राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) रुपन्देहीको आयोजनामा भएको जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा सुनगाभा पब्लिक स्कूल प्रथम भएको छ । सैनामैना–३ स्थित सुनगाभा पब्लिक सेकेण्डरी स्कूलमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा जिल्लाभरका १५ विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतिस्पर्धामा न्यू लुम्बिनी इङलिस बोर्डिङ स्कुल द्वितीय र ग्यालेक्सी इङलिस बोर्डिङ स्कुल तृतीय स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा प्रथम स्थान हासिल गरेको सुनगाभा पब्लिक स्कूलले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त ग¥यो भने द्वितीय भएको न्यू लुम्बिनी स्कूलले नगद ८ हजार ट्रफी, मेडल र प्रमाण–पत्र र तृतीय भएको ग्यालेक्सी स्कूलले नगद ५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।
एन प्याब्सन रुपन्देहीका अध्यक्ष तिलब के.सी. ले संस्थाको वार्षिक कार्यतालिका अनुसार विद्यार्थीहरूको बौद्धिक विकासका लागि हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनले भने,–“यस्ता बौद्धिक ज्ञानका प्रतियोगिताले विद्यार्थीहरूमा चेतनास्तर बृद्धि गर्नुका साथै उनीहरूको पढाईमा सहयोगी भुमिका खेल्ने विश्वास छ ।“
विजयी विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्दै सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम शर्माले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापहरूको महत्वमाथि जोड दिए । उनले भने– “हामीले विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी यस्ता प्रतिस्पर्धात्मक र रचनात्मक क्रियाकलापहरूमा सहभागी गराएर उनीहरूको लुकेको क्षमता र आत्मविश्वास लाई विकास गर्नुपर्छ ।“
एन प्याब्सन नेपालका केन्द्रिय सदस्य जेबी क्षेत्रीले निजी विद्यालयहरूले विद्यार्थीको शैक्षिक गुणस्तर र सर्वाङ्गीण विकासमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले भने, “शैक्षिक गुणस्तर कायम राख्दै विद्यार्थीहरूलाई राष्ट्रको भावी कर्णधार बनाउनु हामी सबैको साझा दायित्व हो । यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरूबीच स्वस्थ प्रतिस्पर्धाको भावना जगाउनुका साथै उनीहरूको ज्ञानको दायरा फराकिलो बनाउँछ ।“







