सैनामैना-२ मा अवस्थित लिटल बर्ड्स इङ्ग्लिस सेकेन्डरी स्कुलको आयोजनामा ‘असल अभिभावकत्व’ सम्बन्धी एकदिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
सैनामैना-१, बनकट्टास्थित त्रिमूर्ति पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा ३५० भन्दा बढी अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं मुख्य सहजकर्ता प्याब्सन नेपालका पूर्व केन्द्रीय सदस्य तथा सचिवालय सदस्य लेखनाथ पौडेलले बालबालिकाको सर्वाङ्गीण विकासमा विद्यालयको जत्तिकै भूमिका अभिभावकको पनि हुने बताउनुभयो। उहाँले बदलिँदो समय अनुसार बालबालिकाको मनोविज्ञान बुझेर उनीहरूलाई संस्कारयुक्त शिक्षा दिनुपर्नेमा जोड दिनुभयो। “असल अभिभावक बन्नका लागि बालबालिकासँग समय बिताउने, उनीहरूका कुरा सुन्ने र सकारात्मक वातावरण प्रदान गर्न आवश्यक छ,” पौडेलले सहजीकरणका क्रममा भन्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम कुमार शर्माले बालबालिकाको शैक्षिक सफलताका लागि विद्यालय, शिक्षक र अभिभावक बीचको तीन पक्षीय मजबुत हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमले अभिभावकहरूलाई आफ्ना छोराछोरीको भावना बुझ्न र उनीहरूलाई सही मार्गनिर्देशन गर्न नयाँ ऊर्जा दिएको छ भन्ने विश्वास लिएको बताउनुभयो ।


विद्यालयका प्राचार्य धर्मराज घिमिरेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभयो। उहाँले शिक्षा केवल किताबी ज्ञानमा मात्र सीमित नभई घर र विद्यालयको समन्वयबाट मात्रै पूर्ण हुने धारणा व्यक्त गर्नुभयो।
यस्तै, विद्यालय व्यवस्थापन समिति सदस्य राजन अर्यालले पनि मन्तव्य राख्दै बालबालिकाको उज्ज्वल भविष्यका लागि यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरू फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सह-प्राचार्य सुरेश पौडेलले अभिभावकहरूको उपस्थिति र चासोले विद्यालयलाई थप ऊर्जा मिलेको बताउनुभयो।
अतिरिक्त क्रियाकलाप इन्चार्ज अनिश भण्डारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा अभिभावकहरूले आफ्ना जिज्ञासा र अनुभवहरू समेत साटासाट गरेका थिए।







