लायन्स क्लब अफ सैनामैना बोलबमको आयोजनामा बुधबार सैनामैनामा अन्तरविद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कलौनी कान्तिपुर इङ्गिलस स्कुलकी मोनिका बन्जाडे प्रथम, बुद्ध इङ्गिलस स्कुलका अन्सु कुँवर द्वितीय र सैनामैना मेमोरियल स्कुलकी सदिक्षा सोमय तृतीय भएकी छन् ।
प्रतियोगितामा सैनामैना नगरपालिकाका १२ निजी विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगीले ’टुगेदर एज वान’ शीर्षकमा आधारित आफ्नो सृजनात्मक कला प्रदर्शन गरेका थिए । निर्णायकको भूमिकामा अरनिको स्मृति प्रतिष्ठान बुटवलका अध्यक्ष चित्रकार मन गोल्डि थिए ।
विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै लायन्स इन्टरनेसनल थ्री टु फाइभ पी नेपालका सिनियर डिस्ट्रिक्ट एडभाइजर कृष्ण शर्माले विद्यार्थीहरुको अन्तरनिहित क्षमताको प्रस्फुटन गर्न प्रतियोगिता महत्वपूर्ण रहेको बताए । प्रतियोगिताको आयोजना गरी विद्यार्थीलाई सिर्जनशील बनाउन र उनीहरुको सिर्जनात्मक क्षमतालाई थप परिस्कृत गर्न लायन्स क्लब अफ सैनामैना बोलबमले निर्वाह गरेको भूमिकाको शर्माले प्रशंसा गरे ।
रिजनल चेयरपरसन सुशीला शर्माले शैक्षिक अध्ययनका अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूलाई अन्य विधामा पनि प्रेरित गर्न सकिएमा बहुआयामिक अवसरहरूका ढोका खुल्ने विश्वास व्यक्त गरे ।
लायन्स क्लब अफ सैनामैना बोलबमका अध्यक्ष सौगात भट्टराईको विद्यार्थीहरुको सिर्जनशील क्षमतालाई प्रतिस्पर्धाका माध्यमबाट प्रस्फुटन गर्ने उद्देश्यले चित्रकला प्रतियोगिता आयोजना गरिएको बताए । चित्रकलाले विद्यार्थीमा पनि सृजनात्मक क्षमताको विकास गराउने उनले स्पष्ट पारे ।
लायन्स क्लब अफ सैनामैना बोलबमकी प्रथम उपाध्यक्ष लक्ष्मी श्रेष्ठको स्वागत तथा सचिव सुनिता अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।






