुन अहिले पुरिएका छन् ।“

नगर प्रमुख शर्माले परियोजनाले ती पुराना संरचनाको पुनरुत्थान गरी पानीको सतह बढाउन सफल भएको बताउनुभयो । “परियोजनाले विद्यालयमा हरियाली र विद्यार्थीमा जलवायु परिवर्तनबारे चेतना जगाएको छ । सानो बजेटबाट पनि ठूलो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने यो एउटा उत्कृष्ट उदाहरण हो,“ उहाँले भन्नुभयो । यसको दिगोपनका लागि नगरपालिकाले दोस्रो चरणको कार्यक्रममा पनि रेडक्रससँग समन्वय गर्ने उहाँको प्रतिबद्धता थियो ।


नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश सभापति कृष्ण पंगेनीले सैनामैना नगरपालिका विपद् व्यवस्थापनमा एक नमूना नगरको रूपमा स्थापित भएको बताउनुभयो । “हामी रेडक्रसको नयाँ विधानमार्फत पालिका शाखाहरूलाई अझ बढी स्वायत्त र अधिकारसम्पन्न बनाउँदैछौँ । सैनामैनाको साझेदारीले मानवीय सेवाको भाव समुदायस्तरसम्म पुर्याएको छ,“ पंगेनीले भन्नुभयो ।

त्यस्तै, स्विस रेडक्रसका केन्द्रीय निर्देशक कमल बरालले विद्यालय र स्वास्थ्य संस्थासँगको सहकार्य प्रशंसनीय रहेको बताउँदै बाँकी रहेका कामलाई सार्वजनिक–निजी साझेदारी मोडेलमा अगाडि बढाउन सकिने सुझाव दिनुभयो।

जल तथा मौसम विज्ञान कार्यालयका राम प्रसाद अवस्थीले ९० प्रतिशत विपद् मौसमजन्य हुने जानकारी दिँदै भन्नुभयो, “सैनामैनाले जडान गरेको पूर्वसूचना प्रणालीले विपद् न्यूनीकरणमा मेरुदण्डको काम गर्नेछ । तथ्याङ्क मापन र पूर्वानुमानले जनधनको क्षति कम गर्न ठूलो सघाउ पुग्नेछ ।“

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति रामचन्द्र उपाध्यायले सैनामैना नगरपालिकामा परियोजनाले हासिल गरेका सफलताहरू सिंगो जिल्लाकै लागि अमूल्य पुँजी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “रुपन्देहीका धेरै पालिकाहरूमध्ये सैनामैनालाई छनोट गर्नुको सार्थकता यहाँको सहकार्यले पुष्टि गरेको छ । सहभागितामूलक पद्धतिबाट काम गर्दा कति उत्कृष्ट नतिजा आउँछ भन्ने उदाहरण सैनामैनाले प्रस्तुत गरेको छ ।“
उहाँले यो कार्यलाई कसरी निरन्तरता दिने र दिगो बनाउने भन्ने सन्दर्भमा समीक्षा बैठकले स्पष्ट मार्गनिर्देशन गरेको समेत उल्लेख गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका मन्त्री टेक बहादुर थापाले परियोजनाको सिकाई र दायरालाई अझ फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सामुदायिक विद्यालयहरूमा सिकाएका सीप र ज्ञानलाई अब संस्थागत (निजी) विद्यालयहरूमा पनि विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
“सामुदायिक विद्यालयमा प्राप्त अनुभवलाई ’नो–कस्ट’ र ’लो–कस्ट’ (न्यून लागत) को माध्यमबाट निजी विद्यालयहरूसँग पनि जोड्न जरुरी छ,“ थापाले सुझाव दिँदै भन्नुभयो, “सुपर परियोजनाबाट प्राप्त अनुभव र विपद् व्यवस्थापन समितिले हालसम्म हासिल गरेका उपलब्धिलाई संस्थागत गर्दै आगामी कार्यक्रमहरूमा अझ प्रभावकारी रूपमा अघि बढ्नुपर्छ ।”

बैठकमा वडा अध्यक्षहरू रामप्रसाद अधिकारी, तम बहादुर र कृष्ण घिमिरेले विपद् व्यवस्थापन र वातावरण संरक्षणका गतिविधिले तल्लो तहका नागरिकसम्म सकारात्मक प्रभाव पारेको बताउनुभयो ।

जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थी सुप्रिम गौतमले परियोजनासँग जोडिएपछि आफूहरूमा मानवीय सेवाको भाव र समाजसेवाप्रतिको रुचि बढेको अनुभव सुनाउनुभयो ।

कार्यक्रममा स्वयंसेवक मधु गौतमले अग्नि नियन्त्रण सडक सुरक्षा र लागुऔषध सचेतना जस्ता तालिमले समुदायमा काम गर्न सहज भएको बताउनुभयो ।

परियोजना अधिकृत डिल्लीराज जोशीका अनुसार एक वर्षको अवधिमा कुल रु. २ करोड १४ लाख ७ हजार ८१२ खर्च भएको छ । जसमा सुपर परियोजनाको रु. १ करोड ५४ लाख ३५ हजार ७ सय ४१ नगरपालिकाको रु. ५२ लाख ५० हजार र समुदायको योगदानः रु. ७ लाख २२ हजार रहेको छ ।

जिल्ला परियोजना अधिकृत कृष्ण मल्लले सैनामैनामा सुरुवाती चरणदेखि विपत व्यवस्थापन तथा प्रतिकार्य तालिम विधालयदेखि समुदायमा सिकाउन सफल भएको र बहुप्रकोपीय जोखिमका बेला पूर्व सूचना प्रणालीको बारेमा अझ समुदाय स्तरमा बुझाउदै अघि बढ्ने बताउनुभयो ।

सैनामैना नगरपालिकाका विपद् व्यवस्थापन विभाग प्रमुख सुरज न्यौपानेले पूर्वसूचना प्रणाली, जल तथा मौसम मापन यन्त्र जडान र विद्यालयस्तरमा सचेतना फैलाउने विद्यालय सचेतना कार्यक्रमले नगरलाई सुरक्षित बनाउन जग बसालेको उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.