प्रभात स्कूलको आतिथ्यतामा सैनामैनामा बृहत रक्तदान, ७० युनिट रगत सङ्कलन

Picture of अनिता चाैधरी

अनिता चाैधरी

नेपाल रेडक्रस सोसाईटी सैनामैना पर्रोहा उपशाखाको आयोजना तथा प्रभात इङ्ग्लिस बोर्डिङ सेकेण्डरी स्कूलको विशेष आतिथ्यतामा शुक्रबार सैनामैनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई सार्थक बनाउँदै सैनामैना–४ मा अवस्थित प्रभात बोर्डिङ स्कूलमा सञ्चालन गरिएको उक्त रक्तदान कार्यक्रममा ७० युनिट रगत सङ्कलन भएको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले रक्तदान गर्ने रक्तदाताहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले हरेक तीन–तीन महिनामा नयाँ रगत बन्ने हुँदा खेरf जाने रगतले बिरामीको जीवन बचाउन सकिने भएकाले रक्तदानलाई ठूलो पुण्यको कार्यको रूपमा लिनुपर्ने बताउनुभयो। साथै, उहाँले विद्यार्थीहरूलाई रक्तदानसम्बन्धी सचेतना बढाउन आग्रह गर्नुभयो।

रेडक्रस सोसाईटी सैनामैना पर्रोहा उपशाखाका सभापति मीना भण्डारीले सैनामैना क्षेत्रमा बढ्दो रगतको अभावलाई मध्यनजर गर्दै शाखाले निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो। उहाँले रेडक्रसले रक्तदान, विपद व्यवस्थापन र मानवीय सेवामा सधैँ सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपशाखाले २०८१ सालमा जिल्लामै सबैभन्दा बढी रक्ततत्व सङ्कलन गरी पुरस्कृत भएको जानकारी दिँदै समाज परिवर्तनका लागि रेडक्रसको अभियानमा जोडिन सबैलाई आग्रह गर्नुभयो।


प्रभात इङ्ग्लिस बोर्डिङ सेकेण्डरी स्कूलका प्राचार्य अनन्तराम शर्माले मानवीय सेवामा रेडक्रस अभियानअन्तर्गत विद्यालयमा रक्तदान कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्दै रेडक्रससँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले शिक्षासँगै विद्यार्थी र शिक्षकहरूलाई मानवीय सेवाका कार्यमा सहभागी गराउन विद्यालय सधैँ तयार रहेको बताउनुभयो।

नेपाल रेडक्रस रुपन्देही रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न भएको यस कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी र शुभेच्छुक रक्तदाताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रम नेरेसो सैनामैना उपशाखाका उपसभापति दिव्या पंगेनीको स्वागत मन्तव्य तथा सचिव थानिश्वर न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.