पशुपति माविको ६४औं वार्षिकोत्सव सम्पन्न

Picture of अनिता चाैधरी

अनिता चाैधरी

“प्राविधिक शिक्षा आजको आवश्यकता, सिप सिकौं दक्ष नागरिक बनौ” मूल नाराका साथ सैनामैना–१०, सालझण्डीमा रहेको पशुपति माध्यमिक विद्यालयको ६४औं वार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार भव्यताका साथ सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद पोख्रेलको अध्यक्षतामा आयोजित समारोहमा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो ।

समारोहको उद्घाटन गर्दै समन्वय इकाइ प्रमुख पन्थीले पशुपति माविको नतिजाउन्मुख शिक्षा प्रणालीको प्रशंसा गरे। उनले आगामी दिनमा पनि विद्यालयले प्राविधिक शिक्षातर्फको धारलाई प्राथमिकता दिँदै दक्ष जनशक्ति उत्पादनमा केन्द्रित रहन सुझाव दिए।

सैनामैना नगरपालिका वडा नंं १० का वडा अध्यक्ष कृष्ण प्रसाद घिमिरेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा वडा कार्यालयको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद पोख्रेलले विद्यालयले प्राविधिक शिक्षाको धार समातेर समयको माग अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए। उनले विद्यालयलाई यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन निरन्तर प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक हरिप्रसाद थापाले विद्यालयको ६४औं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक, भौतिक र आर्थिक प्रगतिहरू बारे जानकारी गराए । उनले करिब १२ सय विद्यार्थी विद्यालयमा अध्ययनरत रहेको जानकारी दिए। उनले विद्यार्थी, शिक्षक कर्मचारी, व्यवस्थापन समिति र अभिभावकको महत्वपूर्ण भूमिकाले विद्यालयले शैक्षिक सफलता प्राप्त गरेको बताए ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भीमप्रसाद घिमिरे र सामुदायिक वनका प्रतिनिधि चुडाबहादुर थापा लगायतले बोल्दै विद्यालयले पछिल्लो समय ल्याएको उत्कृष्ट नतिजालाई आगामी दिनमा अझै स्तरीय बनाउन विद्यार्थी र शिक्षकको निरन्तर मेहनत आवश्यक रहेको औंल्याए।

उत्कृष्ट विद्यार्थी सम्मान
वार्षिक उत्सवको अवसरमा एसईई परीक्षा २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरूलाई पुरस्कार तथा प्रमाण(पत्र प्रदान गरिएको थियो ।

फुड फेस्टिबल तथा इञ्जिनियरिङ एण्ड साईन्स एक्स्पो
समारोहमा विद्यार्थीहरूले फुड फेस्टिबलको आयोजना गरी विभिन्न परिकारहरू पस्केर आफ्नो रचनात्मकता प्रदर्शन गरेका थिए भने  इलेक्ट्रिकल इञ्जिनियरिङ एण्ड साईन्स एक्स्पो २०८२ मा विद्यार्थीहरूले विज्ञान र प्रविधिसम्बन्धी विभिन्न सिर्जनात्मक मोडेल तथा नवप्रवर्तनहरू प्रदर्शन गरेका थिए।

विद्यालय गान विमोचन
दिवसकै अवसरमा  विद्यालयले आफ्नो विद्यालय गान समेत विमोचन गरेको छ। विद्यालय गानको रचनाकार सहा–प्रधानाध्यापक केदारनाथ सापकोटा रहेका छन् भने स्वर शिक्षक पिन्की थापा र विद्यार्थी मिलन बलाल र हिमा परियारको रहेको छ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.