प्रभात भूतपूर्व विद्यार्थी संगठनको आयोजनामा नगरस्तरीय ‘क्यूबेसिक कम्पिटिसन’ बुधबार सैनामैना–४ मा अवस्थित प्रभात इङ्लिश बोर्डिङ स्कुलमा सम्पन्न भएको छ ।
सूचना प्रविधिका क्षेत्रमा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगितामा सैनामैना नगरपालिकाका सामुदायिक तथा संस्थागत गरि १० वटा विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सुनगाभा पब्लिक सेकेण्डरी स्कुलले प्रथम स्थान हासिल गर्दै नगद १० हजार, ट्रफी ,मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । रामापुर माध्यमिक विद्यालय द्वितीय र सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालय तृतीय स्थान हासिल गरेको छ । द्वितीय र तृतीय हुने विद्यालयले क्रमश ः नगद ५ हजार, ३ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले प्रविधिको वर्तमान युगको आवश्यकतालाई औँल्याए । उनले विद्यार्थीमा रहेको प्रतिभा पहिचान गर्न तथा विद्यार्थीको चौतर्फी विकास गर्न यस खालका रचनात्मक प्रतिस्पर्धाले विद्यार्थीहरूमा महत्वपूर्ण आधार प्रदान गर्ने धारणा राखे ।
नगर प्रमुख शर्माले विश्व सूचना प्रविधिको तीव्र प्रयोगबाट अघि बढिसकेको सन्दर्भमा अब विद्यालय तहबाटै विद्यार्थीहरूमा यससम्बन्धी ज्ञानको प्रवाह गर्नुपर्ने जोड दिए ।
“सुचना प्रविधिको युगमा यस खालका प्रतियोगिताले ’क्रियटिभ नलेज’ (सिर्जनात्मक ज्ञान) बढ्छ,“ प्रभात इङ्लिश बोर्डिङ स्कुलकी सिइओ मिना भण्डारीले भनिन् । उनले प्राविधिक ज्ञानसहितका सिकाईले विद्यार्थीहरूलाई नयाँ सिर्जनात्मक मार्गबाट अगाडि बढाउन कार्यक्रम अझ प्रभावकारी भएको बताइन् ।


प्रभात इङ्लिश बोर्डिङ स्कुलका प्रिन्सिपल अनन्तराम शर्माले संगठनको यो पहल सराहनीय रहेको बताउँदै क्यूबेसिक जस्ता प्राविधिक विषयमा गरिएको यस प्रतिस्पर्धाले विद्यार्थीहरूलाई ज्ञान आर्जनमा मात्र सीमित नराखी, भविष्यका चुनौतीहरू सामना गर्न थप प्रतिस्पर्धी र उत्साही भएर अघि बढ्न बलियो हौसला प्रदान गर्ने विश्वास व्यक्त व्यक्त गरे ।
कार्यक्रममा साझा टेलिभिजन एचडीका प्रबन्ध निर्देशक भुवन जिसी, प्रभात भूपू विद्यार्थी समाजमा आबद्ध पूर्व विद्यार्थीहरू तथा विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकहरूको उपस्थिति रहेको थियो ।
प्रतियोगिता सम्पन्न गर्न प्रथम, दोश्रो र तृतीय पुरस्कारको सौजन्य क्रमशः हरिप्रसाद घिमिरे, शंकर खरेल र मधु अर्यालले गरेका थिए ।
कार्यक्रम प्रभात भूतपूर्व विद्यार्थी संगठनका अध्यक्ष शंकर खरेलको अध्यक्षता तथा महासचिव हेमन्त शर्माको संचालनमा सम्पन्न भएको थियो ।








