साना किसान कृषि सहकारी संस्था लिमिटेड पर्रोहाको २३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पशुराम सापकोटाको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन रुपन्देही कृषि सहकारी महासंघ एवं साना किसान कृषि सहकारी संस्था देवदहका अध्यक्ष टिका न्यौपानेले गरेकी थिइन् ।
उद्घाटन गर्दै अध्यक्ष न्यौपानेले सहकारीले स्थानीयको आयआर्जन वृद्धिमा महत्वपूर्ण सहयोग पु¥याइरहेको बताइन् । उनले सहकारीको सफलताका लागि सबै सदस्यहरू अनुशासनमा रहनुपर्नेमा जोड दिइन् । राष्ट्रिय कृषि सहकारी महासंघ सञ्चालक समेत रहेकी न्यौपानेले सैनामैनाका शेयर सदस्यहरूलाई अब कसैको घरमा ऋण माग्न जानुको सट्टा साना किसान कृषि सहकारी संस्था पर्रोहामा आएर आफ्नो अवस्था र आवश्यकता अनुसार ऋण लिएर उत्पादनशील क्षेत्रमा सही सदुपयोग गर्न आग्रह गरिन् ।
उनले महिला दिदीबहिनीहरुको जीवनस्तर उकास्ने काममा संस्था निरन्तर लागिरहनु प्रशंसनीय रहेको भन्दै सहकारीले आम शेयर सदस्यको जीवनस्तर उकास्ने गरी उत्पादनमैत्री क्षेत्रमा लगानी बढाउनुपर्ने बताइन् ।
साथै साना किसान सहकारी पर्रोहाको अहिलेसम्मको प्रगति उत्कृष्ट रहेकोमा प्रशंसा गर्दै संस्थाले आगामी दिनहरूमा अझ बढी प्रगति ९लाभांश० अझै बढाउनुपर्ने शुभकामना दिएकी छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश कृषि सहकारी संघ एवं साना किसान कृषि सहकारी संस्था सेमलारका अध्यक्ष गोपाल पौडेलले सहकारीले प्रदान गर्ने सस्तो ऋणमा लगानीको सेवा र सुविधा लिएर व्यापार व्यवसाय एवं कृषि कार्यमा लाग्न सदस्यहरूलाई सुझाव दिए ।
संस्थाका अध्यक्ष पशुराम सापकोटाले सहकारी ऐन, नियमावली, मापदण्ड तथा नेपाल राष्ट्र बैंकबाट जारी भएका नियमहरूको पालना गर्दै सदस्यहरूलाई सेवा प्रवाह गरिरहेको जानकारी दिए । सहकारी क्षेत्रमा देखिएको डुब्लीकेसन (एक व्यक्ति धेरै सहकारीमा) को समस्याले गर्दा उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै उनले सहकारी ऐनमा व्यवस्था भएको ’एक व्यक्ति एक सहकारी’ को प्रावधान अनुरूप संस्थालाई बलियो बनाउन अन्य सहकारीसँग एकीकरण गर्न संस्था सधैं खुला रहने प्रतिबद्धता व्यक्त गरे ।


आर्थिक प्रगति र कार्यक्षेत्र विस्तार
साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीको कार्यक्षेत्र सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका, शुद्धोधन गाउँपालिका र मायादेवि गाउँपालिकासम्म विस्तार भएको छ । हाल सहकारीमा ४ हजार १ सय ८६ जना शेयर सदस्य आवद्ध रहेका छन् । संस्थाले विगत ५ वर्षदेखि डेरी समेत सञ्चालन गरी दुध विक्रि वितरण गर्दै आइरहेको छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा संस्थाले कुल आम्दानी ९ करोड ५७ लाख १५ हजार ८ सय २२ रुपैयाँ र कुल खर्च ८ करोड ३४ लाख ९१ हजार ६ सय २ रुपैयाँ रहेकोमा १ करोड २७ लाख ९२ हजार ६ सय ५७ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
संस्थाका प्रमुख प्रबन्धक दिनेश कुमार घिमिरेले सहकारीले सदस्यहरूको हितका लागि स्वस्थ्य राहत वितरण, पारिवारिक मृत्यु राहत वितरण, पशुधन सुरक्षण (पशुविमा) तथा क्षतिपूर्ति, सुत्केरी पोषण सेवा, म्यादी बीमा कार्यक्रम र वित्तीय साक्षरता तालिम लगायतका सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए ।
साधारण सभामा उत्कृष्ट सदस्य सम्मान
साधारण सभाको अवसरमा विभिन्न विधामा उत्कृष्ट सदस्यहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।
लघु कर्जामा नियमित व्याज तथा किस्ता बुझाउने सदस्यहरुमा लिला कुमारी पौडेल र झनिमाया बुढाथोकी, व्यवसायीक कर्जामा नियमित व्याज तथा किस्ता बुझाउने सदस्यहरुमा अम्मरराज खरेल, सीता बस्नेत र पेमा खनाल, नियमित तथा धेरै समुह बचत भएका समुहहरुमा गिता ज्ञवाली, अम्बिका के.सी. र उषा भुषाल, बाल बचत दिया राना र आत्मिक खरेल, डेयरीमा नियमित धेरै दुध ल्याउने सदस्यहरु रमेश यादव, लक्ष्मीदेवि भ¤, मधु अर्याल र खेमलाल लामिछाने र उत्कृष्ट पशुपालन गर्ने सदस्यहरुमा अनिता थापा र पवित्रा कुवरलाई उपहार प्रदान गरि सम्मान गरिएको थियो, भने जेष्ठ शेयर सदस्य सम्मानतर्फ एमाकान्त खनाललाई नगद ९ हजार, दोसल्ला र सम्मान–पत्रले सम्मान गरिएको थियो ।
सहकारी संस्थाका उपाध्यक्ष भगवती कंडेलको स्वागत तथा प्रमुख प्रबन्धक दिनेश कुमार घिमिरेको सञ्चालनमा साधारणसभा सम्पन्न भएको थियो ।







