रोटरी क्लब सैनामैनाद्वारा सैनामैनाका शिक्षकलाई आईसीटी तालिम

Picture of अनिता चाैधरी

अनिता चाैधरी

रोटरी क्लब अफ सैनामैनाको आयोजनामा दुई दिने सूचना तथा सञ्चार प्रविधि (आइसीटी) सम्बन्धी तालिम सुरु भएको छ । सैनामैनाका विद्यालयमा अध्यापन गरिरहेका  शिक्षकहरूलाई आधुनिक प्रविधि र शिक्षण पद्धतिमा अभ्यस्त गराउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो ।

रोटरी क्लब अफ सैनामैनाका अध्यक्ष भोजराज पौडेलले शिक्षकहरूलाई नयाँ युगको प्रविधिसँग जोड्नु नै क्लबको मुख्य उद्देश्य अनुसार आइसीटी तालिम संचालन गरिएको बताए ।
”सिकाई केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नभई पूर्णरूपमा प्रयोगात्मक ढङ्गबाट तालिम प्रदान गर्नेछौँ । विशेषगरी वर्तमान समयमा चर्चामा रहेको कृत्रिम बुद्धिमत्ता (एआई) सँग शिक्षकहरूले कसरी अन्तरक्रिया गर्ने र यसलाई शिक्षण सिकाइमा कसरी उपयोगी बनाउन सकिन्छ भन्ने विषयमा विशेष जोड दिइनेछ ।“ उनले भने ।
अध्यक्ष पौडेलका अनुसार यसअघि जनचेतना माध्यमिक विद्यालयको आवश्यकतालाई बुझेर २१ थान कम्प्युटर र डिजिटल बोर्ड प्रदान गरेका छौँ । प्रविधिको प्रयोगबाट विद्यार्थी मात्र नभएर शिक्षकहरूले पनि आफ्नो शिक्षण क्रियाकलापलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिएको उनको भनाई छ ।

तालिमको उद्घाटन गर्दै सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले संसार प्रविधिमय बनेको अवस्थामा शिक्षकहरू परिमार्जन (अपडेट) हुनुको विकल्प नभएको बताए । “तालिममा सिकेको ज्ञान, सीप विद्यालयको कक्षाकोठामा व्यवहारिक रूपमा प्रयोग भएमा मात्र कार्यक्रमको सार्थकता रहन्छ र यसले नगरको प्राविधिक क्षेत्रलाई नयाँ उचाइ दिन्छ,“ उनले भने ।

रोटरी क्लबका संस्थापक अध्यक्ष मिनप्रसाद पौडेलले सामाजिक विकासमा प्रविधिको भूमिका महत्वपूर्ण हुने चर्चा गरे । उनले भने–“परिवर्तित समयसँगै शिक्षकहरूले आफूलाई दक्ष बनाउनु अपरिहार्य छ, यस तालिमले शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धिमा कोसेढुङ्गा सावित हुनेछ ।“


क्लबका पूर्व अध्यक्ष प्रेम शर्मा सागरले रोटरीले मानवीय सेवा सँगसँगै शैक्षिक सुधारका क्षेत्रमा पनि काम गर्दै आएको बताए । उनले भने–“शिक्षकहरू प्रविधिमैत्री हुनु भनेको विद्यार्थीहरूले गुणस्तरीय शिक्षा पाउनु हो, त्यसैले यस अवसरलाई पूर्ण उपयोग गर्न सहभागीहरूलाई आग्रह गर्दछु ।“

तालिममा सैनामैनाका ७ वटा विद्यालयका २१ जना शिक्षकहरू सहभागी छन् । कम्प्युटर विज्ञ शिशिर क्षेत्री र बालकृष्ण ज्ञवालीले सहभागीहरूलाई आईसीटी र एआईका विभिन्न पक्षबारे प्रशिक्षण दिएका हुन् ।
क्लबका अध्यक्ष भोजराज पौडेलको अध्यक्षता तथा कार्यक्रम संयोजक विष्णु प्रसाद अर्यालको सञ्चालनको संचालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.