रुपन्देहीको सैनामैना–४ स्थित आदर्श फुटबल रंगशालामा पाञ्चायन भजन मण्डलीद्वारा आयोजित दोस्रो साधारण सभा तथा सैनामैना नगर स्तरीय खुल्ला भजन प्रतियोगिता शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम सैनामैना नगरपालिका वडा नं.४ को कार्यालय, मिलनज्योति लहरे पिपल टोल विकास संस्था तथा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल–सैनामैनाको संरक्षणमा सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैनाका भजन समूहहरूले जिल्लाभर मात्र नभई देशका विभिन्न स्थानमा गएर पुरस्कार जित्दै नगरको पहिचान फैलाइरहेको उल्लेख गर्दै संस्कृति संरक्षणका यस्ता कार्यक्रमहरूलाई नगरपालिका निरन्तर साथ दिन तयार रहेको बताउनुभयो । उहाले भजन, संस्कृति र मौलिकता सैनामैनाको सम्पत्ति भएकाले यसको प्रवद्र्धनमा स्थानीय तह सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यसैगरी सैनामैना वडा नं ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारीले लोपोन्मुख अवस्थामा रहेका लोक भजनलाई जोगाउन सैनामैनाका भजन समूहहरूले गरेको प्रयासप्रति प्रशंसा व्यक्त गर्नुभयो । प्रत्येक शनिवार विभिन्न शिवालयहरूमा आलो पालो गरेर भजनगान हुँदै आएको परम्पराले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण भइरहेको उल्लेख गर्दै उहाले वडा नं.४ तथा जनप्रतिनिधिको तर्फबाट निरन्तर सहयोग रहिरहने बताउनुभयो ।
प्रतियोगिताका नतिजा
प्रतियोगितामा कुल दर्ता भएका १७ समुह मध्ये १४ समुह सहभागि भएका थिए । झाँकी र भजन गीत दुवै विधामा छुट्टा छुट्टै मूल्यांकन गरिएको थियो ।
झाँकीतर्फ कान्तिपुर कलौनी बोर्डिङ स्कुलले उपाधि प्राप्त गर्दा देउराली भजन समूहले उप विजेतामा चित्त बुझाएको छ । तृतिय पशुपतिनाथ भजन समूह हुदा मलमला भजन समूहले सान्तवना स्थान हासील गरेको छ । यता गित तर्फ कालिका भजन समूह, सैनामैना–८ ले १३ समुहलाई पछि पार्दै विजयी बन्न सफल भयो भने कान्तिपुर कलौनी बोर्डिङ स्कुलले द्धितिय स्थान हासील गर्न सफल भयो । राधाकृष्ण भजन समूह, सैनामैना–४ तृतिय वन्दा कालमोचन शिवालय मन्दिर भजन समूह सान्त्वना हुन सफल भयो ।
यस्तै मिलनज्योति लहरे पिपल भजन समूह अनुशासन पुरस्कार प्राप्त गर्दा रामलिला भजन समूह (थारु समूह) जातीय प्रोत्साहन पुरस्कार प्राप्त गरेको छ ।
पाञ्चायन भजन मण्डली समुहका अध्यक्ष हुमाकान्त ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि तथा स्थानियको बाक्लो उपस्थिती रहेको थियो । सस्थाकी उपाध्यक्ष यमुना खत्रीको स्वागत तथा महासचिव भीम खड्काको सञ्चालनमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।






