बाँकेको राप्ती सोनारीस्थित कुश्मेश्वर माध्यमिक विद्यालयको एक प्रतिनिधिमण्डलले आइतबार रुपन्देहीको सैनामैना नमूना माध्यमिक विद्यालयको शैक्षिक अवलोकन तथा अध्ययन भ्रमण सम्पन्न गरेको छ। दुई विद्यालयबीचका असल अभ्यासहरू आदान–प्रदान गर्ने र शैक्षिक गुणस्तर वृद्धिका लागि व्यवस्थापकीय अनुभव साटासाट गर्ने उद्देश्यले उक्त भ्रमण आयोजना गरिएको हो ।
वडा अध्यक्ष यम बहादुर खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र ओली र प्रधानाध्यापक रुपेन्द्र बहादुर बस्नेतको नेतृत्वमा आएको टोलीलाई सैनामैना नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष शिवलाल बश्याल र सहायक प्रधानाध्यापक लक्ष्मण आचार्य लगायतले स्वागत गर्नुभएको थियो ।
भ्रमणका क्रममा अतिथि टोलीलाई विद्यालयको ऐतिहासिक पृष्ठभूमि, सुशासनमूलक व्यवस्थापन र आधुनिक शैक्षिक कार्यक्रमहरूका बारेमा जानकारी गराइएको थियो । टोलीले विद्यालयको भौतिक पूर्वाधार, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब र व्यवस्थित पुस्तकालयको अभिरुचिपूर्वक अवलोकन गरेको थियो ।
भ्रमणको विशेष आकर्षण विद्यालयले प्राप्त गरेको अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (ISO) प्रमाणीकरण प्रक्रिया रहेको थियो। सो अवसरमा आई.एस.ओ. इन्चार्ज नारायण गौतमले प्रमाणीकरणले विद्यालयको कार्यसम्पादनमा पारेको सकारात्मक प्रभावबारे प्रकाश पार्नुभएको थियो भने विज्ञान समूह इन्चार्ज नारायण शर्माले प्रयोगात्मक र नतिजामुखी सिकाई पद्धतिका बारेमा जानकारी दिनुभयो।


अवलोकन पश्चात वडा अध्यक्ष यम बहादुर खड्काले भन्नुभयो– “सैनामैना माध्यमिक विद्यालयको व्यवस्थापकीय चुस्तता र विद्यार्थी–केन्द्रित सिकाई पद्धति अत्यन्तै अनुकरणीय छ। यहाँबाट प्राप्त सिकाइले हाम्रो क्षेत्रको शैक्षिक सुधार र नीति निर्माणमा महत्वपूर्ण टेवा पुग्नेछ”।
त्यस्तै, कुश्मेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपेन्द्र बहादुर बस्नेतले यस्ता भ्रमणले शिक्षक र व्यवस्थापनलाई नयाँ ऊर्जा प्रदान गर्ने र सफल अभ्यासहरू आफ्नै विद्यालयमा लागू गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, कुश्मेश्वर मा।वि।का प्रधानाध्यापक रुपेन्द्र बहादुर बस्नेतले यस्ता भ्रमणले शिक्षक र व्यवस्थापनलाई नयाँ ऊर्जा प्रदान गर्ने र सफल अभ्यासहरू आफ्नै विद्यालयमा लागू गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
सैनामैना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मण आचार्यले दुई विद्यालयबीचको भेटले आपसी भाइचारा र दीर्घकालीन शैक्षिक साझेदारीको मार्ग प्रशस्त गरेको बताउनुभयो।
प्रतिनिधिमण्डलमा विव्यस सल्लाहकारहरू, शिक्षक अभिभावक संघका पदाधिकारीहरू, वडा सदस्यहरू तथा शिक्षक–कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।






