सैनामैना नगरपालिका–४ स्थित पर्रोहा माध्यमिक विद्यालयले राष्ट्रिय सेवा दल (एनसिसी) को तालिममा सहभागी हुन जाने जुनियर क्याडेटहरूलाई (शुक्रबार) एक कार्यक्रमका बीच विदाई गरेको छ।
एनसिसीको ५१औँ डिभिजनका विद्यार्थी क्याडेटहरू विद्यालयमा सञ्चालन भएको ७९ दिने आधारभूत तालिमको समापनपछि थप तालिमका लागि प्रस्थान गर्न लागेका हुन्। अब उनीहरू राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय हात्तीखोर, नवलपुरमा आयोजना हुने २१ दिने तालिममा सहभागी हुनेछन्।
विदाई कार्यक्रमअघि गत शुक्रबार विद्यालयमा आयोजित विशेष कार्यक्रममा विद्यार्थी क्याडेटहरूले अभिभावक र विद्यालय परिवारका सामु आफ्नो उत्कृष्ट कला प्रदर्शन गरेका थिए। उनीहरूले सैनिक कला, अनुशासन र नेतृत्व क्षमताको उत्कृष्ट प्रदर्शन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्मालाई सलामी अर्पण गरेका थिए। यसका साथै, विद्यार्थीहरूले मार्चपास, खुकुरी ड्रिल, तेक्वान्दो, एरोबिक्स जस्ता सीप र नृत्यसमेत प्रस्तुत गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक बल बहादुर के.सी. ले कक्षा ८, ९ र १० मा अध्ययनरत ३० जना विद्यार्थी तालिममा सहभागी हुन लागेको जानकारी दिनुभयो। उहाँले तालिमको मुख्य उद्देश्य विद्यार्थीहरूको शारीरिक तन्दुरुस्ती र क्षमता अभिवृद्धि गर्नुका साथै अनुशासन, बफादारी र भोलिको राष्ट्र सेवक कर्णधार निर्माण गर्नु रहेको बताउनुभयो। एनसिसी तालिमले भोलिको राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभयो।








