एमाले रुपन्देहीका सचिव तथा पूर्व मेयर कार्की रास्वपामा प्रवेश, ’६५ खर्बको अर्थतन्त्र कुशासनले गुमायौँ’ : डा. स्वर्णिम वाग्ले

Picture of अनिता चाैधरी

अनिता चाैधरी

नेकपा एमाले रुपन्देहीका सचिव तथा सैनामैना नगरपालिकाका प्रथम नगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सैनामैना नगर समितिले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा कार्कीसँगै जनप्रतिनिधि ईश्वरी भण्डारी लगायत सयौँ नेता–कार्यकर्ता रास्वपामा समाहित भएका हुन् । नवप्रवेशीहरूलाई रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा लगायतका केन्द्रीय नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।

२०४७ सालदेखि तत्कालीन नेकपा माले र एमालेको भूमिगत स्कुलिङबाट राजनीति सुरु गरेका कार्कीले ३४ वर्ष लामो सक्रिय राजनीतिक यात्रापछि रास्वपा रोजेका हुन् ।

पार्टी प्रवेशपछि बोल्दै कार्कीले आफूले सम्हालेका सार्वजनिक र सरकारी जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरे पनि पछिल्लो समय ’जेन–जी’ आन्दोलनप्रति सरकार र पार्टी नेतृत्वको अनुदार शैलीका कारण एमाले परित्याग गरेको बताए ।
“जेन–जी आन्दोलनका क्रममा बालबालिकाको ज्यान जाँदा समेत प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर हुनुभएन,“ कार्कीले भने–“परिवर्तनलाई आत्मसात् गर्न नसक्ने र आन्दोलनलाई विध्वंसात्मक मात्र देख्ने सोचसँग सहमत हुन नसकी मैले स्वतन्त्र बस्ने निर्णय गरेको थिएँ । तर, सैनामैनाको समृद्धिका अधुरा सपना पूरा गर्न एउटा बलियो शक्ति आवश्यक पर्ने भएकाले रास्वपा रोजेको हु ँ।“ उनले रास्वपामा पढेलेखेका, उद्यमी र देश बनाउने हुटहुटी भएका युवाहरूको बाहुल्यता रहेकाले यहाँ लोभलालच कम र काम गर्ने सम्भावना बढी देखेको उल्लेख गरे ।


सैनामैनाको विकासबारे चर्चा गर्दै कार्कीले वर्तमान कार्यकालमा साढे ७ अर्ब बजेट फ्रिज हुनु दुःखद रहेको टिप्पणी गरे । उनले यदि उक्त रकमको केही हिस्सा मात्रै बजारमा परिचालन भएको भए स्थानीय अर्थतन्त्र चलायमान हुने दाबी गरे । आगामी दिनमा योग्य, सक्षम र माटोप्रेमी जनप्रतिनिधि चयन गरेर सैनामैनालाई समृद्ध बनाउने अभियानमा आफू सक्रिय रहने प्रतिबद्धता उनले जनाए ।
रुपन्देहीका १६ वटै पालिकामा रास्वपालाई निर्णायक शक्तिको रूपमा स्थापित गर्न र लुम्बिनीका पहाडी जिल्लाहरूसम्म संगठन विस्तार गर्न आफूले जुनसुकै जिम्मेवारी कुशलतापूर्वक निभाउने कार्कीले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले मुलुकको जर्जर आर्थिक अवस्थाबारे तथ्याङ्क प्रस्तुत गरे । डा. वाग्लेले भने– “२०४८ सालको आर्थिक सुधारलाई सही ढङ्गले निरन्तरता दिएको भए आज नेपालको अर्थतन्त्र १ सय ३० खर्बको हुने थियो, तर आज हामी ६५ खर्बमा खुम्चिएका छौँ । । हराएको यो ६५ खर्ब कुशासन र दलीय सिन्डिकेटको मूल्य हो जुन नेपाली जनताले चुकाउनु परिरहेको छ, ।“
नेपाल आज एसियाका १५ मुलुकमध्ये अफगानिस्तानपछि सबैभन्दा गरिब देशको सूचीमा पर्नुको मुख्य कारण परम्परागत राजनीतिको असफलता भएको उनको तर्क थियो ।
भदौ २४ गते सुशासन र अभिव्यक्ति स्वतन्त्रताका लागि युवाहरूले गरेको शान्तिपूर्ण आन्दोलनमा भएको दमनप्रति लक्षित गर्दै डा. वाग्लेले केपी ओली सरकारको कडा आलोचना गरे । उनले १९ जना निर्दोष युवाहरूको ’नरसंहार’ पछि नै दुई तिहाइको दम्भ बोकेको कांग्रेस–एमाले सरकारको नैतिक र राजनीतिक समाप्त भइसकेको घोषणा गरे ।
“होस गुमाएको सत्ताले अबोध युवामाथि गोली बर्सायो । त्यसै घटनाबाट विचलित भएर विवेक भएका राजनीतिज्ञहरू पुरानो पार्टी छाडेर रास्वपामा जोडिनुभएको छ,“ एमाले नेता चित्रबहादुर कार्कीको प्रवेशलाई स्वागत गर्दै उनले भने ।
डा. वाग्लेले व्यवस्था परिवर्तन भए पनि जनताको औसत जीवनस्तर उकास्ने बहस नभएकोमा चिन्ता व्यक्त गरे । उनले आगामी फागुन २१ गते शान्तिपूर्ण तरिकाले मुलुकमा ठूलो ’उथलपुथल’ ल्याउने दाबी गर्दै सबै नेपालीहरूलाई महाअभियानमा जोडिन आह्वान गरे ।

रास्वपा प्रवक्ता मनीष झाले राजनीतिलाई खेलसँग तुलना गर्दै निश्चित समयमा उत्कृष्ट नतिजा दिएर नयाँ पुस्तालाई अवसर दिनुपर्ने बताए । “विराट कोहलीले १५ वर्ष खेलेर उत्कृष्ट नतिजासहित बिदा लिए जस्तै राजनीतिमा पनि १०–१५ वर्षको ठोस योजना लिएर आउनुपर्छ र अर्को पुस्तालाई मेन्टरिङ गर्नुपर्छ,“ झाले भने, “रास्वपाले यही नयाँ राजनीतिक संस्कार स्थापित गर्न खोज्दैछ ।“

कार्यक्रममा रास्वपाका केन्द्रीय सचिवालय सदस्य गणेश पराजुली, संघीय नेतृत्व मञ्चका प्रकाश चन्द परियार, सुलभ खरेल, गोपाल घिमिरे, लेखजंग थापा, र ज्ञानु पौडेल लगायतले बोल्दै अब व्यवस्था होइन, जनताको अवस्था परिवर्तन गर्न ’घण्टी’ ले मात्र सक्ने दाबी गरे । वक्ताहरूले भ्रष्टाचार अन्त्य र सुशासनका लागि आगामी चुनावमा रास्वपालाई बहुमतको सरकार बनाउने दिशामा लैजान सबैलाई आग्रह गरे ।

नगर सभापति राजबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सयौँको संख्यामा नयाँ सदस्यहरू प्रवेश गरेसँगै सैनामैनामा रास्वपाको सङ्गठन बलियो बनेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.