रोटरी सैनामैनाद्वारा लिम्घामा शैक्षिक सामग्री वितरण : ज्येष्ठ नागरिक र शिक्षक सम्मानित

Picture of अनिता चाैधरी

अनिता चाैधरी

रोटरी क्लब अफ सैनामैनाले गुल्मीको सत्यवती गाउँपालिका–४, लिम्घामा  विद्यार्थीहरूलाई राहत तथा ज्येष्ठ नागरिक र शिक्षकलाई सम्मान गरेको छ। सरस्वती माध्यमिक विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत विविध मानवीय सेवाका कार्यहरू सम्पन्न गरेको हो।

रोटरी क्लब अफ सैनामैनाका अध्यक्ष भोजराज पौड्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई जाडोको न्यानो कपडा (स्विटर) तथा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो। साथै  सत्यवती–४ का ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई उपहार तथा नगदसहित विशेष सम्मान गरिएको थियो।

क्लबका अध्यक्ष भोजराज पौड्यालले आफूलाई विद्यालय जीवनमा अक्षर चिनाउने र ज्ञान दिने गुरुहरूलाई प्रमाणपत्र, दोसल्ला र नगदसहित सम्मान गर्दै गुरु दक्षिणा अर्पण गर्नुभएको थियो। पौड्यालले भन्नुभयो— “रोटरी एक अग्रणी अन्तर्राष्ट्रिय सामाजिक संस्था हो, जसले निस्वार्थ सेवामा विश्वास गर्छ। हामीले हरेक वर्ष यस्ता सामाजिक कार्यहरू गर्दै आएका छौँ र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौँ” । उहाँले सफल कार्यक्रम आयोजना गर्न सहयोग गर्ने विद्यालय परिवारप्रति आभार समेत प्रकट गर्नुभयो।

सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले रोटरीको यो कार्यको प्रशंसा गर्दै भन्नुभयो— “लिम्घाबाट अध्ययन गरेका धेरै विद्यार्थीहरू आज देशका विभिन्न क्षेत्रमा सफल र जिम्मेवार पदमा पुगेका छन्। यस क्षेत्रको शैक्षिक संस्कार गौरवपूर्ण छ, रोटरीले यहाँ आएर गरेको  सम्मान र सहयोगले विद्यार्थीहरूलाई थप प्रोत्साहित गर्नेछ।”


कार्यक्रममा रोटरी क्लबले सरस्वती माध्यमिक विद्यालयलाई यसअघि २०७५ सालमा प्रदान गरिएको रु. ७५ हजारको अक्षयकोषमा थप रु. ३० हजार थप गरी कुल रु. १ लाख ५ हजार पुर्‍याएको छ। साथै, बुढी सत्यवती धाम संरक्षण समिति, गुल्मीलाई पनि रु. ५० हजार सहयोग प्रदान गरिएको छ।

कार्यक्रममा रोटरी क्लब अफ सैनामैनाका चार्टर प्रेसिडेन्ट मिन प्रसाद पौडेलले रोटरीले स्वार्थ भन्दा माथि सेवा भन्ने नाराका साथ स्थापित क्लबले शिक्षा, स्वास्थ्य, विपन्न र सामाजिक कार्यक्रम गर्दै आएको बताउनुभयो।।

वडा अध्यक्ष पिताम्बर ज्ञवालीले रोटरी क्लबले ९० वर्ष नाघेका ज्येष्ठ नागरिक र गुरुहरूलाई गरेको सम्मानले नयाँ पुस्तालाई आफ्नो संस्कार र इतिहासको कदर गर्न सिकाएको उल्लेख गर्दै यस्ता रचनात्मक कार्यमा वडा कार्यालयले सधैँ साथ दिने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा रोटरी क्लब अफ सैनामैनाकी फर्स्ट लेडी विष्णु ज्ञवाली पौड्याल, पास्ट प्रेसिडेन्ट माधव खनाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर खासु, शिक्षक–अभिभावक संघका अध्यक्ष खिम बहादुर थापा लगायत क्लबका पदाधिकारी, बुद्धिजीवी र राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

रोटरी क्लब अफ सैनामैनाका इलेक्ट प्रेसिडेन्ट नारायण प्रसाद न्यौपानेको स्वागत  क्लबका सदस्य विष्णुप्रसाद अर्यालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.