नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष एवं सामाजिक अभियान्ता लाल प्रसाद पंगेनी (कृष्ण) ले आफ्नो जन्मदिनको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरी रक्तदान गरेरै शुभकामना साटासाट गरेका छन् ।
नेरेसो लुम्बिनी प्रदेश कार्यालयको समन्वय तथा सुनगाभा पब्लिक स्कूलको व्यवस्थापनमा सोमबार विद्यालय परिसरमा आयोजित उक्त परोपकारी कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक तथा रक्तदाताहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनी (कृष्ण) ले रक्तदान जीवनदान भएकाले यस महान कार्यमा सहभागी हुने सबै रक्तदाताहरूलाई धन्यवाद व्यक्त गरे । उनले जन्मदिनको अवसरमा गरिने अन्य खर्चलाई कटौती गरेर रक्तदान जस्तो सामाजिक र परोपकारी कार्य गर्नुले आफूलाई आत्मसन्तुष्टि मिल्ने बताए ।
ूरक्तदान जीवनदान हो । आफ्नो खुसीको दिनलाई अरूको जीवन बचाउने कार्यमा समर्पित गर्न पाउँदा मलाई ठूलो आनन्द महसुस भएको छ । यस कार्यमा सहयोग गर्ने सम्पूर्णलाई आभार प्रकट गर्दछु,“ अध्यक्ष पंगेनीले भने ।


कार्यक्रमका व्यवस्थापक सुनगाभा पब्लिक स्कूलका प्राचार्य तिलब के.सी. ले नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै विद्यालयले सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रमलाई सधैँ प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष एवं सामाजिक अभियान्ता लाल प्रसाद पंगेनी (कृष्ण) ले हरेक वर्ष आफ्नो जन्मदिनको अवसर पारेर मानवताको पक्षमा समर्पित हुँदै आएका छन् । उनी मानव सेवा आश्रमलाई सहयोग, रक्तदान ९जीवनदान० कार्यक्रमको आयोजना र विपन्नताका कारण चुलो बल्न नसक्ने परिवारलाई सहयोग गर्ने जस्ता परोपकारी कार्यमा लाग्दै आएका छन् ।
नेरेसोका अनुसार संकलित रगतलाई रक्तसंचार केन्द्र बुटवलमार्फत आवश्यकतानुसार बिरामीहरूका लागि उपलब्ध गराइनेछ ।







